रिहारमा उपभोक्ता सचेतना गोष्ठी

श्रीराम दहित
रिहार, ६ असार । लमही नगरपालिका उपभोक्ता हित संरक्षण शाखाको आयोजनामा एक दिवसीय उपभोक्ता सचेतना गोष्ठी भएको छ ।

लमही वडा नं. ८ र ९ का उपभोक्ता तथा जनप्रतिनिधिको सहभागिता रहेको कार्यक्रम रिहारको बगार बाबा धाममा सम्पन्न भएको हो । गोष्ठीमा प्रशिक्षकको रुपमा शाखा प्रमुख लक्ष्मी सुवेदीले प्रशिक्षण दिएकी थिइन । उपभोक्ता सचेतना समृद्ध र स्वस्थ समाज निर्माणको आधार भएको उल्लेख गर्दै भने,‘स्वस्थ, स्वच्छ र समृद्ध लमही निर्माणका लागि उपभोक्ताको जागरुकता अत्यावश्यक छ ।’

उनले उपभोग्य वस्तु तथा सेवामा हुने अनियमितता, मिसावट र भाडादरको अनियन्त्रिततालाई नियन्त्रण गर्न उपभोक्ताले आफ्नो अधिकारबारे जानकार भई सम्बन्धित निकायलाई सूचना दिनुपर्ने बताइन । लमही नगर कार्यपालिका सदस्य पार्वती विश्वकर्माको अध्यक्षतामा भएको गोष्ठीमा उनले नागरिकमा सचेतना अभिवृद्धिले समृद्ध राष्ट्र निर्माणमा टेवा पुग्ने बताउँदै यस्ता कार्यक्रम निरन्तर गरिनुपर्ने धारणा राखेका थिए ।

महिला वडा सदस्य ईश्वरा कुमारी पछाईले स्वागत मन्तव्य राख्दै सहभागी उपभोक्ताहरूले आफ्नो टोलमा जानकारी पु¥याउने विश्वास व्यक्त गरेकी थिइन । सहभागी ज्ञानराज नेपालीले खाद्य वस्तुहरूको उपयुक्त उपभोग मिति र गुणस्तरबारे जिज्ञासा राखेका थिए । स्थानीय पत्रकार तथा सहभागी श्रीराम दहितले उपभोग्य वस्तुमा उत्पादन मिति, मूल्य सूची र गुणस्तर प्रस्ट हुने गरी अनुगमन हुनुपर्ने र सरकारी तथा गैरसरकारी निकायबाट प्रवाह हुने सेवामा उपभोक्ता हितको प्राथमिकता दिनुपर्ने विचार राखेका थिए । गोष्ठीको सहजीकरण लमही नगरपालिका वडा नं. ९ का कम्प्युटर अपरेटर नागेन्द्र चौधरीले गगरेका थिए । कार्यक्रममा झन्डै ४० जना सहभागी भएका थिए ।