खेमराज रिजाल
दाङ, १ असार । दाङको घोराही–तुलसीपुर चारलेन सडक अहिले पनि ठेक्का प्रक्रियामा जान सकेको छैन । कहिले तथ्य इन्जिनीयरिङ र कहिले नेपाल सरकारको मदन भण्डारी सडक आयोजनाले गर्ने भनेर स्थानीय जनतालाई रनभुल्लमा पारिएको घोराही–तुलसीपुर चारलेन सडक अहिले पनि ठेकेदारहरूको मूल्याङ्कन मै रुमल्लिएको छ ।
निर्माण व्यवसायी कसलाई छान्ने भन्नेमा मदन भण्डारी सडक परियोजना रनभुल्लमा परेको छ । उक्त सडकको ठेक्का लिन निर्माण व्यवसायीलाई सहजै रूपमा जेठ २५ मा निक्र्योल गर्नुपर्ने थियो तर मदन भण्डारी सडक परियोजनाले विवादरहित बन्न सकेन । पैसाको अभाव छैन भनेर नेताहरूले भनिरहेका बेला यो सडकलाई चलायमान गराउन चालु आर्थिक वर्षमा बजेट छैन । तैपनि नेताहरूले आफ्नो इज्जत जोगाउने काम गरिरहेका छन् ।
तुलसीपुरको टरिगाउँ विमानस्थललाई डिसमिस गरेका यहाँका प्रमुख सत्तासिन नेताहरूले चारलेन सडकलाई पनि पक्का पक्कि भन्न सकेका छैनन् । एक पछि अर्को भाका सार्दा ठेकेदारहरूको सेटिङमा रुमल्लिएको छ सरकार ।
अर्थात् सरकार ठेकेदारहरूको इसारामा चल्दै छ, नेताहरू गुमनाममा छन् । अघिल्लो दशैताका सुनिश्चित भएको मदन भण्डारी सडक मार्गको चार अर्ब पैसा कहाँ गयो, अहिले ठेक्का खोल्ने पैसा छ कि छैन भन्नेमा अर्थमन्त्रालय नै अन्योल छ । मदन भण्डारी सडक आयोजनाका प्रमुख दिप बाराहीले त चालु आर्थिक वर्षमा यो सडकलाई कुनै पनि पैसा छैन भनिसकेका छन् तर पनि तानतुन गरी परियोजना सञ्चालनमा हुने बताएका थिए ।
तर चारलेन ठेक्का प्रक्रिया अझै पनि सहज हुन सकेको छैन । एक पछि अर्को कानुनी झमेलाका कारण यो सडकको अन्तिम ठेक्का सम्झौता समेत हुन सकेको छैन । पछिल्लो समयमा कर्णाली करिडोरको एमविपी एममा फेल भएका निर्माण व्यवसायी मुर्तिदान निर्माण सेवाले बखेडा झिकेपछि मदन भण्डारी सडक आयोजनाको अन्तिम सम्झौता पनि रोकिएको हो ।
मुर्तिदान निर्माण सेवाले कर्णाली करिडोरमा असक्षम भएपछि सार्वजनिक खरिद ऐन कार्यालयमा उजुरी दिएको थियो । जुन सडक विभागको मातहतको कार्यालय हो । तर, मदन भण्डारी सडक आयोजनाले भने यो विषयमा केही जानकारी गराएको छैन ।
स्रोतका अनुसार ठेक्का सम्झौताको अन्तिम मिति असार ३ गते तोकिएको छ । कर्णाली करिडोरमा असक्षम भएर आवेदन गरेका निर्माण कम्पनी मुर्तिदान निर्माण सेवाले त्यसमा प्रभाव पार्न पाउने छैनन् । एक परियोजनामा अक्षम भएका निर्माण व्यवसायी अर्को परियोजनालाई हस्तक्षेप गर्न कुनै कानुनी हैसियत नभएको पनि सडक विभागका अधिकारीहरूले बताएका छन् ।
असार २ गते ठेक्का हुन्छ ः बाराही
यसैबिच परिस्थिति जे जस्तो भए पनि घोराही–तुलसीपुर चारलेनको ठेक्का असार २ गते खुल्ने र त्यसमा एकजना निर्माण व्यवसायीलाई छनौट गरिने मदन भण्डारी सडक आयोजनाका प्रमुख दिप बाराहीले बताएका छन् ।
‘हामीले यो सडकको ठेक्का जेठ २५ मै खोल्ने थियो, तर एकजना निर्माण व्यवसायीले सार्वजनिक खरिद अनुगमन समितिमा आवेदन गरेका कारण त्यो बेला खोल्न सकिएन’, परियोजना प्रमुख बाराहीले भने तर अब सार्वजनिक खरिद ऐन अनुगमन समितिले पनि आवेदन गरेका निर्माण व्यवसायीलाई अयोग्य भनिसकेको छ, यो अवस्थाले अब सरकार निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याएर चल्न सक्यो भने घोराही–तुलसीपुर सडक चारलेनको अन्तिम सम्झौता असार २ गते हुने निश्चित देखिएको छ ।
फेरि कानुनी लफडा भएन भने निर्माण सम्झौता पनि चाँडै सम्पन्न गरेर यही आर्थिक वर्षमा काम सुरु हुने पनि परियोजना प्रमुख दिप बाराहीले गोरक्षलाई फोनमा भने । तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा भारतको मुबईको तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्टले कामको ठेक्का लिए पनि यहाँका पेटि ठेकेदारहरूले काम सम्पन्न गर्न विभिन्न समस्या देखाएपछि तत्कालीन अवस्थामा तथ्य इन्जिनियरिङसँगको ठेक्का नेपाल सरकारले तोडेको थियो ।
यसपछि स्थानीय तहबाट सङ्घीय संसदमा प्रतिनिधित्व गने सांसदहरूको निरन्तर पहलमा उक्त सडक स्तरोन्नतिका लागि पुनः ठेक्का आह्वान भएको थियो । फागुन पहिलो साता प्रकाशित सूचनाअनुसार उक्त सडकखण्डको स्तरोन्नतिको आह्वान गरिएको थियो । नेपाल सरकार यातायात मन्त्रालय माताहतको यातायात विभागले मदन भण्डारी सडक परियोजनाको बजेटबाट काम हुने गरी ठेक्का आह्वान समेत भएको थियो ।
बजेट अझै पनि अनिश्चित
यसैबिच मदन भण्डारी सडक आयोजनाले चालु आर्थिक वर्षमा घोराही–तुलसीपुर सडक स्तरोन्नतिलार्ई कुनै पनि बजेट विनियोजन नभएको बताएको छ । परियोजनाका प्रमुख दिप बाराहीले आगामी आर्थिक वर्षमा मात्र उक्त सडकका स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए ।
‘यो वर्ष नै गर्ने भन्या हो, तर मूल्याङ्कन नै टुङ्गिएको छैन, त्यसैले यो काम अर्को वर्षपछि अर्को बजेट अनुसार नै हुने छ’, परियोजना प्रमुख बाराहीले भने । चालु आर्थिक वर्षमै काम गर्ने भनिएपछि त्यसको प्राविधिक मूल्याङ्कन र निर्माण व्यवसायीलार्ई छनौट गर्दा यो प्रक्रिया लम्बिएको पनि उनले बताए ।