दुखहरण यादव
गढवा, ८ असार । ‘एक पृथ्वी, एक स्वास्थ्य’ भन्ने नाराका साथ ११औँ अन्तर्राष्ट्रिय योग दिवसको मनाइएको छ । वीपी विचार राष्ट्रिय समाज दाङको आयोजनामा योग दिवस मनाइएको हो ।
समाजका अध्यक्ष रुपलाल बस्नेतको सभापतित्व तथा नेपाली कांग्रेस दाङ क्षेत्र नं. १ का सभापति भेषराज पाण्डेयको प्रमुख आथित्यमा भएको कार्यक्रममा बोल्ने वक्ताले योग दिवसको महत्वमाथि चर्चा गरेका थिए । प्रमुख अतिथि पाण्डेयले शरीर र मनको सन्तुलन कायम राख्नको लागि योगको आवश्यकता रहेको बताए ।
आधुनिक जीवनशैलीमा बढ्दो तनाव, रोग र असन्तुलनलाई समाधान गर्न योगको महत्वपूर्ण भूमिका रहने भन्दै पाण्डेयले योगमा जोडिन नागरिकलाई आग्रह गरेका थिए । कार्यक्रममा लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले योगको शारीरिक अभ्यास मात्र नभएर मानसिक रूपमा स्वस्थ्य राख्न सहयोग गर्ने बताए ।
कार्यक्रममा वडा प्रहरी कार्यालय लमहिका प्रमुख रोशनराज पाण्डे, पतञ्जली महिला योग समिति दाङकी सहाना श्रेष्ठ, लमही पतञ्जली योगसमितिका अध्यक्ष पुष्पा भट्टराई, गोरखा बोर्डिङ स्कुलका यमप्रकाश डाँगी, कमल अधिकारी, आदर्श मावि देउपुरका कुलराज पौडेल,गढवा पतन्जली योग समितिकि शिवा वलीलगायतको सहभागीता रहेको थियो ।
लमही योग समितिका अध्यक्ष भेषराज भट्टराईको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक महासंघ लमहीका अध्यक्ष मनिराम केसीले गरेका थिए । दुई दिनसम्म चलेको योग जागरणमा सहजीकरण योग गुरु सहाना श्रेष्ठले गरेकी थिइन् ।