नारायणप्रसाद श्रेष्ठ
सामाजिक मूल्य र मान्यताभित्र गतिशील हुने सशक्त आधार भनेको सामाजिक धरातलमा हुर्केको हाम्रो चालचलन, रहनसहन र आनीबानी हो । यही आचरण नै समाज निर्माणको बलियो अधार पनि हो ।
हामी जुन परिवेशमा हुर्कन्छौँ, जेजस्तो आचरण र व्यवहार प्रदर्शन गर्दछौँ, सोही अनुकुल सामाजिक परिवेश निर्माण हुने हुँदा समाजमा जेजस्ता परम्परागत संस्कारमा हामी हुर्केका छौँ, सोही अनुकुल हाम्रो र भावि पिढीको व्यवहार पनि हुन पुग्दछ । गिलो माटो सरी रहेको हाम्रो दिमागमा हामी जेजस्तो संस्कृति र संस्कार रोप्छौँ बच्चैदेखि हामीले हाम्रो अभिभावक वा समाजबाट जेजस्तो आचरण र व्यवहार सिक्दछौँ सोही अनुसार हाम्रो भविष्य पनि निर्धारण हुन पुग्दछ ।
असल संस्कार र संस्कृतिमा हुर्केको मानसिकता छ भने उसले एकअर्काको आदर सत्कार र सम्मान गर्न सिकेको हुन्छ । अर्कोतर्फ गलत संस्कारमा हुर्केको छ भने त्यो व्यक्ति वा समाजको बनोट सोही आधारमा निर्धारण भएको हुन्छ । तसर्थ, हामीले हाम्रो सामाजिक वातावरणलाई कुन गतिमा गतिशील बनाउने हो वा हामीले हाम्रो भविष्यलाई कसरी निर्माण गर्ने हो ? सो कुराको समयमै हेक्का राख्न जरुरी छ ।
कुरा र व्यवहारमा फरक पारियो भने कुनै पनि सिर्जनशील कार्यहरुलाई सानो र ठूलो भनेर भेदभाव पारियो भने यसले ठूलो दुष्परिणाम निम्त्याउँछ । ठूल्ठूला सपना देखाएर रणभुल्लमा पार्ने हाम्रो आचरण भयो भने यसले हाम्रो भविष्य क्षणिक सन्तोषजनक त देखिन सक्ला तर कालान्तरमा यसको परिणाम गलत पनि हुनसक्छ ।
त्यसबेलामा न त हामी स्वयम् एकआधारको सहयोगी र आधार बन्नसक्छौँ न त आफ्नो आचरण र व्यवहारलाई शुद्धता गर्न सक्छौँ । त्यसैले त्यसको लागि हामी स्वयम् जिम्मेवार भएर हामीले हाम्रो सामाजिक बनोटलाई आदर्श गन्तव्य निर्धारण गर्न हाम्रो संस्कृति र संस्कार तथा आनीबानीमा आचरणयुक्त व्यवहार देखाउनुपर्छ । असल आचरण र व्यवहारबाट नै समृद्ध समाजको परिकल्पना गर्न सम्भव हुन्छ ।
मानिस सामाजिक प्राणी हो । उसको हरेक कर्म समाजबाट परिस्कृत भइरहेको हुन्छ । विहानदेखि बेलुकासम्म उसलाई आवश्यक पर्ने सम्पूर्ण वस्तुको आपूर्ति समेत समाजबाट परिपूर्ति गरिरहेको हुन्छ । बस्ने, उठ्ने, लाउने, खानेलगायत शिक्षा, स्वास्थ्य एवं आहारविहार सम्पूर्ण कुरामा मानिस समाजमा निर्भर रहेको हुन्छ ।
समाज मानिसको भविष्य निर्धारण गर्ने बलियो आधार पनि हो । समाजले उसलाई दैनिक आवश्यकता मात्र पूरा गर्दैन अपितु उसले प्राप्त गर्न खोजेको असल संस्कारको विजारोपण पनि गरेको हुन्छ । आफूलाई प्राप्त हुने आधारलगायत आफूले अरुप्रति गर्ने व्यवहारमा के–कस्ता जिम्मेवारी निर्वाह गर्नुपर्छ त्यस कुराको छिनोफानो समेत समाजले मानिसलाई प्रोत्साहित गरिरहेको हुन्छ ।
देख्दा सामान्य लाग्ने कुरादेखि जटिल कुराहरु पनि मानिस समाजबाटै सिकिरहेको हुन्छ । असहायको सहायदेखि शारीरिक, मानसिक र पारिश्रमिक समेत उसले समाजको बनोट अनुसार सिकिरहेको हुन्छ । अर्को अर्थमा भन्ने हो भने मानिस र समाज एकअर्काका परिपुरक हुन् पनि भनिन्छ । यसरी सामाजिक परिवेशले मानिसलाई उसको जीवनभर प्रभाव पारिरहेको हुन्छ ।
तसर्थ, यो कसरी र केका आधारमा परिस्कृत भइरहेको हुन्छ, यस कुराको हेक्का र प्रयोजन राख्न नितान्त जरुरी हुन्छ । समाज मानिसको आपसी सहयोग र सद्भावको आधारको रुपमा निर्माण भएको हुन्छ । यो सामाजिक चिन्तन पनि हो । यसलाई मानिस स्वयम्ले निर्माण गरेका हुन्छन् । समूह–समूहमा मिलेर बनेको समाज हुन्छ । यहाँ विविधतामा एकता प्रदर्शन गर्न उद्देश्य रहेको पाइन्छ । उद्देश्य एक उपलब्धि अनेक यस्तो परिस्थिति निर्माण गर्नमा पनि मानिसले समाज बनाएको हुन्छ ।
तसर्थ, यहाँ बुझ्नुपर्ने विषय भनेको समाज बन्दैमा मानिस सभ्य र आदर्श बन्नसक्छ यो कल्पना मात्र हुनसक्छ । किनकि समाज मानिसको चाहना र इच्छामुताविक उसको स्वार्थले निर्माण गरेको हुँदा यहाँ कहीँ न कतै स्वार्थ लुकेकै हुन्छ । जुन स्वार्थको कारणले मानिसको आनीबानी र चालचलनमा समेत प्रत्यक्ष असर पु¥याइरहेको हुन्छ । त्यही स्वार्थका कारण समाजमा राम्रो र नराम्रो आचरण भएका व्यक्तिहरु देखिएका हुन्छन् ।
यी दुवै आचरण भएका व्यक्तिको उद्देश्य भनेको आफूलाई प्राप्तिको विषयभित्र परिस्कृत गर्नु हुनेछ । यदि आचरण र व्यवहारमा आउने परिवर्तनतर्फ मानिसले समयमै सोच राखेन, असल संस्कारको पलोअप गर्न सकेन भने ऊ स्वयम् अन्धकारतर्फ धकेलिन पुग्दछ । एकपटक कुलतमा फस्यो भने उसले त्यसबाट मुक्ति पाउन निकै संघर्ष गर्नुपर्ने हुन्छ ।
त्यतिमात्र होइन कुलतमा फसियो भने उसको आनीबानी र व्यवहार मात्र परिवर्तन हुँदैन । त्यसको सोच र चिन्तन नै फरक हुन पुग्दछ । ऊ केवल त्यही वस्तु प्राप्तिभित्र मात्र लागिरहने उसको बानी बन्न पुग्दछ । जस्तो चुरोट, रक्सी, तम्बाकु र अन्य लागूपदार्थ सेवन गर्ने बानी भएका मनिसको अवस्था हुन्छ त्यस्तै अवस्था कुलतमा लाग्नेको पनि हुन्छ ।
त्यस्तो विकृति मानिस स्वयम्को आचरणबाट उब्जने विकृति भएकाले यसतर्फ सामाजिक परिवेश स्वयम् जिम्मेवारी हुने स्थिति रहने हुन्छ । तसर्थ, यस कुराको हेक्का राख्नुपर्ने पनि हुन्छ । हामीले हिजोको सामाजिक वातावरणलाई हेर्ने हो भने त्यसबेला मानिसको आहार, विहार, रहनसहन र एकअर्काबीचको सम्बन्धमा मधुरता थियो ।
प्रकृति स्वयम् मानव समाजको समुन्नतमा हातेमालो गरेको अवस्था थियो । समाजमा स्थापित मूल्य र मान्यताअनुकूल जीवन चलायमान भएको थियो । अनुशासित र मर्यादित जीवनशैली थियो । समाजमा स्थापित संस्कृति र संस्कारले मानिस–मानिसबीचको सम्बन्धमा न्यानोपन थियो । मानिस निरोगी र स्वस्थ थिए । आफ्नो काम आफै गर्ने र प्रकृतिबाट प्राप्त वहुमूल्य औषधी जडिबुटी स्वरुप ग्रहण गर्ने आधार थियो ।
प्रकृतिबाट प्राप्त उपहारलाई नै सबैले स्वीकारेको अवस्था थियो । तर, वर्तमान त्यस्तो छैन । अहिले आधुनिकताको कारण मानिसको जीवनशैलीमा आडम्बरयुक्त विलाषीपन देखिएको छ । शारीरिक परिश्रम गर्न मानिसले छोडिसके । प्रकृतिलाई आफ्नो पेवाजस्तै प्रकृति नाश गर्न मानिस आफै लागिपरे ।
हिजो स्वच्छ र पवित्र भएर बग्ने खोलानालाहरु वर्तमानमा ढलको रुपमा देखिन थाल्यो । जनसंख्याको बृद्धिसँगै विचारमा परिवर्तन भएको हो भन्ने नाममा एकले अर्कालाई उछनेर खुट्टा तान्ने प्रवृत्ति बढ्न थाल्यो । जीवन रसबिनाको छोक्राझैँ अरुको सहाराबाट चलाउनुपर्ने परिस्थिति जन्मियो ।
चुसेर फालेको उँखुको छोक्राझैँ जीवन खोक्रो बनाउनेतर्फ मानिस स्वयम् अग्रसर भएर लाग्ने भए । कृत्रिमतातर्फ मानिसको सोच बृद्धि हुन पुग्यो । राजनीतिले जता पनि छोयो । शिक्षा, स्वास्थ्य तथा नागरिक हक केवल कानुनी किताबमा लेखिने अवस्था रह्यो । जहाँ पनि कमिशन र भ्रष्टाचारको गन्ध देखिन थालियो ।
आफ्नो निजी स्वार्थका कारण राष्ट्रले सही दिशा निर्धारण गर्न सकेन । नागरिक उनकै पिछलग्गु भएर दौड्नपर्ने अवस्था सिर्जना भयो । समाजको लागि मरिहत्ते गर्ने संस्कारी र गुणवत्ता विद्वान्हरु विगत र वर्तमानलाई हेर्दै नयाँ रचना गर्न काविल भए तापनि उनीहरु गौण बन्न पुगे । यसो हुनुमा कतै हाम्रो परिवर्तन चाहने मनस्थितिमा वक्रसोच जागृत भएको त होइन ? हाम्रो सोच र चिन्तनमा आएको परिवर्तनले कतै हाम्रो आदर्श, वर्गविभेदतर्फ उन्मुख भएको त होइनन् ?
सामाजिक कलंक लाग्ने सोच हामी किन प्रदर्शन गर्दै छौँ ? हामीले दिनरात मिहिनेत र पसिना बगाई निर्माण गरेको पौराणिक संस्कार र संस्कृति हाम्रो धरोहर भएको थाहा पाउँदापाउँदै यसमा धमिरा लाग्ने परिस्थिति किन उब्जाइँदै छ ? स्वास्थ्य, शिक्षालगायत सुशासनसमेत लथालिङ्ग छ । यस्तो अवस्था आउनुमा हामी स्वयम् दोषी त होइनौँ ?
तसर्थ, स्वार्थकेन्द्रित विचारमा लादिनुभन्दा सामाजिक मूल्य र मान्यताभित्र हुर्कनसक्ने हाम्रो आनीबानी र व्यवहारमा परिस्कृत गरौँ । सामाजिक वातावरणमा प्रत्यक्ष असर पु¥याउने नयाँ सोच र चिन्तनमा हाम्रो संस्कृति र संस्कारलाई परिमार्जित गरौँ ।
समाज स्वच्छ भए विचार स्वच्छ हुनसक्छ । स्वच्छ र सकारात्मक चिन्तन बढाउन संस्कृति र संस्कार हाम्रो सामाजिक मूल्य र मन्यता हो । तसर्थ, समाजमा जति पनि कूरीति र विग्रह छन् तिनलाई समय सापेक्ष परिवर्तन गर्दै सामाजिक धरोहरमा रहेको हाम्रो आचरणलाई सच्याउनेतर्फ हामी सजग बनौँ । समय यही पर्खिरहेछ ।