Goraksha

National Daily

लुम्बिनी एकेडेमीका खेलाडी डेनमार्कमा जाने

गोरक्ष समाचारदाता
दाङ, २२ असार । लुम्बिनी फुटबल एकेडेमीबाट प्रशिक्षण गर्दै आएका १६ वर्ष मुनिका खेलाडीले युरोपको डेनमार्कमा प्रतियोगिता खेल्न जाने भएका छन् । डेनमार्कस्थित अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागी हुन लुम्बिनी फुटबल एकेडेमीको टोली जान लागेका एकेडेमीका सञ्चालक समीर वलीले जानकारी दिए ।

वलीकाअनुसार नेपालबाट पहिलो प्रतियोगितामा उमेर समूहबाट खेलाडी सहभागी हुन लागेका हुन् । प्रतियोगिता खेल्न जाने खेलाडी, अफिसियलको भिसा पनि आइसकेको छ । यही साउन ५ गतेदेखि अर्थात् २०२५ जुलाई २१ तारिखबाट सुरु हुने डेनमार्कको पुरानो र प्रतिष्ठित प्रतियोगितामा भाग लिन लुम्बिनी फुटबल एकेडेमीबाट १२ जना खेलाडी र ३ अफिसियल गरी १५ जनाको टोली जान लागेको बताए ।

पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगितामा खेल्न जान लागेका खेलाडीमा एकेडेमीले पूर्ण छात्रवृत्तिमा प्रशिक्षण दिँदै आएको रामकरण सदासहित प्रितम बुढा, प्रनम्य फिलोस शाही, आशिष नाथ, सक्षम पुनमगर, ग्रिष्म चौधरी, विकास पुरी, आशुतोष भण्डारी, नवीन वली, अग्रम्शु प्रोस्पर घिमिरे, मेरिस चौधरी र सञ्जय वली रहेका छन् । उनीहरूका साथमा अफिसियल टोली पनि जानेछ । खेलाडी, अफिसियल सबैले जाने आउने टिकट खर्च आफै व्यहोर्ने छन् । रामकरण सदाको सबै खर्च भने एकेडेमीले नै व्यहोर्ने भएको छ ।

सन् १९८२ देखि यस प्रकारको प्रतियोगिता आयोजना गर्दै आएको क्लबले यो पटक पनि ५० बढी देशबाट एक हजार बढी खेलाडीलाई सहभागी गराउँदै छ । लिग चरणमा हुने खेलमा नेपालको प्रतिनिधित्व गर्दै लुम्बिनी फुटबल एकेडेमीका युवा टोलीले खेल्ने छन् । डेनमार्ककै सबैभन्दा ठूलो स्पोट्र्स इभेन्टका रूपमा लिइएको प्रतियोगिता विश्वस्तरको सबैभन्दा उच्चस्तरको रहेको आयोजकको दाबी छ ।युरोपियन फुटबल एशोसियसनले समेत प्रमाणित गरेको प्रतियोगितामा पहिलो पटक सहभागीता जनाउन लागेका खेलाडीले यो आफूहरूका लागि लागि निकै ठूलो अवसर भएको जनाएका छन् ।

स्थानीय स्तरमा खेल खेल्दै आएका खेलाडीको मनोबल बढाउन तथा अन्तर्राष्ट्रिय खेल मैदानमा सहभागी गराउँदै खेलाडीको खेल क्षमता उजागर गर्न यस प्रकारको प्रतियोगिता निकै महत्वपूर्ण हुने एकेडेमीका सञ्चालक वलीले बताए । करिब ३ वर्ष अघि स्थापना भई सञ्चालनमा आएको लुम्बिनी फुटबल एकेडेमी निजी स्तरबाट सञ्चालित लुम्बिनी प्रदेशकै पहिलो फुटबल एकेडेमीका रूपमा परिचित छ । घोराही–१७ गैरागाउँस्थित आफ्नै निजी खेल मैदानमा फुटबल प्रशिक्षण गराउँदै आएको एकेडेमीले खेलकुद क्षेत्रको विकासका साथै समाजमा आर्थिक र सामाजिक रूपमा पछाडि परेका बालबालिकालाई अवसर प्रदान गर्ने लक्ष्य लिएको छ ।