दाङ, १० असार । नेपाल संस्कृत विश्वविद्यालय (नेसंवि) अनुसन्धान केन्द्रले यही असार १४ गतेदेखि तुलसीपुरमा तीन दिने अन्तर्राष्ट्रिय शोध संगोष्ठी आयोजना गर्न लागेको छ ।
पौरस्त्य ज्ञान परम्परामा महत्वपूर्ण रुपमा रहेको अनुसन्धानको मौलिक पद्धतिको खोजी गर्ने र उक्त ज्ञाणलाई नेसंविका साथै नेपाल र भारतका विभिन्न विश्वविद्यालयमा गरिने शोधकार्यका लागि मानक बनाउने उद्देश्यका साथ उक्त गोष्ठी आयोजना गर्न लागिएको नेसंवि अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक प्रा डा सुधन पौडेलले बताए ।
संस्कृतमा अध्ययन अनुसन्धानको परम्परा भए पनि शोधको मानक पद्धतिको विकास हुन नसक्दा देवनागरी लिपिसँग सम्बन्धित शोधकार्यमा संलग्न शैक्षिक संस्था र शोधार्थीहरुले शोधलेखनका क्रममा विभिन्न समस्या झेल्दै आएका छन् । यससँग सम्बन्धित विभिन्न समस्याहरुको पहिचान गरी शोधकार्यलाई व्यवस्थित र एकरुप तुल्याउन उक्त गोष्ठीबाट सहयोग प्राप्त हुने अपेक्षा गरिएको उनले बताए ।
उक्त गोष्ठीको उद्घाटन विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्रा।डा। देवराज अधिकारीले गर्ने छन् । गोष्ठीमा प्राचीन एवम् आधुनिक शोधपद्धतिसँग सम्बन्धित विभिन्न विषयका बाह्रवटा कार्यपत्र प्रस्तुत गरिने छ । उक्त गोष्ठीमा नेसंवि, पोखरा, मध्यपश्चिम, लुम्बिनी बौद्ध र लुम्बिनी प्राविधिक विश्वविद्यालय एवम् राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिहरुलगायत तुल्सीपुर र घोराही उपमहानगरपालिकाका प्रमुखहरुको सहभागिता रहनेछ ।
गोष्ठीमा नेपालका विभिन्न क्षेत्रबाट झन्डै ७० जना शोध अनुसन्धानका क्षेत्रमा क्रियाशील व्यक्तिहरु सहभागी हुनेछन् । उक्त गोष्ठीमा भारतका सम्पूर्णानन्द संस्कृत विश्वविद्यालय वाराणसी, महात्मा गान्धी केन्द्रीय विश्वविद्यालय मोतीहारी विहार, लखनऊ विश्वविद्यालय लखनऊ, उत्तरबंग विश्वविद्यालय सिलगढी, नालन्दा विश्वविद्यालय विहार, सिद्धार्थ विश्वविद्यालय उत्तरप्रदेश, डा। भीमराव अम्बेडकर विश्वविद्यालय आगरा र जयपुर राष्ट्रिय विश्वविद्यालयका प्राध्यापक एवम् शोधार्थीहरु सहभागी हुनेछन् ।