प्रमोद आचार्य
दंगीशरण, ९ असार । दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक नीति तथा कार्यक्रम ल्याएको छ । आइतवार बसेको गाउँसभाको १९औँ अधिवेशनको पहिलो बैठकमा दंगीशरण गाउँपालिका अध्यक्ष शम्भु गिरीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन रोजगारलगायतका विषयलाई प्राथमिकतामा राखेको नीति कार्यक्रम प्रस्तुत गरेका हुन् ।
नीति तथा कार्यक्रममा बस्तीस्तरबाट उठेका माग र आवश्यकताका आधारमा तयार गरिएको भन्दै अध्यक्ष गिरीले कम लागतमा कृषि, स्वास्थ्य, शिक्षा र पर्यटन क्षेत्रको विकास गर्दै रोजगारी सिर्जना गर्नेदेखि उत्पादन वृद्धि गर्ने योजना रहेका छन् । गाउँपालिकाले आम्दानीको मुख्य स्रोत पशुपन्छी व्यवसायलाई आधुनिकीकरण गर्ने व्यापक योजना अगाडि सारेको छ ।
मासु, दुग्ध उत्पादन प्रवर्धनका लागि पशु नस्ल सुधार कार्यक्रमलाई व्यवस्थित गरी कृत्रिम गर्भाधानलाई सहज र सर्वसुलभ बनाइने छ । दाङको पहिचानका रूपमा रहेको बधिया भाले उत्पादन प्रवर्धनका लागि कुखुराको वन्ध्याकरण निःशुल्क गरिने उल्लेख गरेको छ । उन्नत जातका बोका, राँगा, बङ्गुर, कुखुरा, हाँसको वितरण गरी किसानलाई पशुपालन व्यवसायतर्फ आकर्षित गरिने बैठकमा जानकारी गराएका थिए ।
त्यसैगरी कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने योजनाअनुसार रासायनिक मलको प्रयोग घटाउन प्रदेश सरकारसँगको साझेदारीमा जैविक मल तथा विषादी उत्पादनको लागि मल खाद्य उद्योग स्थापना गरिने, चालु आर्थिक वर्षमा सफल भएको नमुना बगर खेतीको अनुभवलाई किसानसँग साझा गर्दै थप विकास र विस्तार गरिने, उन्नत बिउ उत्पादन, भण्डारण र वितरणका लागि किसानलाई अनुदान उपलब्ध गराउनेदेखि अदुवा, बेसार, लसुन, प्याज जस्ता मसलाजन्य वस्तुको सामूहिक उत्पादनलाई प्रोत्साहन गरिने नीति कार्यक्रम सार्वजनिक गरेका हुन् ।
‘शिक्षित नागरिक, सभ्य दंगीशरणबासी’ भन्ने लक्ष्यअनुसार शैक्षिक क्षेत्रमा व्यापक सुधारका लागि स्मार्ट विद्यालयको अवधारणाअनुसार नमुना विद्यालयबाट डिजिटल विद्यालय र स्मार्ट कक्षाको परीक्षण गरी क्रमश सबै विद्यालयमा विस्तार गरिने, गाउँपालिकाको आफ्नै स्थानीय पाठ्यक्रम निर्माण गरी थारू भाषामा पनि शिक्षा प्रदान गरिने, अपाङ्ग र विपन्न बालबालिकालाई पोशाक, पाठ्यपुस्तक र शैक्षिक सामग्री निःशुल्क उपलब्ध गराइने छ ।
दंगीशरणको गौरवको रूपमा रहेको दंगीशरण आधारभूत अस्पताललाई पूर्ण क्षमतामा सञ्चालन गर्न सङ्घीय सरकारसँगको सहकार्यमा विशेषज्ञ सेवा उपलब्ध गराइने छ । ‘उज्यालो आँखा कार्यक्रम’, ‘सुत्केरी पोषण प्रोत्साहन’,‘दंगीशरण स्वास्थ्य सुधार कार्यक्रम’ र ‘छोरी सम्मान कार्यक्रम’ जस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिँदै अति गरिब, असहाय, गर्भवती र ज्येष्ठ नागरिकलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने छ ।
दंगीशरणको सांस्कृतिक पहिचान दिने थारू जातिको संस्कृतिको संरक्षण र प्रवर्धनमार्फत् पर्यटन विकासलाई विशेष प्राथमिकता दिइएको छ । रानीवन पार्क, चखौरा थारू सांस्कृतिक संग्रहालय, शिवपुरी धार्मिक तथा पर्यटकीय क्षेत्र, बागेचिरा जलाशय जस्ता स्थानमा आकर्षक पर्यटकीय पूर्वाधार विकास गरिने छ । बबई नदीमा जल पर्यटकीय क्षेत्रको विकासका लागि सम्भाव्यता अध्ययन गरी निजी क्षेत्रसँग साझेदारी गरिने छ ।
थारू संस्कृतिमा आधारित होमस्टे, पाहुना घर, कोसेली घर, संग्रहालय तथा पार्कको विकास र विस्तार गरिने छ । बढ्दो बेरोजगारीको समस्या समाधानका लागि राष्ट्रिय रोजगार कार्यक्रमसँग समन्वय गरी युवा स्वरोजगार कार्यक्रमलाई निरन्तरता दिइने छ । वैदेशिक रोजगारीबाट फर्केका युवाको सिपलाई उपयोग गरी आर्थिक उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमलाई अघि सारेको छ ।
वातावरण संरक्षणका लागि सबै सरकारी कार्यक्रममा प्लास्टिकबाट बनेका प्लेट, कप, कचौराको प्रयोग प्रतिबन्ध गरी स्थानीय दुना, टपरी र प्लेटको प्रयोग गरिनुका साथै गाउँपालिकालाई उज्यालो बनाउन वैकल्पिक तथा नविकरणीय ऊर्जाको माध्यमबाट चौक, सार्वजनिक स्थल र बजार क्षेत्रमा सौर्य ऊर्जाबाट चल्ने सडक बत्ती जडान गरिने छ ।
आगामी आर्थिक वर्षमा दंगीशरण गाउँपालिकालाई जातीय छुवाछुत मुक्त गाउँपालिका घोषणा गरिने छ । २०८३÷०८४ सम्ममा बालमैत्री गाउँपालिका घोषणा गर्ने महत्वाकांक्षी लक्ष्य राखिएको छ । दलित जातिको परम्परागत पेसासँग सम्बन्धित उद्योग वा व्यवसाय सञ्चालन गर्दा लाग्ने व्यवसाय दर्ता शुल्क निःशुल्क गरी कर छुट दिने व्यवस्था गरिने छ ।
सडक र यातायातको क्षेत्रमा विकास गर्नका लागि सङ्घीय सरकारको अनुदानमा बागर, थपगाउँ, दामोदर सडक र जुरपनिया, मौली, नन्द्रागाउँ सडकलाई कालोपत्रे र प्रदेश सरकारसँगको सहकार्यमा बालुवादेखि हेकुली चौक हुँदै चिरेगार खोला सडक र सिम्ठाना, सिम्ठानी, थपगाउँ, राजपुर, लेटार, धरमपुर हुँदै बुटनिया सडकलगायतका सडकको स्तरोन्नतिको कार्यलाई अघि बढाइने छ ।
यसैबिच गाउँपालिकाको १९ औं गाउँसभामा कर्मचारी तथा शिक्षकहरु पुरस्कृत भएका छन् । कर्मचारी तथा शिक्षकको कार्यसम्पादन, लगनशीलता तथा सेवा प्रवाहलाई आधार मानेर कर्मचारी तथा शिक्षकलाई पुरस्कृत गरिएको हो । गाउँपालिकामा कार्यरत प्रशासन सहायक देवबहादुर डाँगी, आधारभूत स्वास्थ्य केन्द्र रामपुरका प्रमुख दामोदर शर्मा, शिक्षकतर्फ मावि मधपुरका प्रधानाध्यापक विमला कडेल, विरेन्द्र नमुना मावि हेकुलीका अंग्रेजी शिक्षक हेमन्त अधिकारी, गाउँपालिका कृषि विकास शाखा प्रमुख सरु भुषाल, कार्यालय सहयोगी राजेन्द्र चौधरीलगायतलाई २५ हजार नगद, दोसल्ला र सम्मानपत्रसहित सम्मान गरिएको हो ।