नारायणप्रसाद श्रेष्ठ
कथा
यति भन्दै उनी खेततिर हानियो । बेर्ना उठाई पु¥याउदै खेतालालाई रोपाई छिटो–छिटो गर है भनी फर्किए । खेतमा हरियै उम्रिएका धानमा बेर्ना उखेल्दै एक अर्कालाई हेर्दै काम मा रमाउन थाले ।
सानो गह्राखेतको बेर्ना उखेल्न केही समय लाग्यो, करिब दिउँसोको दोपहर हुँदै थियो, थकाइ र भोग, प्यास लागेकोले एक अर्कालाई हेर्दै मुस्कुराउँदै कुलामा हात धोइ एकछिन डिलमा बसेका मात्र थिए, राधिका आमा खाना र पानी लिएर टुपलुक्कै आउनु भयो र भन्नुभयो– दुलही नानी आज त छोरा बुहारी दुबै मिली निकै रमाइलो मानेर काम गर्दै रैछौ ।
तल हरिभाने दाइले निकै तारिफ गरिरहनु भएको थियो ए ! काम मेलो राम्रैसँग सारेछौ । लौ आउ भोग पनि लागे होला खाउ र केही समय आराम गर । यति भन्दै खानाको भाडो नजिक राख्दै भनिन् तिमीहरु खादै गर म माथी खेतको पानी हेर्न जान्छु । बाबा पनि आउनु भाछ । आज उहाँलाई पनि खेत हेर्न म लागे छ । यति कुरा भन्दै राधिका आमाले भनिन्– रामु सधैँभरी अफिस–अफिस भन्थिस आज कस्तो लाग्या छ !
आमाको यति कुरा सुनेपछि जीवनले आमाको मुख हेर्दै भन्छन्–आमा यस्तो समय अब फेरि कहिले आउला ! मलाई त निकै आनन्द लागिरहेको छ । सरिता पनि एकदम खुसी छिन् । मेहनतपछि थकाई लागेको शरीरको पसिना पुस्दै आराम गर्दाको यही क्षणमा… मलाई त यस्तो लाग्छ आनन्द भनेको यही रहेछ ।
बुढाबुढीसँगै जाऊसँगै काम गर अनि थकाई पनि सँगसँगै बसेर मार आहा ! यस्तो पो जीवन । यस्तो जीवनको क्षण निकै सुखद र आनन्दको पो हँुदो रहेछ । अहिले महसुस भइरहेछ । हजुरले आफ्नो विगत सम्झँदै जुन कुरा भन्नुभएको थियो आमा । त्यो साँच्चिकै सत्य रहेछ ।
अफिसमा काम गर्दा गर्दा थकाई लागेको समय र यहाँ दुईजनासँगै बसी काम गर्दा थकाई लाग्दाको समय, क्षण निकै फरक हुँदो रहेछ । यहाँ आत्मसन्तुष्टि छ । प्रकृतिसँग रमाउन छुट छ । मन प्रफुल्ल छ । चारैतिर हेर सबै खुसी भएको देखिन्छन् । यति कुरा श्रीमान् जीवनले बोलेपछि सरिताले पनि कुरा थप्दै भनिन्– सासु मां… मां… जीवनको सुखद क्षण भनेको यही रहेछ ।
मां…आशीर्वाद दिइरहनुस् । हामी सधैं यसरी नै रमाउन पाउँ । यति कुरा सुने पछी लौ–लौ सधै यसरी नै हासी खुसी भए भन्दै राधिका आमा माथि खेततिर लागिन् । सरिता र जीवन आमाले ल्याइदिएको खानाको पोको खोली खानतर्फ लागे । खाना को पोका खोल्दै सरिताले श्रीमान्को मुख हेर्दै भनिन्– मेरो प्रिय… किन हो कुन्नी आज त मलाई भोक पनि लागेको छैन ।
हजुरलाई कतिको भोक छ । रामुले भने– तिमीले ठिकै भन्यौ भोक लागेको हो कि होइन त्यही भन्न सक्दिन म पनि । बसौँ दुवैले जति मन लाग्छ बाडीचुढी गरेर खाउ । समय दोपर भइसक्यो होला बादलले सूर्यलाई ढाकेकोले समय पनि कति भयो थाहा नहुँदो रहेछ । समय कति चाँडै बितेको रहेछ ।
यसरी दुवैले मिठा–मिठा कुरा गर्दै आमाले पकाएको रोटी, तरकारी र अचार मिठो मानेर खाए । यता यिनीहरु रमाइरहेका थिए । उता रोपार्नी र हलीहरुले पनि रमाउँदै जिब्रो पड्काउँदै रोटी च्युरा चपाइरहेका देखिन थिए । समय आफ्नै गतिमा हिँडिरहेको थियो ।
२४ बसन्त पार गरी भर्खर २५ मा टेकेकी सरिता र २६ वर्ष पुगी २७ वर्षमा प्रवेश गरेका जीवनको मागी विवाह भएको थियो । सरिता पनि जागिरदार बाबु सुब्बासाहवको छोरी जीवन स्वयम् जागिरदार मुखियाबा हरिप्रसादको छोरो उनीहरूको जोडी निकै सुहाउँदो थियो ।
उनी दुवैको घरमा खान लाउन पुग्ने सम्पत्ति थियो । मुखिया बाको कुरै नगरौँ । यसरी हाँसीखुसी जोडिएको दाम्पत्य जीवन निकै खुसी र उमंगसँग बितिरहेको थियो । जीवन आफै पढेलेखेका थिए भने सरिताले पनि आइ ए पास गरी अध्ययन अध्यापनमा क्षमता राख्ने अब्बल दर्जाकी थिइन् ।
खेतीपाती जागिर राम्रो । सरिताको जीवन निकै आनन्द थियो । जीवन जागिर गर्थे, सरिता घरको काम । घरमा केही काम नभए पनि सरिताले घरमा काम गर्नेलाई अह्राउने पह्राउने गर्थिन् ।मुखिनी आमा घरमा आउने पाहुनाको हेरचाह गर्थिन् । शनिवारको छुट्टीमा कहिले काहीँ जीवन र सरितासँगै खेतबारीमा जान्थे ।
मेलापात हेर्न जान्थे । समय निकै आनन्दसँग बितिरहेको थियो। प्रत्येक महिनाको पहिलो हप्ता जीवनले अफिसमा काम गरेको तलब बुझ्दथे। सरासर घरमा आई आमालाई तलब ल्याएको कुरा भन्थे । र आफूसँग भएको रकम आमा भनी अगाडि सार्दै भन्थे– आमा… ल लिनुस् छोराको कमाइ तर राधिका आमाले भने सधैं भन्ने गर्थिन्– बाबु यही बचन हामीलाई प्यारो लाग्छ ।
तलब हामीलाई होइन, सरितालाई राख्न देउ । तिमीहरुलाई मन पर्ने सामान किन । अहिले हामीसँग छ । बुढो भएपछि हेर्ने तिमीहरु नै त हौ ! यसरी राधिका आमाले भनेपछि जीवनले आफ्नो तलब सरितालाई राख्न दिन्थे । उनी पनि खुसी नै थिइन् । खेतीपाती भएकोले होला अन्नपानी घरमा प्रशस्तै थिए ।
चिची मासु खान दुई चारवटा खसी बोका घरमै थिए । दुःखकष्ट केही थिएन । यसरी दिन बित्दै थियो । सरिता गर्भवती भइन् । घरमा खुसियाली छायो । नौ महिनापछि घरमा लक्ष्मी र नारायण एकैपटक जन्मिए । घर उज्यालो भयो । दिन सप्ताह सप्ताह महिना र महिना वर्षौं व्यतित भए । जीवन र सरिताका दुई बच्चा टुकुटुकु हिँड्ने भइसकेका थिए ।
त्यसैबेला जीवनको सरुवा अन्य जिल्लामा भयो । धेरै ठाउँमा भनसुन गरे तर केही लागेन । अन्तमा बाध्य भएर जीवन सरुवा भएको ठाउँमा जाने निधो भयो । यसरी जीवनको सरुवासँगै त्यो घरको खुसीमा केही कमी हुन पुग्यो । मुखिया बाले धेरै ठाउँमा यसबारे कुरा नउठाएका पनि होइनन् तर पनि कसैले सुनेनन् ।
समय कति चाँडै बदलिँदो रहेछ । हिजो त्यही व्यक्ति जो खान बस्न र केही रुपैयाँ चाहियो भने हजुर गर्न मुखिया बाका आउँथ्यो । आज ऊ ठूलो हाकिम भएपछि विगतका गुण सबै बिर्सदो रहेछ । मानिसलाई गुण, कुखुरालाई नुन, राम्रो हँुदैन भनेको यही रहेछ । यही मनमा सोच्दै मुखिया बाले छोरालाई सरुवा भएको कार्यालयमा पठाए ।
आज झन्डै दुइ वर्ष पुग्न लाग्यो । यता मुखिया हरिप्रसाद बा कहिले यता कहिले उता गरी गाउँघर डुल्थे । विगत वर्ष जस्तो यो वर्षको दशैँ खास रमाइलो भएन भनी हिड्थे । नातिनाको हेरचाह खेतीपातीमै दिन बिताइरहेकी मुख्यनी बज्यैलाई पनि आज भोलि केही बिसन्चो भएको जस्तो देखिन्थ्यो ।
अर्कोतर्फ सरिताको जीवन पनि निकै उतारचढावमा बितिरहेको थियो । बिहान बेलुका घर धन्दा गर, बाल बच्चालाई स्याहारसुसार गर । कहिलेकाही माइत गए पनि सरितालाई एक्लै बस्दा निकै असजिलो महसुस भइरहेको थियो ।
उता जीवनलाई पनि घरको सम्झनाले मन अमिलो भइरहेको थियो। सहरको बसाइ दिनभरको व्यस्तता कामको बोझ उनलाई निकै कष्टकर जीवन बिताइरहेको अनुभूति भइरहेको थियो। समय यसरी बित्दै जाने क्रममा एकदिन घरबाट बाबु सिकिस्त बिमार भएको खबर आउँछ आबा मार्फत् ।
उनी निराश हुँदै मनमा अनेक कुरा खेलाउँदै बिदाको निवेदन लिइ हाकिम साहबका टेबुलमा राख्दै अनुरोध गर्छन् । सर घरमा बुवा सिरियस बिरामी हुनुहुन्छ । मलाई घरमा जाने छुट्टी दिनुस् । हाकिम यो कुरा सुन्दा निकै स्तब्ध भए । सम्झदा मनमा कस्तो–कस्तो नमिठो अनुभव भयो उनलाई पनि ।
अर्कोतिर हिजै नेताले कसैलाई पनि बिदा नछोड्नु भन्ने आदेश दिएका थिए । उनी निकै द्वीविधामा परेका थिए । छुट्टी नदिउँ जीवनको बुबा सिरियस बिरामी भएको खबर आएको छ । छुट्टी दिउँ नेताले आफूमाथि टेडो आँखाले हेरिरहेको छ । यसरी केही समय असमन्जस्य मा रहे पनि जीवन छ त संसार, इष्टमित्र, गाउँघर छ । जीवन छैन त केही छैन ।
हैन मैले यो आवश्यकतालाई बुझ्नु पर्छ । जीवन नरहे यो संसार सुन्ने छ । यही कुरा सम्झेर हाकिम साहबले बिदा स्वीकृति गर्दै जीवनलाई भने– बाबु तिमी चाँडै जाउ बरु म लेखामा भन्दिन्छु केही रकम पनि लिएर जाउ । बाटोमा के पर्छ । बुवालाई सन्चो गराएर आउ ।
जीवन केही नबोली उभिरहे । घण्टी बज्यो । लेखाको मानिस आएर जीवनलाई केही रकम दिँदै जानलाई तयार गर भने । त्यसको केही समयपछि त्यहाँबाट बिदा भएर जीवन घरको लागि रमाना भए । एउटा झोला र केही बिस्कुटका पोका बोकेर ।
करिब एक दिनको हिँडाइपछि बाटोमा पर्ने स्यानीचौर गाउँमा बास बसेर जसै भोलिपल्ट बिहान हिँड्न थालेका थिए । गाउँको मानिस टुप्लुक्क देखा परे नाताले काइला वा पर्ने । दुवैको जम्का भेट भो । काइला बाले भने– आयौ बाबु । ल हिँड् म पनि गाउँतिर जान लागेको थिए ।
हिजै मात्र मुखिया जिमदार बुवा सिकिस्त बिरामी हुनुहुन्छ भन्ने सुनेकी थिएँ । म पनि भेट्न जान्छु । म पनि जानै लागेको थिए । दुवैजना सँगसँगै हिडे । जीवन भने बुवालाई राम्रो होस् यति मात्रै मनमा खेलाउँदै हिडिरहेका थिए । एक्कासी ठेस लाग्यो । लडे, धन्न साथी थियो भित्तामा ठोकिन पुगे । उनलाई सामान्य चोट बाहेक केही भएन ।
जुरुक्क उठेर काकालाई समात्दै जिवनले भने काइला बालाई त ठिक होला नि ? यति कुरा उनले भनेपछि काइला बाले भने किन आत्तिन्छौ औषधी गरे सन्चो हुन्छ । (आलोघाउँमा चोट पु¥याउनु भन्दा केही नबोली हिँड्नु ठिक हुन्छ भनी) बिस्तारै बिस्तारै जाउँ बाबु भनी दुवै घर लागे । बेलुका चार पाँच बजे जव जिवन घरको नजिक पुग्दै थिए टाढैबाट घरमा मानिसको भिड देख्न पुगे ।
मनमा चसक्क भो… तर पनि केही नबोले खुरुखुरु हिडी घरमा पुगे । आमा दुलही केटाकेटी रोइरहेका थिए । बुबाको मृत शरीर घरको पट्याङ्गीमा ढाकेर राखेको थियो । उनी स्तब्ध भए । नजिकै बा भनी घोप्टीए । यति मात्र भनेका थिए उनी बेहोस भए । गाउँले सबै जम्मा भएको कारण उनलाई केही समयपछि होसमा ल्याइयो ।
उनले चारैतिर हेरेर भने म कति अभागीमा मैले चाहेर पनि मेरो बालाई औषधी मुलो गर्न पाइन । उनले विगत सम्झँदै रोए कराए भक्कानिँदै आँसुका धारा बगाए । आमा र श्रीमतीको मुख हेर्दै म कति अभागी मनमा पीडा भोग्दै आमा र परिवार केटाकेटीको नजिक गएर रुँदै भने दैवको लिला यस्तै रहेछ ।
मलाई माफ गरिदिनुहोला म तपाईंको छोरो भन्न लाएक भैन बाबा…दुखको समयमा साथ दिन सकिन । मलाई माफ गरिदिनु होला । यति भन्दै बाको छातीमा घोप्टो पर्दै रोए आँसुका धारा बगाउदै भक्कानिए । घरको उज्यालो दियो सधैको लागि अस्तायो । केही समय पछी गाउँले सबै मिलेर मुखिया बाको सतगत गरे जीवन सधैको लागि टुहुरो बने । दुःखको यस घडीमा सिंगै गाउँ दुखी बन्यो ।
सबैले चारैतिर अँध्यारो को महसुस गरे । यति कुरा के भनेका थिए चौतारी स्तब्ध भयो रामु काकाको आँखाभरी आँसु थिए भने चौतारीमा सबैका आँखा रसाइरहेका देखिन्थिए । रामु काकाले सबैलाई हेर्दै भने समय कति चाढै घर्किदो रहेछ, दैवको लिला हिजोको त्यो घर आज यति मात्र के भनेका थिए आँखाबाट बरर आँसु झरे बोल्न सकेनन । क्रमश… ।