बिक्री नभएपछि बारीमै कुहिए काँक्रा
अमरराज आचार्य
दाङ, १९ असार । तयार भएका काँक्रा बिक्री नभएपछि बोटमै कुहिएका छन् । घोराही उपमहानगरपालिका–२ मोतिपुरका भीमसेन पोख्रेलले खेती गरेको काँक्रा बिक्री नभएपछि बारीमा कुहिएका हुन् ।
आफूले मिहिनेत गरेर उत्पादन गरेको काँक्रा ६ रुपैयाँ प्रतिकिलोमा पनि बिक्री नभएपछि बारीमै कुहिएको बताए । काँक्रा बिक्री नभएर बोटमै कुहिन थालेपछि बोट काटेर फाल्नु परेको बाध्यता उनले सुनाए ।
उत्पादन भएको कृषि उपज बजारमा बिक्री नभएपछि मुल्य पनि नउठ्ने अवस्था रहेको बताए । काँक्रा बिक्री नहुदा धेरै निकायमा धाए पनि सहयोग पाउन नसकेको उनले बताए ।
उनले डेढ बिघा क्षेत्रफलमा काँक्रा खेती गरेको भएपनि हाल १६ कट्ठामा तयार भएको काँक्रा बिक्रीमा समस्या भएको बताए । काँक्रा नबिकेपछि सुँगुर, बङ्गुर तथा बाख्रा, भैसी, गाईगोरुलाई खुवाउने गरेको बताउँछन् ।
बाँकी १८ कट्ठामा रोपिएको काँक्राले फल दिने बेला भएको बताउँदै उनले झाल फालेको १६ कट्ठामा पुनः काँक्रा रोप्ने तयारी गरेको बताए । बिक्रीका लागि तयार भएको काँक्रा कुहिएर आफूलाई करिब चार लाख रुपैयाँ घाटा लागेको पोख्रेलको भनाइ छ ।
राज्यले उत्पादनको ज्ञारेन्टी नगदिँदा आफूजस्ता किसान मारमा पर्ने गरेको बताए । ‘उत्पादन गरेर के गर्नु बजारीकरणको समस्या छ’, उनले भने, ‘किसानले उत्पादनको कृषि उपजको ज्ञारेन्टी भइदिए मिहिनेत खेर जाने थिएन ।’
युवाहरूलाई कृषिमा प्रोत्साहन गर्नु पर्ने भए पनि त्यसो हुन नसकेको उनको भनाइ छ । रोजगारका लागि १० वर्ष कुवेत बसेर आएका पोख्रेल तीन वर्षदेखि व्यावसायिक कृषि खेती गर्दै आएका छन् । उनले न्यु पोख्रेल कृषि फर्म दर्ता गरेर व्यावसायिक कृषि खेती गरिरहेका छन् ।
उनले प्रतिकट्ठा तीन हजार पाँच सय रुपैयाँमा जमिन भाडामा लिएर खेती गदै आएका छन् । उनले धारा र कुवाँको पानीबाट थोपा सिँचाइ प्रविधि अपनाएर खेती गरिरहेका छन् । प्रत्यक्ष रूपमा दैनिक पाँच जनालाई रोजगार दिएका छन् भने धेरै उत्पादन भएको समयमा ज्यालादारीमा कामदार थप गर्ने गरेको उनले बताए ।
कृषि तथा पशु क्षेत्रको अनुगमन
जिल्लामा कृषि, माहुरीपालन, बाख्रापालनलगायतका कृषि व्यवसायको अनुगमन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, दाङ र कृषि ज्ञान केन्द्रको संयुक्त रूपमा अनुगमन गरिएको हो ।
अनुगमन टोलीले घोराहीको रामपुर, लमही नगरपालिकाको सतबरिया, हसनापुर, रिहार, राजपुर गाउँपालिकाको मटेरिया, तुलसीपुर उपमहागरपालिका–२ को बालापुरलगायका स्थानमा गरिएका कृषि व्यवसायको अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा माहुरीपालन, मह प्रशोधन, प्याकेजिङ, मकैखेती, मकैको बिउ उत्पादन, धान, मकै, गहुँ, राजमालगायतको मुल बिउ उत्पादन, तोरी जोन, तेल उत्पादन, बाख्रा पकेट क्षेत्रमा पुगेर अनुगन गरिएको थियो ।
अनुगमनका क्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यान्द शर्माले राज्यले गरेको सहयोगको सदुपयोग गर्न कृषि व्यवसायीलाई आग्रह गरेका थिए । काम गर्न खोज्नेलाई राज्यले सहयोग गरेको बताउँदै सहयोगको सदुयोग गर्न किसानलाई उनले आग्रह गरे ।
तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टीकाराम खड्काले सहकारीहरूलाई किसानले उत्पादन गरेका कृषि उपजको बजारीकरणका लागि अनुज्ञापत्र प्राप्त गर्न समस्या भएको बताए । यसका लागि कानुन संशोधन गरेर अगाडि बढ्नुपर्ने बताए । यसका लागि सबै क्षेत्रको सहयोग आवश्यक पर्ने बताए ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ, दाङका प्रमुख लक्ष्य चौधरीले किसानका कृषि उपदसँगै उत्पादित कृषि वस्तुको ब्रान्डिङमा सहयोग गदै आएको बताए । यसले किसानलाई बजारीकरणमा सहयोग पुग्ने बताए ।
यसैगरी कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले दाङको पहिचानकोे रूपमा रहेका कृषि वस्तुको पहिचान जोगाउन किसान अग्रसर हुनु पर्ने बताए ।
अनुगमनमा लमही नगरपालिका प्रमुख जोगराज चौधरी, दंगीशरण गाउँपालिका अध्यक्ष सम्भु गिरी, बंगलाचुली गाउँपालिका उपाध्यक्ष भक्तबहादुर जिसी, स्थानीय प्रशासन, घरेलु तथा साना उद्योग कार्यालय, भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, कृषि ज्ञान केन्द्रका प्रमुख तथा प्रतिनिधिलगायत सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो ।
