अनर्गल प्रचारप्रति प्रतिष्ठानको ध्यानाकर्षण

गोरक्ष समाचारदाता
दाङ, २३ असार । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा घोराही उपमहानगरपालिका–१८ निवासी २१ वर्षीया गुड्डी विकको मृत्यु भएको घटनामा भएको अनर्गल प्रचारको घट्नाप्रति गम्भीर ध्यानाकर्षण भएको प्रतिष्ठानले जनाएको छ ।

आइतवार प्रतिष्ठानका उपकुलपति डा विकास लामिछानेले प्रेस विज्ञप्ति जारी गर्दै मृत्युको घट्नालाई गलत रूपमा प्रचार गर्ने काम गरिएको बताएका छन् । प्रेस विज्ञप्तिमा ‘असार २० गते बिहान करिब ४ बजे प्रसव व्यथा सुरु भई उपचारका लागि विक प्रतिष्ठानमा आएकी थिइन् ।

तीनपटक मात्र गर्भ जाँच गराएकी विकको चार महिनाको गर्भावस्थादेखि कम्मरदेखि मुनिको भाग क्रमशः कमजोर भएर दुवै गोडा नटेकिने अवस्थामा पुगेपछि आवश्यक परामर्श र जाँचको लागि सल्लाह दिइएको थियो’ उपकुलपति लामिछानेद्वारा प्रेस विज्ञप्तिमा भनिएको छ, ‘विक प्रसव पीडा लिएर प्रतिष्ठानमा आउँदा पाठेघरको मुख सामान्य खुलेको अवस्थामा थियो ।
बिहान ११ः३० बजेतिर बच्चाको धड्कन अचानक कम भएपछि शल्यक्रिया गरेर बच्चा जन्माइएको थियो । शल्यक्रिया सफल भएपछि आमा र बच्चाको स्वास्थ्य सामान्य रहेकाले दिउँसो १ बजेतिर आमालाई पोस्ट अपरेटिभ वार्डमा सारिएको थियो तर करिब २ः१५ बजेको समयमा आमाको स्वास्थ्यमा अचानक समस्या आएर मृत्यु भएको थियो ।’

मृत्युको घटनापछि अस्पतालभित्र ड्युटीमा रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमाथि हातपातका साथै अस्पतालको भौतिक संरचनामा तोडफोडको घट्नाप्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ । साथै यस प्रकारको गतिविधिले चिकित्सक तथा स्वास्थ्यकर्मीको मनोबलमा पु¥याएको क्षतिप्रति प्रतिष्ठानले दुःख व्यक्त गरेको छ ।