व्यवसाय प्रवर्धनका लागि नीतिगत सुधार आवश्यक

गोरक्ष समाचारदाता
दाङ, २३ असार । व्यवसाय प्रवर्धनसँगै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना र आर्थिक समृद्धिका लागि नीतिगत व्यवस्थामा सुधार आवश्यक रहेको कार्यक्रमका सहभागीले बताएका छन् ।

स्थानीय तहका उद्योग तथा वाणिज्य शाखामा काम गर्ने कर्मचारी, उद्योग दर्तासँग सम्बन्धित अन्य सङ्घीय कार्यालय तथा व्यावसायिक संस्थाका प्रतिनिधिसँग घरेलु तथा साना उद्योग कार्यालय दाङको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रमका सहभागीले साना व्यवसायको प्रवर्धनका लागि नीगित व्यवस्थामा सुधार आवश्यक रहेको बताएका हुन् ।

देश सङ्घीय संरचनामा गएको आठ वर्ष बढी समय भइसक्दासमेत स्थानीयस्तरमा उद्योग व्यवसाय सञ्चालन, प्रवर्धनका लागि स्पष्ट नीति नियम बन्न नसक्दा समस्या भएको बताएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले प्राकृतिक स्रोत साधनसँग सम्बन्धित उद्योगसँगै कृषि, पशुपालनको राम्रो सम्भावना रहे पनि नीतिगत झन्झटिलो अवस्थाका कारण समस्या भइरहेको बताए ।

यसका लागि केन्द्र वा प्रदेश सरकारले अधिकार प्रत्यायोजन गर्ने र स्थानीय सरकारले नीतिगत व्यवस्था गरेर उद्योग व्यवसाय प्रवर्धनका लागि सहज व्यवस्था गर्न आवश्यक रहेको बताए । ‘तीन तहका सरकारले सहज रूपमा व्यवसाय सञ्चालन गर्ने अवस्था सिर्जना गर्न आवश्यक छ’, कार्यक्रमका प्रमुख अतिथि रहेका शर्माले भने, ‘अधिकार दिनका लागि कसैले कन्जुस्याइँ गर्न हुँदैन । व्यवसाय प्रवर्धनका लागि ऐन र नियमावलीमा समय अनुसार परिवर्तन हुन आवश्यक छ ।’

दाङ उद्योग वाणिज्य संघका अध्यक्ष वसन्त जोशीले नयाँ उद्योग व्यवसाय सञ्चालनसँगै गरिरहेका व्यवसायलाई निरन्तरता दिन सहज व्यवस्था गर्नुपर्ने बताए । तीन तहका सरकारका फरक फरक नीति नियमका कारण नयाँ उद्योग व्यवसायीसँगै व्यवसाय सञ्चालन गरेकालाई नवीकरण गर्दा समस्या हुने गरेको भन्दै सङ्घीयताको मर्म अनुसार सहज रूपमा व्यवसाय सञ्चालन गर्ने गरी व्यवस्था मिलाउनु पर्ने बताए ।

कार्यक्रममा घोराही उपमहानगरपालिका कृषि तथा पशुपन्छी विकास शाखा प्रमुख श्रीधर अधिकारीले उद्योग व्यवसाय प्रवर्धनका लागि सहज व्यवस्था गर्न आवश्यक रहेको बताएका थिए । कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय दाङका प्रमुख उद्योग अधिकृत नोखिराम वलीले प्राइभेट फर्म दर्ता ऐन र नियमावली, २०७६ र औद्योगिक व्यवसाय प्रवर्धन ऐन, २०८१ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यालयका सूचना अधिकारी गोपाल पौडेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण उद्यम विकास सहजकर्ता अनिल चौधरीले गरेका थिए ।

अन्तरक्रिया कार्यक्रममा घोराही उपमहानगरपालिका, लमही नगरपालिकासहित बंगलाचुली, राप्ती, गढवा र राजपुर गाउँपालिकामा कार्यरत उद्योग, व्यवसाय, कृषि, पशु शाखा, आर्थिक विकास शाखा प्रमुखलगायतका कर्मचारीको सहभागिता रहेको थियो ।