तुलसीपुरको नीति तथा कार्यक्रम : शिक्षा, स्वास्थ्य र कृषि प्राथमिकतामा

गोरक्ष समाचारदाता
तुलसीपुर, ९ असार । तुलसीपुर उपमहानगरपालिका आगामी आर्थिक वर्ष २०८२÷०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । आइतवार भएको नगरपालिकाको १७औँ नगरसभामा नगर प्रमुख टिकाराम खड्काले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

नगर प्रमुख खड्काले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा विशेषगरी स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन र रोजगारलाई प्राथमिकता दिइएको छ । कृषि अन्र्तगत तुलसीपुरका प्रत्येक वडामा ‘एक वडा, एक कृषि उत्पादन सङ्कलन तथा प्रवद्र्धन केन्द्र’ स्थापना गरी स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न वडाका अन्य स्थानमा तरकारी बजार, हाटबजार सञ्चालन गरी बाह्य उत्पादनको आयात निरुत्साहित गर्ने कार्यक्रमलाई अघि सारिएको छ ।

त्यसैगरी स्थानीय उत्पादनको बजारीकरणको व्यवस्था मिलाउने, ‘सबल सहकारी, बढाउने छ रोजगारी’ अभियानसँग जोडेर सहकारी संघसंघस्थालाई स्थानीय कच्चा पदार्थमा आधारित घरेलु तथा साना उद्योग प्रवद्र्धन, भण्डारण, प्रशोधन, प्याकेजिङसँगै बजारीकरणका लागि प्रोत्साहन गरिने नीति कार्यक्रममा उल्लेख गरिएको छ ।

शिक्षा अन्र्तगत विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालयमा ‘भित्राउने, सिकाउने र टिकाउने’ अभियानलाई प्रोत्साहनमूलक कार्यक्रमलाई निरन्तरता दिने, विद्यालयमा अभिभावकसँग शिक्षक कार्यक्रमलाई निरन्तरता दिइने र ‘मेरो विद्यालय, सुरक्षित र उत्कृष्ट शिक्षालय’ कार्यक्रम अन्र्तगत विद्यालयको भौतिक पूर्वाधार भवन, शौचालय, पुस्तकालय, विज्ञान प्रयोगशालाको निर्माणलगायतका कार्यलाई अघि बढाइएको छ ।

स्वास्थ्य अन्र्तगत अस्पताललाई स्थानीय स्वास्थ्य आपतकालीन सञ्चालन केन्द्रको रूपमा विकास गरिने, यातायात मदजुलाई लक्षित गरी ‘स्वस्थ चालक सुरक्षित यात्रा’ कार्यक्रमलाई निरन्तरता दिइने, ‘मेयर स्वस्थ मुटु अभियान’ सञ्चालन गरी नसर्ने रोगको रोकथाम तथा सचेतनालाई विद्यालय स्तरदेिख लागु गरिने, ‘स्वस्थ किशोरी, स्वस्थ आमा’ यौन तथा प्रजजनन स्वास्थ्य सचेतना कार्यक्रम सञ्चालन गरिने र ‘अपाङ्ग स्रोत केन्द्र’ स्थापना तथा अपाङ्गता भएका व्यक्तिले प्रयोग गर्ने सहायक सामाग्री वितरण गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

पर्यटन अन्र्तगत ‘घुम्न जाउँ तुलसीपुर’ कार्यक्रमलाई निरन्तरता दिँदै छिल्लीकोट मन्दिर, थर्कोट मन्दिर, चमेरे गुफा, राप्ती शान्ति पार्क, जन्ती ढुंगा, गौरीगाउँ ताल, राधाकृष्ण मन्दिर, सुकौराकोट दरबार क्षेत्रलगायत पर्यटकीय क्षेत्रको विकास गरिने, भौतिक पूर्वाधार अन्र्तगत सडक, पुल निर्माण, ‘सफा तुलसीपुर, सुन्दर तुलसीपुर’ अभियान अन्तर्गत पालिकाको सौन्दर्यकरण गरिने, तुलसीपुर उपमहानगरपालिकाको कर प्रणालीलाई सक्षम, प्रभावकारी र व्यवस्थित बनाउनका लागि राजस्व ऐन बनाई लागुु गर्ने नगर प्रमुख खड्काले बैठकमा जानकारी गराएका थिए ।