निर्वाचनका मुखमा राप्ती गुरूयोजनाको जाल
अमरराज आचार्य
दाङ, २३ कार्तिक । उपनिर्वाचनका मुखमा आएर फेरि राप्ती गुरुयोजनाको जाल फाल्न शुरु गरिएको छ । राप्ती नदीको गुरूयोजना निर्माण गर्न थालिएको छ ।
संघीय सरकार अन्तर्गत रहेको जल तथा उर्जा अयोगले उक्त गुरुयोजना निर्माण गर्न थालेको हो । यसका लागि अहिले विज्ञ टोलीले प्रारभिक अध्ययन समेत सकेको जनाएको छ । जल तथा उर्जा आयोगले घोराहीमा आयोजना गरेको राप्ती नदीको बेसिन योजना तर्जुमासम्वन्धी छलफल कार्यक्रममा यस्तो जानकारी दिएको हो ।
यसअघि पनि निर्वाचनकै बेला यस्ता महत्वाकांक्षी योजनाहरु सार्वजनिक गरिए पनि प्रक्रियागतरुपमा भने कुनै योजना अघि बढेका छैनन् । विज्ञ टोलीले राप्ती नदीको जलाधार क्षेत्रको जलाधार विकास, गुरुयोजना र जलविद्युत गुरुयोजना तयार गर्ने परामर्शदाता डा.गुणनिधि पौडेलले जानकारी दिए । उनका अनुसार नदीको रणनीति, वातावरणीय र सामाजिक अध्ययन प्रतिवेदन तयार गरिने छ ।
त्यसैगरेर सम्बन्धित निकायहरुको क्षमता अभिवृद्धि गर्ने र सबै अध्ययन एकीकृत जलस्रोत विकासको सिद्धान्तअनुसार गरिने जनाकारी दिए । पछिल्लो पिढीलाई ध्यान दिएर काम गरिने उनको भनाइ रहेको छ । यसरी अध्ययन गर्दा पछिल्लो प्रविधिको प्रयोग गरेर अगाडि बढिने भएको छ ।
बिज्ञ टोली तथा नेपाल सरकारका पूर्व सचिव शितलबावु रेग्मीले राप्ती नदीको पानीको व्यवस्थापन गरेर खानेपानी, सिचाइ तथा विद्युत उत्पादनका लागि समेत प्रयोग गर्ने सकिने बताए । यसको व्यवस्थापन गर्न सकिएमा नेपालमै ४५ प्रतिशत र भारतमा ५५ प्रतिशत पानी दिन सकिने उनको भनाइ रहेको छ ।
सिचाइका लागि रोल्पाको घोडागाउँबाट सुरुङ मार्गबाट दाङमा ल्याउन सकिने बताए । त्यसैगरेर भालुवाङमा ड्याम निर्माण गरेर सिचाइका लागि पानी लैजान सकिने समेत बताए । यसरी लैजादा देउखुरीमा सञ्चालन रहेका प्रगन्ना तथा वड्कापथ आयोजनालाई असर नपुग्ने बताए ।
त्यसैगरेर बाँकेमा रहेको सिक्टा आयोजनालाई पनि असर नपुग्ने बताए । नदीमा माथिल्लो भागभन्दा तल्लो भागमा पानी बढी रहेको रेग्मीले बताए । राप्ती नदीको नौमुरेमा विद्युत उत्पादन गर्न सकिने समेत बताए । नौमुरेमा
विद्युत उत्पादन गर्न लामो समयदेखि चर्चा भइरहे पनि काम भने शुरु हुन सकेको छैन । राप्ती नदीको विभिन्न ११ स्थानमा विद्युत उत्पादन गर्न सकिने सम्भावना रहेको अध्ययनमा देखिएको छ । ‘अध्ययनमा धेरै स्थानमा देखिए पनि एकले अर्कोलाई असर गर्ने देखिन्छ’, रेग्मीले भने । विद्युत उत्पादनका लागि तल्लो क्षेत्रभन्दा माथिल्लो स्थान उपयुक्त हुने उनको भनाइ रहेको छ । राप्ती नदीमा सबैभन्दा कम कार्तिक महिनामा ७.७ मिलिलिटर प्रतिसेकेण्डमा रहेको रेग्मीको भनाइ रहेको छ ।
त्यसैगरेर सबैभन्दा बढी साउन महिनामा ४ सय २९ मिलिटिर प्रतिसेकेण्डमा हुने गरेको अध्ययनले देखाएको छ । पानीको कमी हुने समय पुस महिनादेखि जेष्ठ महिनामा हुने गरेको छ । यस समयमा ड्यामबाट पानीको व्यवस्थापन गर्न सकिने रेग्मीले बताए । राप्ती नदी मुहानदेखि अन्त्यसम्म गरी ३ सय ४० किलोमिटर रहेको उनको भनाइ रहेको छ । यसको व्यवस्थापन गर्न सकेमा यसक्षेत्रको खानेपानी तथा सिचाईका लागि समस्या नहुने समेत बताए । यस प्रकारको आयोजना सरकार आफैले निर्माण गरिनुपर्ने उनको भनाइ रहेको छ ।
कार्यक्रममा बोल्दै उर्जा तथा जल स्रोतमन्त्री वर्षमान पुनले यस क्षेत्रको विकासका लागि यस प्रकारको आयोजनाले महत्वपूर्ण सहयोग पु¥याउने बताए । ‘यो आयोजना छिटो गर्न सकिने आयोजना पनि रहेको छ’, मन्त्री पुनले भने । सबैलाई पानीले पुग्ने समेत अध्ययनले देखाएको उनको भनाइ छ । यसले गर्दा पनि आयोजना सञ्चालन गर्नका लागि समस्या नपर्ने समेत बताए ।
पानीको प्रयोगसँगै संरक्षणमा पनि ध्यान दिनुपर्ने मन्त्री पुनको भनाइ रहेको छ । ‘पानीको प्रयोग मात्र गर्ने संरक्षण नगर्दा समस्या पर्नेछ’, मन्त्री पुनले भने । स्रोतको बाँडफाँडमा स्थानीय तह, प्रदेश सरकार र संघीय सरकार समन्वय गरेर अगाडि बढ्नुपर्ने समेत बताए । यसका लागि आफूले पहल समेत गर्दै आएको बताए ।
प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रलेले यो आयोजना प्राथमिकतामा परेको आयोजना रहेको बताए । यसको गुरुयोजना निर्माण गरेर छिटो निर्माणतर्फ लाग्नुपर्ने उनको भनाइ रहेको छ । पानीको मुहान संरक्षणका
लागि खहरे खोलामा ड्याम तथा कृतिम जलाशयलाई प्राथमिकता दिनुपर्ने बताए । यसो गर्न सकेमा पानीका लागि समस्या नपर्ने उनको भनाइ छ । उनले जिल्लामा रहेको बबई नदीको पनि गुरुयोजना निर्माण गरेर अगाडि बढ्न आवश्यक रहेको बताए ।
कार्यक्रममा बोल्दै खानेपानी मन्त्रालयका सचिव माधव बेलवासेले राप्ती विकास प्राधिकरण गठन गरेर अगाडि बढ्न जरुरी रहेको बताए । कार्यक्रम मन्त्रालयका सचिव डा. रमेशप्रसाद सिंहको अध्यक्षतामा भएको थियो ।
आचारसंहिता विपरीतः निर्वाचन अधिकृत
यसैबीच मुख्य निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन प्रक्रिया शुरु भइसकेको अवस्थामा कुनै पनि आयोजना उद्घाटन, शिलान्यास, अनावरण, लगायतका कार्यक्रम आचारसंहिताविपरीत भएको बताएका छन् ।
उर्जामन्त्री बर्षमान पुनले झिङ्नीमा रहेको सवस्टेशन उद्घाटन गरेको घटनालाई आचारसंहिताविपरीत भएको मुख्यनिर्वाचन अधिकृत रितेन्द्र थापाले बताए । आफूले विद्युत कार्यालयलाई यस्तो
कार्यक्रम नराख्न आग्रह गरेको समेत बताए ।