गोरक्ष समाचारदाता
तुलसीपुर, १६ असार । राप्ती बाल एकेडेमी तुलसीपुर– ६, गाइडहरमा अभिभावकसंग अन्तरक्रिया तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ ।
विद्यालयका कक्षा नर्सरी देखी ५ कक्षासम्मका अभिभावकसंग अन्तरक्रियाका साथै एसईई २०८१ मा सफल हुने बिद्यार्थी तथा अभिभावकहरुलाई विद्यालयले सम्मान गरेको हो । अन्तरक्रिया कार्यक्रममा बालबालिकालाई विद्यालयमा भर्ना गरेर मात्र नहुने भन्दै गुणस्तरी शिक्षाका लागि अभिभावकको भूमिका र दायित्व उतिकै हुने सहभागीले बताए थिए ।
कार्यक्रममा विद्यालयका प्रिन्सीपल ठाकुर डाँगीले बालबालिकाको पहिलो पाठशाला घर भएको भन्दै आफ्ना बालबालिकाहरुको आनिवानी र पढाईको विषयमा अभिभावकहरुले पनि ध्यान दिनुपर्ने बताए । ‘बालबालिको चौतर्फी विकासका लागि हामीहरुले पढाई संगै विभिन्न क्रियाकलापहरु सञ्चालन गरेका छौ’, उनले भने,‘हामीबाट केही कमिकमजोरी छ भने सुझाव दिनुहोस । सच्याउन तयार छौ ।’ उनले राप्ती बालएकाडेमीबाट पढेका विद्यार्थीहरु डाक्टर इन्जिनियर देखि देश विदेशमा पुगेर प्रगति गरेको सुनाए ।
त्यस्तै डाँगीले पछिल्लो समयमा बालबालिकाहरु मोवाईलले गर्दा पढाई तिर ध्यान नदिएको गुनासो आएकाले अभिभावकले मोवाईलमा पनि केका लागि आफ्ना बालबालिकाले प्रयोग गर्छन त्यो तर्फ ध्यान दिनुपर्ने बताए । ‘सकभर केटाकेटीलाई मोवाईल खेलाउन नदिनुहोस दिएपनि ज्ञानगुनका कुराहरु खोज अनुसन्धान गर्न तर्फ लगाउनुहोस’, डाँगीले भने। त्यस्तै अभिभावक सरोजराज उप्रेतीले विद्यार्थीहरुले पढेर धेरै जिपीए ल्यायर मात्र नहुने भन्दै सवै कुरामा उत्कृष्ट हुनुपर्ने बताए । ‘कितावको ज्ञानलेमात्र हुदैन बालबालिका हुनुपर्ने अन्यगुणपनि आवश्यक पर्छ’, उनले भने ।
उप्रेतिले राप्ती बालएकाडेमीको उन्नति प्रगतिको लागि आफुले विभिन्न समय सुझाव दिने गरेको भन्दै व्यवहारीक शिक्षा पनि दिने गरेको बताए । सो अवसरमा हालै प्रकाशित एसईई २०८१ मा सफल हुने बिद्यार्थी तथा अभिभावकहरुलाई सम्मान गरिएको थियो ।