छबि पुरी
दाङ, २५ असार । लुम्बिनी प्रदेशमा सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाईएको छ । नेपाल सरकारले २०५९ सालबाट सुरक्षित गर्भपतनको प्रावधान ल्याएसँगै सूचिकृत स्वास्थ्य संस्थाबाट सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको हो । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार लुम्बिनी प्रदेशमा रहेका २ सय १ वटा सुरक्षित गर्भपतन सेवा केन्द्रबाट आर्थिक वर्ष २०७६–०७७ मा १ हजार ३ जनाले सुरक्षित रुपमा गर्भपतन गराएका थिए ।
अघिल्लो आर्थिक वर्ष २०७८–०७९ लुम्बिनी प्रदेशमा १८ हजार ४ सय १५ जनाले सुरक्षित गर्भपतन गराएको थिए । आर्थिक वर्ष २०७९–०८० मा लुम्बिनी प्रदेशका १२ जिल्लामा गरी १८ हजार १ सय ७ जनाले गर्भपतन गराएका छन् । आर्थिक वर्ष २०८०–०८१ मा १९ हजार ८ सय २० जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । आव २०८०–०८१ मा सबैभन्दा धेरै सुरक्षित गर्भपतन गराउने रुपन्देहीका रहेका छन् । रुपन्देहीमा ४ हजार ८ सय ९ जना, बाँकेमा ३ हजार ५ सय ४३ जना, दाङमा २ हजार ४ सय २१ जना, कपिलबस्तुमा १ हजार ६ सय ५८ जना, बर्दियामा १ हजार ६ सय ५३ जना, नवलपरासी पश्चिममा १ हजार ३ सय ९९ जना, पाल्पामा १ हजार १ सय ४ जना, रोल्पामा ९ सय ४३ जना, अर्घाखाँचीमा ५ सय ९ जना, गुल्मीमा ७ सय ७६ जना, प्युठानमा ७ सय १५ जना र रुकुम पूर्वमा १ सय २१ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
तथ्यांकले रुपन्देहीमा लगातार रुपमा सुरक्षित गर्भपतन सेवा प्रयोगकर्ताको संख्या धेरै देखिएको छ । आर्थिक वर्ष २०७८–०७९ मा ४ हजार ९ सय ३ जनाले यो सेवा लिएकोमा आर्थिक वर्ष २०७९–०८० मा ४ हजार ४ सय ७९ जना र आर्थिक वर्ष २०८०–०८१ मा ४ हजार ८ सय ९ जनाले सेवा लिएका छन् । बाँके दोस्रो स्थानमा देखिएको छ । जहाँ आर्थिक वर्ष २०७९–०८० मा २ हजार ६ सय ७ जना र आर्थिक वर्ष २०८०–०८१ मा ३ हजार ५ सय ४३ जनाले सुरक्षित गर्भपतन सेवा लिएका छन् । दाङमा सुरक्षित गर्भपतन सेवा प्रयोगकर्ताको संख्या आर्थिक वर्ष २०७८–०७९ मा २ हजार २ सय ६२ जना, आर्थिक वर्ष २०७९–०८० मा २ हजार १ सय ४ जना र आर्थिक वर्ष २०८०–०८१ मा यो सेवा २ हजार ४ सय २१ जनाले लिएका छन् ।
यसरी प्रदेशमा आर्थिक वर्ष २०८०–०८१ मा कुल १९ हजार ८ सय २० जना महिलाहरुले सुरक्षित गर्भपतन सेवा लिएकोमा २० वर्ष मुनिका ६ सय १४ जना महिलाले औषधीय गर्भपतन अर्थात मेडिकल एबर्सन सेवा लिएको र सोही उमेर समुहका ३ सय ३० जना महिलाले शल्यक्रियात्मक गर्भपतन अर्थात सर्जिकल एबर्सन सेवा लिएका छन् । यसैगरी, २० वर्ष वा सो भन्दा माथि उमेरका १३ हजार २ सय ८४ जनाले औषधीय गर्भपतन सेवा र ५ हजार ५ सय ९२ जनाले शल्यक्रियात्मक गर्भपतन सेवा लिएका छन् ।
लुम्बिनी प्रदेशका १ सय ९ स्थानीय तह मध्ये चार स्थानीय तहमा भने शुन्य गर्भपतन भएको पाईएको छ । शुन्य गर्भपतन भएका स्थानीय तहहरुमा गुल्मीको इस्मा गाउँपालिका, रुपन्देहीको कोटहीमाई गाउँपालिका र कपिलवस्तुको मायादेवी गाउँपालिका र शुद्धोदन गाउँपालिका रहेका छन् । यति मात्रै होईन, प्रदेशमा आर्थिक वर्ष २०८०–०८१ मा गर्भपतन गएका ० दशमलव १ प्रतिशत महिलाले गर्भपतन पश्चात परिवार योजनाको साधन प्रयोग गरेका छन् । आर्थिक वर्ष २००–०८१ मा गर्भपतन पश्चात परिवार योजनाको साधन प्रयोग गर्ने सबैभन्दा बढी प्रतिशत पाल्पा रहेको छ । पाल्पामा ९६ दशमलव ३ प्रतिशत रहेकोमा गुल्मीमा ९५ दशमलव ४ प्रतिशत रहेका छन् । रुपन्देहीमा ६ दशमलव २ प्रतिशत रहँदा यो अनुपात सबैभन्दा कम दाङमा ६ दशमलव २ प्रतिशत मात्रै देखिएको छ ।
जनगणना २०७८ अनुसार लुम्बिनीको जनसंख्या ५१ लाख २२ हजार ७८ रहेको छ । जसमा २६ लाख ६७ हजार ६ सय ७० अर्थात ५२ दशलमव ०८ प्रतिशत महिला रहेका छन् । महिलाको जनसंख्या धेरै भएको लुम्बिनीमा सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी ऐन, २०७५ को भाग ४ को दफा १५ ले गर्भवती महिलाको अवस्थाअनुसार १२ हप्तादेखि २८ हप्तासम्मको गर्भपतन गराउन सकिने व्यवस्था भएसँगै सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने संस्थाहरुको बिस्तार भएको छ ।
सुरक्षित गर्भपतन सेवा प्रदायकको क्षमता अभिवृद्धि प्रदान तथा सुरक्षित गर्भपतन सेवा सम्बन्धी समुदाय र विद्यालय तहमा जनचेतना अभिवृद्धि भएको पाईएको हो । असुरक्षित गर्भपतन रोक्न र महिलाहरुको प्रजनन् स्वास्थ्यमा सुधार ल्याउन सरकार, परिवार नियोजन संघलगायत संस्थाहरुले भूमिका खेल्दै आएका छन् । प्रत्येक जिल्लामा अहिले सुरक्षित गर्भपतनका लागि सूचीकृत स्वास्थ्य संस्थाको पहुँच र त्यहीअनुसारको सचेतनामूलक सूचना फैलाइएकाले पनि सुरक्षित गर्भपतन गराउनेको संख्या बढ्दै गएको लुम्बिनी प्रदेश, स्वास्थ्य मन्त्रालय अन्तरगत स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी भरतबहादुर कँवरले जानकारी दिनुभयो ।
सुचना अधिकारी कँवरका अनुसार जिल्ला जिल्लामा अहिले सुरक्षित गर्भपतनका लागि सूचिकृत स्वास्थ्य संस्थाहरुको पहुँच र त्यही अनुसारको समाजमा सचेतनाका विभिन्न कार्यक्रमहरु संचालन गरेकाले पनि सुरक्षित गर्भपतन गराउनेहरुको संख्या बढ्दै गएको हुन् । सूचीकृत स्वास्थ्य संस्थामा पुगेर गर्भपतन गराउनेको संख्या बढेको देखिदा असुरक्षित रुपमा पनि गर्भपतन गराउने महिलाको संख्या पनि उत्तिकै रहेको आँकलन गरिएको उहाँ बताउनुहुन्छ ।
‘सामाजिक कारणले, आर्थिक कारणले, सांस्कृतिक कारणले सुरक्षितभन्दा पनि असुरक्षित स्थानमा गर्भपतन गराउन पुग्नेहरू पनि छन् । विवाह नगरी गर्भपतन गराउने, २० वर्ष नपुगेका महिला पनि गर्भपतन गराउन पुग्नेको संख्या बढ्दो छ’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. बसन्त लामिछानेले भन्नुभयो, ‘पाठेघरमा प्वाल पर्ने, आन्द्रामा प्वाल पर्ने, पुनः गर्भधारण हुन नसक्ने अवस्था आउने, सम्पूर्ण शरीरमा संक्रमण भएर मृत्यु हुने जस्ता समस्याहरू देखिने भएकाले असुरक्षित गर्भपतन गराउनु हुँदैन ।’
उहाँले सुरक्षित गर्भपतन सेवा प्रदान गर्ने स्वास्थ्य संस्थामा गएर डाक्टरको प्रत्यक्ष परामर्श र निगरानीमा मात्रै सेवा लिन सुझाव दिनुहुन्छ । सरकारी अस्पतालदेखि स्वास्थ्य चौकी र गैरसरकारी संस्थाले सञ्चालन गरेका परिवार नियोजन कार्यक्रममार्फत सुरक्षित गर्भपतन सेवा उपलब्ध छ तर अझै पनि सामाजिक पछौटेपनका कारण सुरक्षित गर्भपतन सेवा लिने ठाउँमा नपुगी असुरक्षित गर्भपतन गराउने गरिएको छ ।