गोरक्ष समाचारदाता
दाङ, २० असार । जालसाजी गरेर जग्गा बेचिएपछि न्याय खोज्दै ६६ वर्षीय मुलजिता रोकालाई अड्डाअदालत धाउनुपर्ने बाध्यता आइपरेको छ । घोराही उपमहानगरपालिका–१४ सरस्वती टोल बस्ने रोकाको नाममा रहेको घोराही–७ सौँडियारस्थित कित्ता नं. ३ क ९२६ नम्बरको १० कट्ठा आठ धुर जग्गा जालसाजी गरेर बिक्री गरेको रहस्य खुलेको छ ।
कृषि फर्म सञ्चालनका लागि मुलजिताले उक्त जग्गा जनज्योति पशुपक्षीपालक कृषक सहकारी संस्थालाई २०७८ असार १६ गते वार्षिक २४ हजार रुपैयाँ बुझ्ने गरी १० वर्षका लागि भाडामा दिएकी थिइन् । जग्गा सहकारी संस्थालाई भाडामा दिँदा सम्झौतामा साक्षी बसेका घोराही–१५ निवासी टीका बुढाले २०७८ असार २८ गते जालसाजी गरेर उक्त जग्गा बिक्री गरेको पीडित मुलजिता रोका बताउँछिन् ।
आफ्नो नाममा रहेको जग्गा आपूmलाई थाहै नदिएर बिक्री गरेको जग्गाको राजस्व वडा कार्यालयमा तिर्न जाँदा २०७९ सालमा थाहा पाएको उनी बताउँछिन् । ‘आपूm एकल महिला र त्यसैमा वृद्ध भएकाले कमाउने ठाउँ थिएन । त्यही भएर काठमाडौंमा पढ्दै गरेकी छोरीको फी तिर्ने पैसा जुटाउन सकेको थिएन’, पत्रकार सम्मेलनमा मुलजिताले भनिन्, ‘जग्गा भाडामा दिँदा पैसा आउने र संरक्षण पनि हुने भएकाले भदै नाता पर्ने टीका बुढालाई जग्गा भाडामा दिएको थिएँ तर उसले जालसाजी गरेर जग्गा बेचिदिए छ ।’
भाडामा दिएको जग्गा आपूmलाई थाहै नदिएर बिक्री भएको थाहा पाएपछि आपूm छाँगाबाट खसेझै भएको उनी बताउँछिन् । उनका अनुसार जग्गा भाडामा दिने सम्झौता भएको १२ दिनपछि अर्थात् २०७८ असार २८ गते उक्त जग्गा अर्को व्यक्तिको नाममा पास भएको देखिन्छ । बुढाले २० लाखको कागजी मूल्याङ्कन देखाएर घोराही निवासी लक्ष्मण शर्मालाई २०७८ असार २७ गते लिखत तयार पारी २८ गते जग्गा बिक्री गरेको पाइएको छ ।
त्यसको करिब छ महिनापछि पुनः जग्गा बिक्री भएको छ । लक्ष्मण शर्माबाट उक्त जग्गा २०७८ पुस २० गते घोराही उपमहानगरपालिका–१५ निवासी परर्शनारायण श्रेष्ठलाई बिक्री गरेको पालपोत कार्यालयको प्रमाणमा भेटिन्छ । बिक्री गरेको प्रमाणका आधारमा करोडौँ रुपैयाँको उक्त जमिन श्रेष्ठले किन्दा पनि २० लाख रुपैयाँको नै मूल्याङ्कन गरेर बिक्री गरेको पाइएको छ ।
जग्गाधनीलाई सोधपुछ नै नगरी आफ्नो नाममा रहेको जग्गा बिक्री भएको भन्दै जग्गा फिर्ताका लागि पटकपटक टीका बुढालाई भन्दा हुन्छ भन्ने तर जग्गा फिर्ता नगरेको बताइन । ‘भाडामा दिएको जग्गा बिक्री भएको थाहा पाएपछि मैले टीकालाई के गरेको यस्तो भदै सोधेँ’, पत्रकार सम्मेलनमा मुलजिताले भनिन्, ‘उसले गल्ती भयो, तपाईँको जग्गा फिर्ता गर्छौँ मात्रै भन्याmे त्यही भएर आजसम्म पर्खिएर बसेको थिएँ तर गर्छु भन्दाभन्दै झुलाउने काम गरिरहेको छ ।’
व्यक्तिको नाम र प्रतिष्ठामा राजनीतिक, सामाजिक आँच किन ल्याउने भन्दै जग्गा फिर्ता गराइदिन पटक–पटक आग्रह गर्दा सुनुवाइ नभएको उनको गुनासो छ । जग्गाकै कारण आफ्नो भएकी एउटी छोरीसँगसमेत सम्बन्ध बिग्रिएर बोलचाल बन्द भएको बताइन् । उनले जग्गा भाडाबापत दोस्रो पक्षले तीन पटक गरेर एक लाख २० हजार रुपैयाँ मात्र आपूmलाई बुझाएको बताइन् । सम्झौता अनुसार पाँच÷पाँच वर्षमा भाडा बुझाउने उल्लेख गरिएको छ ।
जग्गा जनज्योति पशुपक्षीपालक कृषक सहकारी संस्था भाडा दिने सम्झौता भएपछि टीकाले आफूलाई सहकारीको सम्झौता मालपोत कार्यालयमा गर्नुपर्छ भनेर बोलाएपछि आपूm गएको र त्यहाँ हस्ताक्षर गरेर ल्याप्चे लगाइदिएको बताउँछिन् ।
‘उक्त जग्गामा कृषि कार्य गर्नका लागि तपाईँको हस्ताक्षर चाहिने भयो, तपाईँलाई ल्याउन एक जना मान्छे आउँदैछ भनेर उसले फोन गरेको थियो’, पत्रकार सम्मेलनमा मुलजिताले भनिन्, ‘त्यसपछि मैले मालपोत गएर हस्ताक्षर र ल्याप्चे लगाएको थिएँ, त्यहीलाई जग्गा बिक्रीमा प्रयोग गरेका रहेछन् ।’ आपूmले पढ्न नजानेको र बुझ्ने मान्छे आपूmसँग कोही नभएको मौका छोपेर जग्गा नै बेचिदिएको उनको आरोप छ ।
दुई वर्ष अघिको घटनाबारे आपूmले टीकाका ससुरा कृष्णबहादुर महरा, छोरा निर्मल महरालगायत व्यक्तिसँगै जग्गा बिक्री गर्दा कागज गर्ने वकिललगायत पार्टी कार्यालय सबै ठाउँमा जानकारी गराउँदासमेत सुनुवाइ नभएको बताइन् । पीडित पक्षले बिहिबार भूमिसुधार तथा मालपोत कार्यालय प्रमुखसँग भेट गरेको छ ।
कार्यालयमा पुगेर जग्गा के कसरी सम्बन्धित व्यक्तिलाई थाहै नदिएर बिक्री भयो भन्नेबारे जिज्ञासा राखेको थियो । त्यस क्रममा भूमिसुधार तथा मालपोत कार्यालय दाङका प्रमुख मालपोत अधिकृत कमलप्रसाद पौडेलले कानुनी प्रक्रिया पूरा गरेर जग्गाको किनबेच भएको बताउँछन् ।
कार्यालयले जग्गा बिक्री गर्दा कागजपत्रलाई आधार मान्ने र त्यसका लागि सम्बन्धित व्यक्तिले सम्पूर्ण प्रक्रिया पूरा गरेर जग्गाको बिक्री गरेको पाइएको प्रमुख पौडेलले बताए । उनले न्यायका लागि कानूनी प्रक्रिया अपनाउन सल्लाह दिएका छन् । जग्गा बिक्री गरेको आरोप लागेका टीका भने सम्पर्कमा आउन सकेनन् ।