गोरक्ष समाचारदाता
दाङ, ८ असार । राष्ट्रिय आर्थिक गणनाका तथ्याङ्कको आवश्कतासम्बन्धी सरोकारवालासँग शनिवार घोराहीमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तथ्याङ्क समन्वय कार्यालय दाङको आयोजनामा कार्यक्रम भएको हो ।
कार्यक्रममा तथ्याङ्क समन्वय कार्यालय दाङका प्रमुख पोमनारायण पौडेलले तथ्याङ्कको महत्व, आवश्यकता, तथ्याङ्क लिइने प्रक्रियालगायतबारे जानकारी गराएका थिए । कार्यालयले तथ्याङ्क व्यक्तिगत गापनीयता कायम गरिने भएकाले ढुक्क भएर तथ्याङ्क दिन आग्रह गरे । सही तथ्याङ्क आएमा यसले योजना बनाउन, अवस्था बुझ्न सहयोग पुग्ने उनले बताएका थिए ।
उनले आगामी आर्थिक वर्षमा आर्थिक वर्षमा आर्थिक गणना सञ्चालन हुने बताए । २०८२ फागुनदेखि आर्थिक गणना सुरु हुने बताउँदै उनले सही सूचना दिन सबै समक्ष आग्रह गरे । आर्थिकसम्बन्धी जानकारी लिनका लागि गणना थालिएको हो । यस अघि २०७५ सालमा आर्थिक गणना गरिएको थियो ।
कार्यक्रममा सहभागीले तथ्याङ्क सङ्कलन गर्दै जनचेतना जगाउन आवश्यक रहेको बताए । जानकारी नहँुदा सही सूचना नदिने गरेको भन्दै सही सूचना नदिँदा गलत तथ्याङ्क आउने बताएका थिए । तथ्याङ्क गल्ती हुँदा योजना बनाउँदा समस्या हुने गरेको उनीहरूको भनाइ थियो । सहभागीले तथ्याङ्क सङ्कलनमा सबैको सहयोग आवश्यक रहेको बताएका थिए ।
कार्यक्रम दाङ जिल्ला उद्योग वाणिज्य संघका महासचिव महेन्द्र बुढाथोकीको अध्यक्षतामा भएको थियो । कार्यक्रममा उद्योगी, व्यवसायी, सरकारी एवम् गैरसरकारी कार्यालयका प्रमुख एवम् पत्रकार शिक्षक विद्यार्थीको सहभागिता थियो ।