आँखा अस्पतालमा अत्याधुनिक फेको प्रविधिद्वारा विना इन्जेक्सन शल्यक्रिया

तुलसीपुर, १७ असार । राप्ती आँखा अस्पतालमा (टपिकल,एनेस्थेसिया) विना इजेक्सन मोतियाविन्दुको शल्यक्रिया सुरु भएको छ ।

अत्याधुनिक फेको प्रविधिद्वारा विना इन्जेक्सन दैनिक बरिष्ठ विशेषज्ञबाट मोतिविन्दुको शल्यक्रिया सेवा प्रवाह भइरहेको अस्पतालले जानकारी दिएको छ । मोतियाविन्दुका शल्यक्रिया गर्नुपर्ने विरामीलाई थोपा औषधी राखेर (टपिकल) बाट शल्यक्रिया भईरहेको अस्पतालका मेडिकल डाइरेक्टर सहायक.प्रा.डा रञ्जितकुमार साहले जानकारी दिएका छन् ।

‘मोतियाविन्दुको शल्यक्रिया गर्दा दुई विधिबाट गरिन्छ, जस्तो एउटा सुइ लगायर बलक लगाउनुपर्ने हुन्छ’, डा साहले भने,‘त्यही औषधीलाई थोपा विधिबाट थोपा औषधी राखेर हामीहरुले मोतियाविन्दुको शल्यक्रिया गरि रहेका छौ ।’ टपिकलबाट शल्यक्रिया गर्दा विरामीहरुलाई सवै कुराले सहज हुने डा. साहको भनाई छ । ‘सुई लगाउँदा कुनै विरामीको मनमा डर मान्ने हुन सक्छ’,डा शाहले भने,‘टपिकल थोपा औषधी हाल्दा विरामीलाई कुनै डर हुदैन ।’

उनले त्यसका साथै टपिकल शल्यक्रिया गरेका विरामीहरुको आँखामा व्यान्डेज नलगाग्ने भएकाले विरामीले शल्यक्रिया पछि सजिलै हिडडुल गर्नुका साथै शल्यक्रिया पश्चात तुरुन्तै भिजन थाहा पाउने बताए ।

शल्यक्रिया पश्चातनै बिरामी घर जान सक्ने भन्दै डा साहले आँखाका पटी नभएपछि सहजै हिडडुल गर्न सक्ने बताउँछन् । राप्ती आँखा अस्पतालमा यो सेवासुरु भएसंगै हालसम्म टपिकलबाट १०८ जना विरामीलाई शल्यक्रिया सेवा दिएको ओटी इन्चार्ज सपना गौतमले जानकारी दिइन् ।

त्यस्तै राप्ती आँखा अस्पतालमा जनरल एनेस्थेसिया मार्फत् आँखाको शल्यक्रिया सेवा पनि भई रहेको छ । अस्पतालमा बालबालिका, वृद्धवृद्धा तथा अशक्तको आँखाको शल्यक्रिया जनरल एनेस्थेसियामार्फत् सुरु गरेको डा. साहले जानकारी दिएका छन् ।

यसअघि राप्ती आँखा अस्पतालमा जनरल एनेस्थेसिया मार्फत् शल्यक्रिया नहुँदा आँखाको शल्यक्रिया गर्नुपर्ने बालबालिका, वृद्धवृद्धा तथा अशक्त सेवाग्राहीलाई अन्यत्र जानुपर्ने बाध्यता थियो ।

‘एनेस्थेसिया डा. रोशन गुप्ताको प्रत्यक्ष निगरानीमा आँखाको शल्यक्रिया भइरहेको छ’, डा साहले भने, ‘एनेस्थेसिया मार्फत् हाम्रो टिमले हाल सम्म ९ जना आँखाका बिरामीको शल्यक्रिया गरिसकेका छौँ अब जनरल एनेस्थेसिया मार्फत् शल्यक्रिया गर्नुपर्ने बिरामी अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको छ ।’

आँखा अस्पतालमा सेवा सुरु भएसँगै बिरामीलाई टाढा जानुपर्ने बाध्यता हटेको छ । यसका साथै दैनिक जलविन्दु, मोतियाविन्दुलगायत आँखासम्बन्धी विभिन्न प्रकारका शल्यक्रिया हुने गरेका छन् ।

जलविन्दु र फेको सर्जरीमा विशेषज्ञता हासिल गरेका सहायक प्राडा साह अस्पपतालमा आएसँगै जलविन्दुका बिरामीलाई पनि सेवा लिन सहज भएको छ । हाल राप्ती आँखा अस्पतालमा विभिन्न आँखा सम्वन्धी समस्या लियर दैनिक ३ सय बढी विरामीहरु आउने गरेका छन् ।