लुम्बिनीको राजस्व, ११ महिनामा लक्ष्यको ३६.८५ प्रतिशत

अमरराज आचार्य
दाङ, १४ असार । लुम्बिनी प्रदेशले चालु आर्थिक वर्ष २०८१÷८२ मा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न असफल देखिएको छ ।

प्रदेशमा ११ महिनाको अवधिमा लक्ष्यको ३६ दशमलव ८५ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको छ । चालु आर्थिक वर्षको जेठ मसान्तसम्ममा वार्षिक लक्ष्यको ३६ दशमलव ८५ प्रतिशत आन्तरिक राजस्व सङ्कलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयकाका बरिष्ठ लेखा नियन्त्रक तथा सूचना अधिकारी रविन्द्र अर्यालले जानकारी दिए ।

प्रदेशमा ११ महिनाको अवधिमा एक अर्ब ७३ करोड ६६ लाख ११ हजार चार सय २४ रुपैयाँ आन्तरिक राजस्व सङ्कलन भएको छ । जुन रकम राजस्व मात्र नभई बेरुजु, निकासा र अनुदान फिर्ताको रकम रहेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

बेरुजु, निकासा र अनुदान फिर्ताको रकमलाइ वास्तविक आम्दानी मान्न नसकिने आर्थिक क्षेत्रका जानकार बताउँछन् । वार्षिक लक्ष्य चार अर्ब ७१ करोड २० लाख ८३ हजार रुपैयाँ रहेको छ । यो अवस्थाले वार्षिक लक्ष्य हासिल गर्न नसक्ने अवस्था देखिन्छ । चालु आर्थिक वर्ष सकिन करिब आधा महिना मात्र बाँकी छ ।

वार्षिक लक्ष्य हालिस गर्न नसके आन्तरिक स्रोतमार्फत् सञ्चालन गरिने आयोजना तथा कार्यक्रममा प्रभाव गर्ने गर्छ । वन क्षेत्र, व्यवसाय रजिस्ट्रेसन सेवा बिक्रीबाट धेरै राजस्व उठाउने लक्ष्य लिएको थियो तर लक्ष्य अनुसार राजस्व सङ्कलन हुन सकेन ।

कार्यालयका अनुसार कृषि आयमा लाग्ने करबाट पाँच हजार चार सय ८० रुपैया सङ्कलन भएको छ । जुन लक्ष्यको शून्य दशमलव शून्य एक प्रतिशत हो । सरकारी सम्पत्तिको बहालबाट ११ लाख ६७ हजार आठ सय ५९ रुपैयाँ आम्दानी भएको छ भने यो लक्ष्यको १४ दशमलव ९१ प्रतिशत हो ।

अन्य स्रोतबाट बाँडफाँट नहुने रोयल्टी २३ लाख ९७ हजार सात सय २९ रुपैयाँ सङ्कलन भएको छ । यसैगरी कृषि उत्पादनको बिक्रीबाट प्राप्त एक करोड ५० लाख ७८ हजार दुई सय ९२ रुपैयाँ ३३ पैसा सङ्कलि रकम लक्ष्यको ३२ दशमलव शून्य नौ प्रतिशत हो ।

सरकारी सम्पत्ति बिक्रीबाट प्राप्त दुई लाख ४७ हजार नौ सय ४५ रुपैयाँ सङ्कलित रकम लक्ष्यको नौ दशमलव ५० प्रतिशत हो । अन्य बिक्रीबाट सात सय १३ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको दुई दशमलव ७४ प्रतिशत हो । नहर तथा कुलो उपभोगबापतको शुल्क १६ हजार तीन सय रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको १५ दशमलव ९८ प्रतिशत हो । अन्य सेवा शुल्क तथा बिक्रीबाट ७२ हजार दुई सय रुपैयाँ सङ्कलन भएको रकम लक्ष्यको सात दशमलव ९० प्रतिशत हो ।

यसैगरी शिक्षा क्षेत्रको आम्दानीबाट ९८ हजार दुई सय रुपैयाँ सङ्कलन भएको रकम लक्ष्यको १२ दशमलव ५५ प्रतिशत हो । परीक्षा शुल्कबाट सङ्कलित तीन करोड ३३ लाख १५ हजार एक सय ८४ रुपैयाँ ५६ पैसा लक्ष्यको १० दशमलव २८ प्रतिशत हो ।

यसैगरी यातायात क्षेत्रबाट भएको आम्दानी २१ करोड १५ लाख ६४ हजार २२ रुपैयाँ लक्ष्यको ५४ दशमलव शून्य दुई प्रतिशत सङ्कलन भएको छ । अन्य प्रशासनिक सेवा शुल्क छ करोड ८८ लाख ८८ हजार चार सय १३ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको ४५ दशमलव १० प्रतिशत हो ।

व्यावसायिक रजिस्ट्रेसन दस्तुरबाट सात करोड ३४ लाख ७३ हजार आठ सय ३७ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको २९ दशमलव ६२ प्रतिशत हो । रेडियो एफएम सञ्चालन दस्तुर २० हजार राजस्व सङ्कलन भएको छ । टेलिभिजन सञ्चालन दस्तुर एक लाख ६० हजार रुपैयाँ सङ्कलन गरिएको छ । जुन लक्ष्यको १८ दशमलव ६९ प्रतिशत हो ।

यसैगरी चालक अनुमतिपत्र सवारीबाट ७३ करोड ३६ लाख २९ हजार एक सय ८० रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको ३७ दशमलव ५८ प्रतिशत हो ।

वन क्षेत्रको आय ३६ करोड २३ लाख ५० हजार ८९ रुपैयाँ २३ पैसा सङ्कलन भएको छ । जुन लक्ष्यको २७ दशमलव २० प्रतिशत हो । न्यायिक दण्ड जरिवाना र जफतबाट एक लाख ८३ हजार नौ सय ६२ रुपैयाँ सङ्कलन भएको छ । जुन लक्ष्यको १८ दशमलव ७७ प्रतिशत हो ।

यसैगरी प्रशासनिक दण्ड जरिवाना र जफतबाट दुई करोड २० लाख ७७ हजार छ सय ९४ रुपैयाँ ५५ पैसा सङ्कलन गरिएको छ । जुन लक्ष्यको ३५ दशमलव ३१ प्रतिशत हो । धरौटीबाट ५५ लाख ५९ हजार पाँच सय पाँच रुपैयाँ २३ पैसा सङ्कलन गरिएको छ । जुन लक्ष्यको ९३ दशमलव शून्य नौ प्रतिशत हो ।

अन्य राजस्वबाट एक करोड ९० लाख ५७ हजार नौ सय ८९ रुपैयाँ सङ्कलन गरिएको छ । जुन लक्ष्यको ६७४ दशमलव ८६ प्रतिशत हो । बेरुजुबाट सात करोड आठ लाख ७७ हजार ३९ रुपैयाँ ४० पैसा सङ्कलन गरिएको छ । जुन लक्ष्यको ४० दशमलव ८२ प्रतिशत हो । यसैगरी निकासा फिर्ताबाट ९ करोड ४३ लाख २१ हजार चार सय ११ रुपैयाँ सङ्कलन भएको छ ।

अनुदान फिर्ताबाट दुई करोड १८ लाख ४८ हजार तीन सय २७ रुपैया राजस्व सङ्कलन भएको छ । समपुरक अनुदान फिर्ता दुइ लाख रुपैयाँ सङ्कलन भएको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।