खेमराज रिजाल
दाङ, १६ असार । राष्ट्रपति रामचन्द्र पौडेलले राजधानीका गरामा प्रतिकात्मक रूपमा फरुवाले हिलो मिलाइरहँदा लुम्बिनी प्रदेशका कृषि मन्त्री दिनेश पन्थी लमही नगरपालिका–२ केरुनियामा धान रोप्न सहभागी बने ।
घोराही उपमहानगरपालिका–१८ मसिनाबासी कलाकार कमल गाउँलेको खेतमा धान दिवस मनाउन पुगिन् घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसी । तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्काले रोप्नका लागि तयार पारिएको बिउको मुठा समाउँदै थिए ।
तुलसीपुर उपमहानगरपालिका–८ एकता टोलमा हेमा डाँगीको खेतमा धान रोप्दै थिए । दंगीशरण गाउँपालिका अध्यक्षसहितको टोली धान दिवस मनाउन दंगीशरण गाउँपालिका–६ नयाँबस्तीमा राष्ट्रिय धान दिवस मनायो । यसरी नै मुलुकका तीन तहका सरकारले फरक–फरक शैलीमा धान दिवसलाई औपचारिकता दिए । फोटो सुट गरे ।
सामाजिक सञ्जालमा पोस्ट गरे । सुकिला मुकिलाले धान दिवसलाई उत्सवमय बनाइरहँदा यहाँका किसान भने धान दिवसमा पनि मल दिने सहकारीका अड्डा धाइरहेका थिए । सहकारीका पदाधिकारीको ध्यान भने कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङका हाकिमलाई फोन ‘रिङ्याउनै’ व्यस्त छन् । व्याड तयार भएकाले मलको अभावमा धान रोप्न पाएका छैनन् ।
नेपालमा धान खेतीको राम्रो सम्भावना छ । पहाडदेखि तराईसम्म सिँचाइ सुविधा भए जहाँ पनि उत्पादन हुन सक्ने धान खेतीलाई सरकारले राष्ट्रिय अर्थतन्त्रको आधार निर्माण गर्न विगत २२ वर्षदेखि असार १५ लाई राष्ट्रिय धान दिवसका रूपमा मनाउन सुरु ग¥यो ।
चाहे किसानका गरामा पानी नहोस्, चाहे रोप्न तयार भएका गरामा प्रयोग गर्ने रासायनिक मल नहोस्, जनप्रतिनिधि र सरकारी अधिकारीले भने यो दिवसलाई मनाउन छाडेका छैनन् । गरामा पानी नहुँदा इनारबाट मोटरले पानी तानेरै भए पनि दुई वर्ष अघि घोराही उपमहानगरपालिकाले सानो गरामा धान रोपेर धान दिवस मनाएको घटना अझै ताजै छ ।
‘व्याड तयार भइसक्यो, रासायनिक मलको जोहो हुन सकेको छैन, एक बोरा मल मिलाइदिनुस् न’, धान दिवसकै दिन तुलसीपुर उपमहानगरपालिका–१७ जमेराका किसान श्रवण चौधरीको यो संवाददातासँगको आग्रह हो यो । श्रवण जस्तै सोही वडाका माधव अधिकारीले पनि रासायनिक मलको जोहो गर्न सकेका छैनन् ।
गाउँमा सहकारीले ल्याएको मल उतिबेलै खोसाखोस भयो । सहकारीले कसलाई कति–कति मल दियो, त्यसको कुनै सामाजिक परिक्षण नै हुँदैन । आफ्ना नजिककालाई मात्र सहकारीले मल दिने गरेको तुलसीपुर उपमहानगरपालिका–१७ झिँगैका किसान तिलक भण्डारीले गुनासो गरे । मल वितरण प्रणाली नै पारदर्शी नभएको उनको आरोप थियो ।
किसानको रासायनिक मलको रोदन जति बढे पनि जिल्लाका तत्काल मल उपलब्ध हुने कुनै सम्भावना देखिँदैन । अब कृषि सामग्रीमा आउने भनेको युरिया हो, साल्ट ट्रेडिङमा आउने भनेको डिएपी हो । प्रदेशस्तरीय रासायनिक मल डिपो भैरहवामार्फत् उपलब्ध हुने मल अहिले पूर्व–पश्चिम राजमार्गमा पुल भत्किएका कारण नवलपरासीमै रोकिएको ती कम्पनीले बताएका छन् ।
नेपालभरी करिब १२ लाख मेट्रिक टन मल आवश्यक भएको तथ्याङ्क भए पनि सरकारले ५ लाख मेट्रिक टनको मात्र ठेक्का गरेको थियो । त्यसमा तीन लाख मेट्रिक टन मल मात्र स्रोत कन्ट्रीबाट नेपाल भित्रिएको छ । मल उपलब्ध गराउने कार्यालयलाई समेत स्रोत कन्ट्री कहाँ हो भन्ने जानकारी छैन । यो अवस्थाले यो वर्ष पनि किसानलाई सहज रूपमा मल उपलब्ध हुने छैन ।
यसै साता जिल्ला समन्वय समितिको समन्वय र कृषि ज्ञान केन्द्रको आयोजनामा रासायनिक मल आपूर्तिको अवस्था र नियमनका विषयमा १० वटै पालिका उपप्रमुख÷उपाध्यक्ष तथा कृषि शाखाका प्रमुखसँग अन्तरक्रिया कार्यक्रमको आयोजना भएको थियो । त्यो बेलासम्म सबै पालिकाले मल अपुग भएको रिपोर्टिङ गरेका थिए तर मल आएको छैन ।
धान खेती दाङको कृषि अर्थतन्त्रको मेरुदण्ड हो । धानको खपतमा दाङ आत्मनिर्भर भइसकेको कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारीले बताएका छन् । यहाँ उत्पादित धान दाङलाई पुगेर बिक्री हुने गरेको तथ्याङ्क कार्यालयसँग छ । यद्यपि फरक गुणस्तरको चामल भने केही मात्रामा आयात हुने गरेको छ ।
जिल्लामा धानको वार्षिक उत्पादन करिब एक लाख ४८ हजार मेट्रिक टन हुन्छ । यद्यपि पार्टी विशेष, होटल, लजमा खपत गर्न तथा घरायसी भोजका लागि आवश्यक पर्ने पुलाउ बनाउने चामल भने भारतबाट वार्षिक २१ करोड रुपैयाँ बराबरको आयात गर्नु पर्ने अवस्था रहेको कार्यालय प्रमुख भण्डारी बताउँछन् । यहाँ उत्पादन भएको धान तथा बिउ अन्य जिल्लामा निर्यात भने हुने गरेको छ ।
दाङमा अझै धान उत्पादन बढाउन थुप्रै आधार छन् । यसका लागि चैते धानको एरिया बढाउन सकिने कृषि विज्ञले बताएका छन् । साथै उत्पादकत्व बढाउन जिल्लामा सम्भावना रहेका छन् । समयमै मल, बिउको व्यवस्थापन, किसानलाई प्रविधिको प्रयोग र सिँचाइ सुविधामा समेत वृद्धि गर्न सकेमा दाङ उपत्यकामा मात्रै भएको धान उत्पादनले दाङबासीको धानको मागलाई सम्बोधन गर्न सक्ने बताइएको छ ।
देउखुरी उपत्यकामा उत्पादन भएको धान सबै अन्यत्र बिक्री गरे दाङ धानमा आत्मनिर्भर बन्ने अवस्था रहेको कृषि ज्ञान केन्द्रका प्राविधिकले बताएका छन् ।
तुलसीपुर–८ को मालबुङमा धान दिवस
तुलसीपुर उपमहानगरपालिकाले यस वर्षको धान दिवस तुलसीपुर–८ को मालबुङमा मनाएको छ । २२ औं राष्ट्रिय धान दिवसको उद्घाटन नगर प्रमुख टीकाराम खड्काले वैदिक परम्परा अनुसार पूजाआराधनापश्चात् धान रोपेर गरेका थिए ।
कार्यक्रममा बोल्दै नगर प्रमुख खड्काले पेट पाल्नका लागि मात्रै खेती नगरेर अरूलाई पनि बेच्नका लागि धान उत्पादन गर्नुपर्ने बताए । परम्परागत कृषि प्रणालीबाट अलि माथि उठेर पर्याप्त मात्रामा धान उत्पादन गर्ने सामथ्र्यको विकास गर्नुपर्ने बेला आएको नगर प्रमुख खड्काको भनाइ थियो ।
‘कृषि प्रणालीलाई आधुनिकीकरण गर्नुपर्छ, कसरी बढी उत्पादन गर्न सकिन्छ भन्नेतर्फ अग्रसर हुनपर्छ’, खड्काले भने । बाह्रैमहिना आटो, रोटी खान नसक्ने भएकाले मुख्य बाली मानिने धान खेतीलाई राष्ट्रिय दिवसका रूपमा मनाउने गरिएको उनको भनाइ थियो । धान दिवस मनाइएको खेतमा सिँचाइ हुने कुलाको बाँधसमेत बाढीले बगाएकाले निर्माणका लागि आवश्यक पर्ने बजेटको व्यवस्था गर्ने प्रमुख खड्काले प्रतिबद्धता जनाए ।
आर्थिक समितिका सदस्य हुमाकान्त सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बोल्ने वक्ताहरूले धान मुख्यबाली भएकाले यसको उत्पादनका लागि सिँचाइ, मल, बिउलगायतको पर्याप्त व्यवस्थापन हुनुपर्ने बताएका थिए । तुलसीपुर–८ का वडाध्यक्ष धर्मराज वलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कृषि विकास शाखा प्रमुख कुलराज चौधरीले गरेका थिए । तुलसीपुर उपमहानगरपालिका–८ एकता टोल निवासी हेमा डाँगीको चार कट्ठा खेतमा धान दिवस मनाइएको थियो ।
यसैबिच असार १५ सम्म तुलसीपुर क्षेत्रमा पर्याप्त मात्रामा धान रोपाइँ हुन सकेको छैन । यस वर्ष समयमै वर्षात नहुँदा धान खेती हुन नसकेको किसना बताउँछन् । सिँचाइ कुलामा पर्याप्त मात्रामा पानी नभएको, वर्षात पनि नभएपछि धान रोपाइँ हुन नसकेको किसान बताउँछन् ।
‘खोलामा पानी छैन, यो वर्ष पर्याप्त मात्रामा वर्षात हुन सकेको छैन’, किसान मालती बोहराले भनिन् । खेतमा धानको बिउ रोप्ने भए पनि खेतमा पानी नहुँदा रोपाइँ हुन नसेको उनको भनाइ छ । असार १५ अर्थात् धान दिवसका दिन भने पानी परेकाले किसानलाई राहत मिलेको छ ।
दंगीशरणमा धान दिवस मनाइयो
‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भरता’ भन्ने मुल नाराका साथ दंगीशरण गाउँपालिकाले २२ औँ राष्ट्रिय धान दिवस मनाएको छ । दंगीशरण गाउँपालिका कृषि विकास शाखा कार्यालय हेकुलीको आयोजना तथा हिमाल कृषक समूह दंगीशरण–६ को समन्वयमा वडा नं. ६ को नयाँ बस्तीमा खेतमा पुगी रोपाइँ गरेर धान दिवस मनाएको हो । गाउँपालिका अध्यक्ष शम्भु गिरीसहित गाउँपालिकाका विभिन्न शाखाका कर्मचारी, किसान तथा कृषि अगुवाहरूको उपस्थितिमा धान रोपी दिवस मनाइएको हो ।
२२ औँ राष्ट्रिय धान दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले राष्ट्रिय समस्याको रूपमा रहेको रासायनिक मलको अभावका बेला अब पनि रासायनिक मलकै भरमा परिरहन नहुने बताए । आफूहरू प्राङ्गारिक तथा जैविक मललाई बढावा दिन नीति तथा कार्यक्रममै समेटी केही बजेट समेत विनियोजन गरिसकेकाले एउटा जैविक मल उद्योगको स्थापना गर्ने सोचका साथ अगाडि बढेको बताए ।
अध्यक्ष गिरीले मल बिउबिजनमा आत्मनिर्भर नहुँदासम्म कृषिमा गरेको लगानीले सार्थकता पाउन नसक्ने बताए । सोही अवसरमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीले किसानको महान पर्व तथा मानो खाएर मुरी उब्जाउने समय भएकाले प्रत्येक वर्ष धान दिवस मनाउँदै आएको बताए ।
कार्यक्रममा कृषि सञ्जाल दंगीशरणका अध्यक्ष रविन्द्र चौधरी, वडा नं. ६ का वडा सदस्य कान्छुराम चौधरीलगायतले आ–आफ्नो भनाइ राखेका थिए । २२ औँ राष्ट्रिय धान दिवस कार्यक्रम हिमाल समूहका अध्यक्ष दलबहादुर बुढाथोकीको अध्यक्षता दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीको प्रमुख आतिथ्यता तथा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपालीको विशिट आतिथ्यतामा भएको थियो ।