नारायणप्रसाद श्रेष्ठ
घरको उज्यालो दियो सधैको लागि अस्तायो । केही समय पछि गाउँले सबै मिलेर मुखिया बाको सतगत गरे । जीवन सधैको लागि टुहुरो बने । दुःखको यस घडीमा सिंगो गाउँ शोक मग्न भयो । यति कहानी के भनेका थिए चौतारी स्तब्ध भयो ।
रामुकाकाको आँखाभरी आँसु थिए । चौतारीमा बसेका सबैका आँखा रसाएका थिए । केही छिन पछी रामुकाकाले सबैलाई हेर्दै भने– समय कति चाढै घर्किँदो रहेछ । दैवको लिला अपरम्पार । यति मात्र के भनेका थिए आँखाबाट वरर… आँसु झरे । यसरी सकिएको त्यसदिनको चौतारीमा सबैका मन खिन्न भए ।
छेउमै बसेका खत्री बाजे त झन आफ्नो विगत र वर्तमान सम्झेर निकै रोए । त्यसपछि आशाको दियो बल्न नपाउँदै निभेको आशारामको कथा भोलि सुनाउने गरी आजको चौतारी सकियो । अर्को दिन जब चौतारीमा सबै जम्मा भए त्यसपछि रामुकाकाले आशाराम (बहिदार बाजे) ले सुनाएका कथा यसरी सुरु गरे ।
जीवनमा धेरै उकाली ओराली आए । कति दिन हासेर र कति दिन रोएर बिते, थाहा भएन । तर, जीवनको गोरेटो बनेर देखा परेको हाम्रो प्रेमको डोरी, त्यही डोरीभित्र भएको हाम्रो पहिलो मिलन, मिलन पछिका ती पलहरू अहिले पनि झलझली याद आइरहन्छ । मनलाई धेरै पटक सम्झाए । हामी बिचको त्यो मधुर मिलन, चौतारीमा कुसुमले सजाइएको त्यो मिठो पल, अब त छैन पनि होला ।
प्रेमको त्यो कहानी । भुल्न र बिर्सनको लागि आँसुको धारासँगै कति पटक बगाउन बिर्सन खोजे, तर पनि झन पछि झन बल्झिँदै आइरहन्छ । बिर्सन सकेको छैन । बिर्सन चेस्टा गर्दा पनि ती पलहरू मनको मझेरीबाट उकुसमुकुस भएर छरपस्टिन खोजिरहन्छ ।
प्रकृतिभित्र रमाइरहेको हाम्रो त्यो पवित्र कहानी अहिले पनि झलझली याद आइरहन्छ । घरमा भएका पुराना पोस्टर भित्तामा कोरिएका ती सुन्दर तस्बीर सबै हटाइसके, रातो रुमालले संकेत गरेको हाम्रो प्रेम मन्दिर, पनि अन्तै सारिसके तर पनि उनी र म बिच भएको त्यो पवित्र कहानी, घरी–घरी आइरहन्छ ।
हाम्रो पिरतीको गीत गाउने गैरी गाउँमा भएको झोल्लिएको त्यो वर पिपल पनि अहिले त मासिइसक्यो पनि तर, हाम्रो यसरी पाती हाल्ने उपल्लो गाउँको आशाराम ( बहिदार बाजे) ले प्रकृतिभित्रकी आफ्नी बान्की परेकी प्रियशी (कलकल बग्ने शारदा को निर्मल जल झै) सरल स्वभावकी प्रकृतिलाई सम्झदै भक्कानिँदै, आँसुको धारा बगाउँदै उनले धेरै पटक हामीलाई भनिरहन्थे– हे दैव समय यसरी पनि गतिशिल भइरहेको देख्न पर्दो रहेछ ।
मेरो प्रकृतिले मलाई मात्र यो सजाय दिनु को अर्थ के हो, मलाई मात्र किन ? संगीसाथी बिचको छेडछाड, मादलको तालसँगै मिलन र विछोडको त्यो दोहोरी गीत, जातोको –याइ–याइ आवाज, अगेनामा बलेको दियालोको झर्कोको उज्यालो, त्यही उज्यालोभित्र हराइरहेको हाम्रो मन, बर्सेनि लाग्ने जर्मास्टमीको मेला, मेलामा रोटे पिङमा मच्चिँदै रमाइरहेको त्यो पल खै के–के भनु बाजे भन्दै गर्थे ।
अगाडि झुम्म परेका नानी हामीहरू मन्त्रमुग्ध भएर सुनिरहेका हुन्थेम । कोही सुक्क–सुक्क गरी रोइदिन्थे भने कोही यस्तो पनि होला र भनी सोची कथा सुनिरहन्थे । कल–कल बग्ने त्यो रोशी खोला, त्यो रहर लाग्दो झुल्केको पहाड, सल्लेरी वनको त्यो सुसेली, उत्तरबाट हुइकिँदै आएको त्यो झरना, हामी बिचको आत्मियता अब लाग्छ ती सबै सपना भइसके ।
निदाएर देखिने सपनाभित्रको कथा भइसके । मध्यरातमा टहटह लागेको त्यो जुन, बादलसँग लुकामारी खेल्दै कहिले झुल्किने कहिले हराउने त्यो जुन र त्यो बादलको स्पर्ष लाग्छ हाम्रो त्यो अवस्था सम्झी आज पनि आकाशमा लुकामारी खेल्दै, खोज्दै भौतारिरहेको होला । कहिले पूर्वबाट कहिले पश्चिमबाट हुइकिने हावाको झोक्का, उत्तर र दक्षिणबाट बग्ने त्यो शान्त शीतल वातावरण, अहिले पनि हामीलाई खोजिरहेको होला ।
वनको शीतलताभित्र रमाइरहेको हाम्रो मनभित्रका ती हरिणका बगाल अझै पनि हामीलाई खोज्न जंगल– जंगल उफ्रदै दौडिरहन्छन् होला । सल्लेरी वनको उकाली, त्यो सुसेली, अहिले पनि लड्दै खेल्दै हामीलाई खोजिरहन्छ होला । कलकल बग्ने पूर्वेली डाँडाबाट झर्ने त्यो रोशी खोला, हाम्रो पद चाप भेटिन्छ कि भनेर पहाड पर्वतका अन्तरा, कन्तरा हुँदै भौतारिरहेको होला ।
कहिले नसुसाउने त्यो रोशी खोला, हामीलाई खोज्दै हतारिँदै कतै समुन्द्रमा पो भेटिन्छन् कि भनी सुसाउँदै दौडिरहेको होला । सूर्यको किरणसँगै वनपाखामा रमाउने ती ढुकुरका जोडी, ती खोला किनारमा रमाउने चराचुरुंगीहरू, कतै हामी भेटिन्छौँ कि भने खोज्दै होलान् ।
पायलको छन–छन आवाजको तालमा को हो, को हो गर्दै कराउने, कोइली चरी, डाँडापाखा घुम्दै काफल पाक्यो, काफल पाक्यो, भनरु सन्देश दिने त्यो काफलचरी, हामीलाई सन्देश पु¥याउन डाँडापाखा उड्दै होला । रातो पहेँलो सेतो हरियोले डाँडै ढाकेर ढकमक्क फुल्ने त्यो लालीगुराँसको फूल, पनि हाम्रै प्रतिक्षामा पर्खिरहेको होला ।
निगाल पानीको त्यो चिसो पानी, जोगी कुटीको त्यो रातोडाँडा, काफलको रुख, अन्तरे माइलोले लगाएको काल्लाको खरीको बोट, अहिले पनि हाम्रै प्रतिक्षामा छन् होलाकि नाइ ? मनभरी माया साट्दै दुवोमा हिँडेका हाम्रा पैतालाका डोबहरू अहिले पनि त्यस्तै होलान् ? हरिया दुवोले फेरि पद चाप भेटिन्छ कि भनी खोज्दै गरेका त छैनन् ?
हाम्रा ती दिनका कुसुमे प्रेम चिन्ह, त्यसै होलान् वा हराए होलान ? त्यो दुवो र त्यो समतल भिरालो डाँडा अहिले पनि हामीलाई सम्झन्छ होला ! । न्याउलीचरीको बिरहको गुनगुन, समीको रूख, रुख नगिचेको त्यो तुरतुरे धारा, सधैं हाँसिरहने पूर्वीली गाउँकी ती पधेर्नीदिदीहरू, नाच्दै उफ्रँदै आमाको पछिपछि दौडने ती माया लाग्दा पाठापाठी, अझै उसैगरी दौडन्छन् होला कि नाई ?
हामी हाँसेको खेलेको हेर्न चाहने ती पाखा पखेरा, हिमशिखरबाट बग्ने ती झरनाहरू, हामीलाई कति खोज्दै होलान् ? उकाली ओराली गर्दा थाकेका हाम्रा पाइलाहरूलाई विश्राम दिएका ती वर पिपलका चौतारी उस्तै होलान् कि बुढो भएर ढलिसकेका होलान् ? हामीसँगै जवान भएका ती वर पिपल पनि अहिले त धेरै बुढो भइसकेको होलान् ।
न खोतलु भन्दा पनि सम्झनाको पेटारोबाट उकुसमुकुस भएर ती दिनको याद अहिले पनि आइरहन्छ । हामी लुकामारी खेल्ने त्यो परिवेश र त्यो वातावरण बनाइदिएका ती स–साना बोट, बुट्यान अब त ठूला भइसके होलान् । झरी पानी र बाढी पहिरोले कति त नासिए पनि होलान् । कतिपयलाई मानिस स्वयम्ले संहार गरिसके होलान् ।
पहाडको रानी प्रकृतिकी खानी भएर हुर्केका ती पहाड, झरना र त्यो सुन्दरता उजाड भयो होलान् वा नाइ ? कतै कसैले बचाइराखेका होलान् र ? सम्झदा पनि कहाली लाग्छ । आमाको मजेत्रोभित्र लुक्ने साना नानीहरू पनि अब त ठूला भइसके होलान् । कामको मेसो मिलाई जीवन जिउन कति त मुग्लान पसिसके होलान् । केही त सहरमा जुठो भाडा माच्दै पनि होलान् ।
कतिले त्यो गाउँ छोडे पनि होलान् त्यो सुन्दर र शान्ता वातावरण भएको गाउँ अहिले पनि हिजो जस्तै हराभरा भएको होलान् ? वा उजाड भय होलान् । झलझली सम्झना आइरहन्छ । तल्लो गाउँको आरने दाई र कटुवाल बाजेलाई अहिले पनि छाक टार्न धौधौ होला कि नाइ ? छोरा नातिले प्रगति गरे होलान् ।
कि उहिले जस्तै गाउँमा हाक पार्ने र घरघरमा गएर मानापाथी असुल्ने गर्दै होलान् ? हिजै जस्तो लाग्छ आरने दाइ ले हांक पारेको । उनका छोरा नातिहरू कति त कमाइ गर्ने सिलसिलामा विदेश पनि पुगे होलान् । पढाइ लेखाइ गरी कतै डाक्टर इन्जिनियर वकिल पो भए कि ?
१९÷२० को कलकलाउदो उमेरमा गाँसिएको हाम्रो मधुर मिलन पछिको त्यो प्रेम कहानी विधाताले उछिट्याइदियो । हामीलाई नदीको दुई किनारा बनाइदियो । जवानीको पहिलो प्रेम, पवित्र प्रेममा झागिँदै गरेको हाम्रो प्रेम, गंगाको पवित्र जल झै भर्खरै बग्न थालेको हाम्रो सामिप्यता सम्झदा पनि मन भक्कानिएर आउँछ ।
बादल, साउने झरी, बर्षा, हुरी बतास र तुफानले छेक्न नसकेको तथा समुन्द्री छालले भेट्न नसकेको हाम्रो पिरतीको डोरी, हिमशिखरको काखबाट बग्ने पवित्र झरणा झै कति चञ्चल र कन्चन थियो । सामाजिक धरातलमा पनि हाम्रो पवित्र धार बगिरहेको थियो ।
सामाजिक मर्यादाभित्र कसैले तोड्न नसक्ने गरी बल्झिएको हाम्रो मायाको डोरी निकै मजबुत थियो । यसरी हाम्रो बसमा हुँदाहुँदै पनि परिस्थितिले हाम्रो गन्तव्यलाई बिचमै टुक्याइदियो । दुई किनारमा लगाइदियो । ठूला–ठूला हुरी बतास आधीबेरीले समेत हामीलाई पन्छ्याउन नसकेको हाम्रो पिरतीको डोरीलाई बर्खाको उर्लदो भेलभित्रको त्यो एकदिन को घटनाले उजाड बनाइदियो ।
कुरिति र विसंगतिले सजाइएको हाम्रो पुरानो सोचले हाम्रो पिरतीलाई दुई किनारामा लगाइदियो । पानी बिनाको माछा जस्तै छटपटिने गराइदियो । यसरी हामीलाई तड्पिनु सिवाय प्रकृतिले केही दिएन । दैवको लिला कर्मको खेला, दैव कति निष्ठुरी हुँदो रहेछ, लाउलाउँ खाउँ–खाउँ भन्दा भन्दै कहिलै नछुट्टिने गरी बाँधिएको हाम्रो प्रेमको डोरीलाई कसिलो बनाउँदा बनाउँदै पनि हामीलाई प्रकृतिले अलग गराई छोड्यो ।
चोखो मायालाई हिमशिखरको चिसोले सजाएर समुन्द्रको तातो हावाले पोल्ने गरी छरपस्ट गरिदियो । सुख्खा वस्ती झै उकुसमुकुस बनाउँदै उजाड बनाइदियो । हाम्रो चोखो माया तासको घरझै हुन पुग्यो । उनी प्रकृतिको नजिक जान बाध्य भइन् । म छाँगाबाट खसेर पनि जिउँदै रहन बाध्य हुन पुगे ।
कति मीठा थिए ती दिनहरू जसले हामीलाई हाम्रो प्रकृतिको मनमोहक छटासँगै हुर्काइरहेको थियो । कसको आँखा प¥यो होला । हामीले कोही कसैलाई कहिलै नराम्रो दृष्टिले हेरेनौँ तर पनि हाम्रो ती सपनाहरू सदाको लागि अन्त भए ।
दैवको लीला अपरम्पार हुँदोरहेछ । यसरी बिछोड हुनुपर्ने भए हामीबिच किन नाटक रचिएको होला ? प्रकृति पनि कति निष्ठुरी रहेछ । यसै मन कहाँ भक्कानिन्छ र ? उकाली वनको सिरसिरे हावा फाटमा लटरम्म झुलेका धानका बाला काट्दै गरेकी दिदीको हामी प्रतिको हेराई, स्नेह मन्त्रमुग्ध भएर अगाउन्जेल हामीलाई हेर्दै धानको बाला काट्दै गरेकी ती दिदीको हामीप्रतिको श्रद्धा, मायाको गीत गाउँदै गरेको त्यो क्षण, आजै जस्तो लाग्छ ।
अब त खोला मा धेरै पानी बगिसक्यो । उतिखेर औंसीको रातपछि झुल्किने चन्द्रमाको पूर्ण चन्दले पनि हाम्रै स्वागतको लागि पर्खिरहेको हुन्थ्यो । बिहानीको लाली किरणले चियाउँदै वन जंगल छिचोल्दै हामीलाई खोज्दै झुल्किन्थ्यो । सायद ती दिनहरू अब निदाउँदा देखिने सपना मात्र भए । बालापनको चञ्चलताभित्र हुर्केको हाम्रो माया तासको घर झैँ ढल्ला भनेर हामीले कहिले सोचेनौँ ।
प्रेमको यात्रामा कि उनी हुन्थिन् कि म हुन्थे । कि प्रकृति हुन्थिन् । यसरी विधाताले हाम्रो माया छुटाउला भन्ने कल्पनै भएन । बसन्तको पालुवा झैँ हुर्कदै गरेको हाम्रो माया विधाताको ताण्डव नीतिले नदीको दुई किनारा किन बनायो ? यो मनले अहिले पनि उत्तर खोजिरहेको छ । कलकलाउँदो उमेरमा हुर्कदै गरेको हाम्रो मायाले हामीलाई कहिले विचलित बनाएको थिएन ।
न त हाम्रो इमान्दारी र कर्तव्यप्रति हामीले कहीँ कतै खोट लगाउने ठाउँ नै हामी ले कसैलाई दिएका थियौँ । हाम्रो सोच चिन्ता र आत्मविश्वासमा कहिले ठेस लाग्ने काम हामीले गरेनौँ तर विधिको विधान वा हाम्रो भाग्यको दोष भनौँ, प्रकृतिले हामीप्रति गरेको विश्वासघातले अहिले हामी एक्लै छटपटिरहेका छौँ ।
टाढा क्षितिजको पर्दा अगाडि चियाउँदा पनि हाम्रो मिलनको त्यो क्षण अब फेरि कहिले आउने हो मन कता कता कुडिन्छ ? उनी अहिले कहाँ छिन् ? कसैलाइ सोधौ केही जवाफ आउादैन, कसै कसैले त तिम्रै नजिक छ किन भौतारिन्छौँ पनि भन्छन्, उनी छिन वा छैनिन् । भए कुन अवस्थामा छिन, यस्को उत्तर खोज्न यी पाइतलाले धेरै धाए ।
कहाँ लुकेकि होलान् ? भनी घर गाउँ पहाड, पर्वत, अन्दरा कन्दरा, खोला सबै ठाउँ पुगे हुला, तर कतै भेटिइनन् । कतै नर पिचास, जसले आफ्नो र बिरानो छुट्ट्याउन जान्दैन, तीनीहरूले सिकार गरिरहेका त छैनन् ? कति छटपटिएको होलिन् मेरी उनी ? स्वार्थी दुनियाको चंगुलमा पो छन् कि ? कतै नीति बनाउने नीतिकार, शासन गर्ने शासकको पन्जामा त परिनन् ?
कतै फेवातालको खोचमा निसास्सिएकी त छैनिन् ? दिन हप्ता, हप्ता महिनौ भयो, र महिना बर्सौ भएर बितिीसक्यो तर मनको भारी बिसाउने ठाउँ पाइन । खोज्दा खोज्दा लखरतान परि थाकेका पाइला विश्राम लिने रचेका चौतारीमा कति रात आकाशको छानो धर्तीको सिरानी गरेर पनि दिन रात नभनी खोजे तर अनेक बोट बिरुवाले बासस्थान बनाई झोलिएको त्यो बुढो रुखलाई धेरै पटक अनुनय पनि गरे, तर कसैले जवाफ दिएनन् ।
बरु उल्टै मानवीय कुरताले बनेको अस्तिपन्जरसरी बिछुट्टिन थालेको आफ्ना हाँगाभिँगा देखाउँदै उसले आफ्नै व्यथा बताउँदै थियो । तिमी त आफ्नो कथा लेख्दैछाँै म त कथा लेख्न नपाउँदै बिलाउने भए । अरू कुरा छोड तिमी हामी रमाएको त्यो त्यो झरणा पनि कथा लेख्न नपाउँदै बिलाइसक्यो । सबैलाई खुसी दिन्छु भन्दा भन्दै आफ्नो खुसी सकिएको समेत थाहा पाइन ।
यसरी उसले उसैलाई सिकार बनाइरहेका रहेछन् । त्यो चौपारीले मेरै प्रियसीभन्दा उसैको कथा लेखिएको जस्तो लाग्थ्यो मलाई । कहिले काही किन सोधखोज गरे हुला जस्तो पनि लाग्थ्यो । लुकेका ब्यथा सुनाउदा प्रकृति आफै गुनगुनाउँदै भन्थिन्– चिन्ता गर्न छोडिदेउ । मेरो चिन्ता गर । सधैं हरियो भएर स्वच्छ र पवित्र विचार सम्प्रेषण गर्ने मेरो अतित अहिले उजाड भइसक्यो ।
तिमीहरूलाई अलग गर्ने त्यो खहरे पनि सुकेर त्यहाँ सहर बनिसक्यो । यसरी जसलाई सोध्दा पनि कसैले मनको मझेरी खोली दिएनन् । अब त यी पैतला पनि हिडद–हिड्दा थाकिसके । लाग्दैन हाम्रो भाका, कसमले बाँधिएको हाम्रो मनको त्यो व्यथा कसैले भनी बिसाओस । अब त यति मात्र चाहाना छ हाम्रो यो कहानी युगौसम्म बाँचिरहोस् ।
नओइलिने मखमली फूलसरी झाँगिँदै गएको हाम्रो मायाको यो कहानी कहिले नमेटिने इतिहास बनोस् । छटपटीमा बितेका ती दिन फेरि कसैलाई नदोरियोस् । दुई अक्षरले लेखिएको मायाले लेखिने बियोगान्तको यस्तो कथा कोही कसैको जीवनमा नपरोस्, मन मिलेको साथीसँगको प्रेमको पवित्र कहानी प्रकृति रहेसम्म रही रहोस् ।
बिर्सीएर पनि खाटा परेको घाउ कहिलै न बल्झीयोस् । उपल्लो गाउँका बैनी मालती, रानु, कमला र पूर्णलक्ष्मीको जस्तै सबैको जीवन खुसी र सुखी बनोस् यही इच्छा । यति कहानीभन्दा भन्दै रामुकाका आँसु झार्दै टक्क रोकिए । वातावरण स्तब्ध बन्यो । सिंगो गाउँ, उपल्लो, स्यानी खोला गाउँ, टाट्केका सबै निस्तब्ध भए । क्रमश…