बुटवल,३० जेठ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुको सुरक्षा स्वयं आफ्नो सीप र दक्षता मात्र रहेको बताएका छन् । नेपाल प्रेस युनियन रुपन्देहीले आयोजना गरेको विकास पत्रकारिता तालिमको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष पोख्रेलले यस्तो बताएका हुन ।
‘हाम्रो लामो अनुभवले भन्छ कि सरकार, प्रशासन, कानुन कुनै पनि कुराहरु पत्रकारको सुरक्षाका लागि सहयोगी भएनन्’, पोख्रेलले भने,‘हामी आफै आफ्नो मर्यादामा रहने, सीप प्रदर्शन गर्ने र अरुले प्रश्न उठाउने ठाउँ नदिने कुरामात्र हाम्रो सुरक्षाको हतियार हो ।’ हाल पत्रकारिता क्षेत्रमाथी विभिन्न निकाय, शक्ति केन्द्र, नेतृत्वले प्रहार गरिरहेको सन्दर्भलाई लक्ष्यित गर्दै पोख्रेलले चिन्ता व्यक्त गरे । ‘को रहेछ त हाम्रा लागि ?’ यो प्रश्न गर्दै उनले भने, ‘हामीबीचको एकता, हाम्रो मर्यादाप्रतिको सजगता तथा सामाजिक उत्तरदायित्वप्रतिको संकल्प नै हामीलाई अगाडी बढाउन प्रेरित गर्ने कुराहरु रहेछन् ।’
महासंघका निवर्तमान अध्यक्ष पोख्रेलले जस्तोसुकै परिस्थितिमा पनि आफ्नो दायित्वबाट च्यूत नहुन पत्रकारहरुलाई अपिल समेत गरे । ‘हामीमाथी प्रहारका श्रीङ्खला निरन्तर छन्, तर पनि हामी दायित्वबाट भाग्न हुँदैन’, पोख्रेलले भने, ‘निर्भक पत्रकारिता मार्फत सत्यको अन्वेशण गर्ने दक्षताले नै समाज रुपान्तरणमा योगदान पुग्छ ।’ समाजलाई पारदर्शी र जवाफदेही बनाउँने अभियानले नै प्रेसप्रति आक्रमण गर्नेहरुलाई निरुत्साहीत गर्ने उनको तर्क थियो ।
समाजमा गलत तथ्यांक प्रस्तुत गर्दै गलत भाष्य निर्माण गर्ने प्रवृत्ति बढिरहेको प्रति पत्रकारिता क्षेत्र गंभिर हुनुपर्नेमा पोख्रेलको जोड थियो । ‘केही पनि भएको छैन’ भन्ने भाष्यलाई तथ्य तथ्यांकको अनुसन्धान गरी यथार्थको चित्रणमार्फत निरुत्साहित गर्न सकिने उनको तर्क थियो । ‘केही पनि भएको छैन भन्ने भाष्यको आधारमा संभावना र उपलब्धिमाथी नजरअन्दाज गर्ने काम भैरहेको छ’ उनले भने, ‘यस्ता भाष्यलाई गलत सावित गर्दै नयाँ आशा र उत्साहको वातावरण सिर्जना गर्ने सामथ्र्य पत्रकारिताले मात्र राख्न सक्छ ।’ यसका लागि विकास पत्रकारिता अपरिहार्य रहेको उनको भनाई छ । युनियन रुपन्देहीका अध्यक्ष कविन्द्र नेपालको अध्यक्षतामा भएको सो तालिममा ४० भन्दा बढी पत्रकारको सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन सचिव कपिल ज्ञवालीले गरेका थिए ।