प्रिया स्मृती गजमेर
देउखुरी, ९ असार । राजपुर गाउँपालिका–३ खरदरिया निवासी ४० वर्षीया तारावती यादवलाई यही असार ६ गते राति करिब ८ बजेको समयमा घरमा बसिरहेको समयमा सर्पले डस्यो । सर्पले डसेपछि यादवलाई घरपरिवारले हतारहतार उपचारका लागि गढवास्थित सर्पदंश उपचार केन्द्र पु¥याए ।
त्यहाँ बिरामीलाई चाहिने एन्टिभेनम खोपको पहिलो डोज दिइयो तर दोस्रो डोज दिनलाई खोप थिएन । जसले गर्दा बिरामीलाई गढवाबाट लमही अस्पताल रिफर गर्नुपरेको थियो । लमही अस्पताल पुग्दासम्म यादवको अवस्था गम्भीर भइसकेको थियो । बिरामीको अवस्था गम्भीर भएर आइसियुमा राखेर उपचार गर्नुपर्ने भएपछि लमही अस्पतालले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजान सल्लाह दियो । परिवारका सदस्यले एम्बुलेन्समार्फत् बिरामीलाई राति नै घोराहीस्थित प्रतिष्ठानमा ल्याइपुु¥याए तर बिरामीलाई बचाउन सकेनन् ।
असार ७ गते गढवाकै अर्का एक व्यक्तिलाई सर्पले डस्यो । उपचारका लागि संर्पदश उपचार केन्द्रमा सम्पर्क गरे तर त्यहाँ एन्टिभेनम खोप नहुँदा बिरामीलाई कपिलबस्तुको गोरुसिंगेमा रहेको सर्पदंश उपचार केन्द्रमा पठाउनु परेको स्थानीयले बताए । वर्षायाम सुरु भएसँगै पछिल्लो समय जिल्लामा सर्पदंशका बिरामीको संख्या दिनदिनै बढ्दै गएको छ तर सर्पदंशका कारण बिरामीको उपचारका लागि आवश्यक पर्ने एन्टिभेनम खोप नहुँदा बिरामी समस्यामा पर्ने गरेका छन् ।
सर्पदंश उपचार केन्द्रमा उपचारका लागि आवश्यक पर्ने एन्टिभेनम खोप नहुँदा समस्या भएको उपचार केन्द्रका प्रमुख रामकुमार यादव बताउँछन् । एन्टिभेनम खोपको अभाव भइरहेको अवस्थामा आइतवार आफै बुटवल पुगेर केही दिन पुग्ने खोप लिएर आएको प्रमुख यादव बताए । सर्पदंशका बिरामीलाई उपचारका लागि आवश्यक पर्ने एन्टिभेनम खोप नहुँदा शनिवार मात्र दुईजनालाई उपचारका लागि कपिलबस्तुको गोरुसिंगे पठाउनु परेको थियो ।
सर्पदंश उपचार केन्द्रसँगै लमही अस्पतालमा समेत खोपको अभाव रहेको छ । अस्पतालका डा. सुदीप चौधरीका अनुसार देउखुरी क्षेत्रका विभिन्न स्थानबाट सर्पदंशका गम्भीर बिरामी आइरहेका छन् तर एन्टिभेनम खोप नहुँदा बिरामीलाई बाहिर पठाउनुपर्ने बाध्यता भएको बताए ।
लमही अस्पतालका अनुसार वैशाखदेखि असारसम्म ३५ जना सर्पदंशका बिरामीले अस्पतालमा उपचार लिएका छन् । सर्पदंश उपचारसम्बन्धी तालिम लिएका दक्ष स्वास्थ्यकर्मी छन् तर एन्टिभेनम खोपको अभावका कारण उपचारमा समस्या भएको डा चौधरी बताए ।
लमही अस्पतालका प्रशासन प्रमुख हरि खनालका अनुसार अस्पतालमा अहिले दुईजनालाई पुग्ने मात्र खोप स्टक मात्रामा छ । बिरामीको संख्या बढेको अवस्थामा रिफर गर्नुको विकल्प नभएको बताए । २०७७ सालदेखि सञ्चालनमा आएको गढवा सर्पदंश उपचार केन्द्रमा नेपाली सेनाका तीनजना स्वास्थ्य प्राविधिकसहित पालिकाले दुईजना अहेव खटाएको छ ।
प्रदेशभरकै समस्या
लुम्बिनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निमित्त प्रमुख राजेन्द्रकुमार गिरीका अनुसार एन्टिभेनम खोप हाल लुम्बिनी प्रदेशभर नै अभावमा छ । अस्पतालले माग गरेअनुसार खोप व्यवस्थापन गर्न नसकेको प्रमुख गिरीले बताए । लुम्बिनी प्रदेशका अस्पताल तथा सर्पदंश उपचार केन्द्रमा बिरामीका लागि चाहिने एन्टिभेनम खोप अभावको बारेमा जानकारी गराएको र केन्द्रबाट आए सबै ठाउँमा पठाउने बताउँछन् । उनका अनुसार मागअनुसार एन्टिभेनम खोप तुलसीपुर अस्पताललाई ५०, घोराहीलाई १००, लमहीलाई ५० र गढवा केन्द्रलाई ५० भाइल उपलब्ध गराइएको छ ।
सर्पदंशको उच्च जोखिम तराईमै
नेपालको तराई तथा भित्री मधेसका क्षेत्रमा वैशाखदेखि असोजसम्मको ६ महिनालाई सर्पदंशको उच्च जोखिम अवधि मानिन्छ । कोब्रा, करेतजस्ता अत्यन्त विषालु सर्प पाइने यी क्षेत्रमा सर्पदंशजन्य मृत्युदर पनि उच्च छ । कतिपय अवस्थामा विषालु सर्पले टोकेको हो वा होइन भनेर समयमै पहिचान नहुँदा समेत ज्यान गुमाउने अवस्था आउने चिकित्सक बताउँछन् ।