लिलाधर वली
दाङ, २३ बैशाख । घोराही उपमहानगरपालिका– ५ को विकट वस्ती सिन्दुरेकी उत्तिमा विकको घरमा चामल सकिएको धेरै भयो । धान खेती हुने जमिन छैन, थोरै बारी छ, त्यसमा मकै उत्पादन हुन्छ । ‘भात खान मन लागे लमही गएर चामल किनेर खाने हो, नत्र हुँदैन’–उनले भनिन्–‘अहिले त धेरै समय बन्द हुँदा घरमा किनेको चामल पनि सकियो, त्यसैले मकै खाने गरेका छौँ ।’ वडा कार्यालयले चामल दिन थालेको छ भन्ने थाहा पाएपछि ६१ वर्षीय विक करिब चार घण्टा हिडेर वितरण हुने ठाउँ घोराही–३ को मुसोटखोल आइपुगेकी हुन् ।
मुसोट खोला आइपुगेकी विकले आफ्नो नागरिकता देखाइन् र वडाबाट २५ केजीको एक बोरा चामल, एक किलो नून र एउटा साबुन पाइन् । चामल पाएपछि खुशी हुँदै उनले भनिन–‘चुल्होमा भात नपकाएको धेरै दिन भएको थियो, अब पाक्ने भयो ।’ ४ जनाको उनको परिवारले चामल नहँुदा मकैको आटो खाने गरेको उनले बताइन् । ‘चामल किन्न त, कि लमही जाने हो, कि त घोराही जाने हो’– उनले भनिन्–‘अहिले त बन्द छ, किनम बजारसम्म जान सकिँदैन ।’ घोराहीकै विकट क्षेत्र मानिने सिन्दुरेमा धानखेती हँुदैन । त्यहाँ हुने भनेको मकै हो । पैसा भयो र बजार खुल्यो भने लमही र घोराही गएर चामल किनेर ल्याउने र त्यही खाने गर्छम नत्र पेट भर्नलाई मकै नै हो’–उनले भनिन् ।

उनी जस्तै बसेरी खोलाकी ५९ वर्षीय हुमसरी थापा तीन घण्टा हिडेर चालमकै लागि सोमवार मुसोट खोलासम्म आइपुगिन् । उनको पनि उस्तै समस्या हो । घरमा धानखेती हुने जमिन छैन । हुने मकै नै हो । भात खानलाई चामल किन्नुपर्ने वाध्यता छ । तर अहिले एक महिना बढी बन्द हुँदा किनेको चामल सकियो । मकैले छाक टार्दै आएको थापाले बताइन् । ‘धान खेती गर्ने जमिन छैन, भात खानलाई चामल किन्नुपर्छ’–उनले भनिन–‘अहिले लामो समय बन्द भयो, किन्न जानलाई समस्या छ ।’ विकट क्षेत्र भएर अहिलेसम्म सडक नपुग्दा पैदल हिड्नुपर्ने समस्या भोग्दै आएकी उनले कोरोना रोगका कारण बन्द हुँदा अहिले खानालाई समेत समस्या झेल्नुपरेको बताइन् । घरमा काम गर्ने छोराहरु भए पनि बन्दका कारण घरमा बस्नुपर्ने हुँदा कमाउने बाटो समेत बन्द भएको उनले बताइन् ।
उनीहरुसँगै राहत लिन बसेरी खोलाबाट आएका १५ वर्षीय सलमान घर्ती मगरलाई झन पीडा छ । घरमा कमाउने बुबालाई केही वर्ष पहिले गुमाए । बुबाको मृत्युपछि आमाले छोडेर गइन् । आमाले छोडेर गएपछि आपूm र बहिनी बाजेबोईसँग बस्दै आएका छन् । बाजेबोई बृद्ध छन् । त्यसैले पकाउने खाने वाहेक अन्य काम गर्न सक्दैनन् । ‘बृद्ध बाजेबोई र दुइजना भाइबहिनीको जीवन, अलिअलि उत्पादन हुने अन्नपात र बाजेबोईले पाउने सामाजिक सुरक्षा भत्ता हो, तर अहिले भत्ता समेतपाउन सकेका छैनन्, त्यसैले अहिले घरका लागि आवश्यक खाद्यान्न किन्ने पैसा छैन’–राहत लिन आएका घर्ती मगरले भने– ‘खानलाई पनि धेरै समस्या भएको थियो, अब केही दिन समस्या हट्नेछ ।’

उनीहरु जस्तै लकडाउनका क्रममा समस्यामा परेका ३५ घरपरिवारलाई वडा कार्यालयले राहतका रुपमा सोमवार चामल, नून र साबुन सहयोग गरेको हो । घोराही उपमहानगरपालिका–५ को विकट क्षेत्र बसेरी खोला र सिँदुरेका ३५ विपन्न घरपरिवारलाई खाद्यान्न सहयोग गरेको छ । कोरोना भाइरसको महामारीको समयमा दैनिक मजदुरी गरी खाने दुर्गम दुई गाउँका ३५ घरपरिवारलाई प्रतिघर एक बोरा चामल, एक प्याकेट नून र एउटा सावुन सहयोग गरेको घोराही उपमहानगरपालिका वडा नं. ५ का वडा सचिव लक्ष्मण अधिकारीले जानकारी दिएका छन् ।
घोराही उपमहानगरपालिका वडा ५ को कार्यालय र त्रिभुवन नगर जेसीजको सहयोगमा चामल, नून र साबुन सहयोग गरिएको थियो । जेसीजले ५ सय किलो चामल, ३५ प्याकेट नून र ३५ वटा साबुन सहयोग गरेको थियो भने वडा कार्यालयले तीन सय ३५ किलो चामल सहयोग गरेको हो । वडाध्यक्ष दाहालले उक्त खाद्यान्न सामग्र्री घोराही उपमहानगरपालिका–३ को मसोट खोलाबाट विभिन्न परिवारलाई हस्तान्तरण गरेका थिए । विपद्को समयमा समस्या परेका परिवारहरुलाई वडा कार्यालयले राहत स्वरुप सहयोग गरेको जानकारी दिएका छन । यसैगरी उनले सहयोग गर्ने त्रिभुवन नगर जेसीजलाई धन्यावद समेत दिएका छन् ।
त्यस अवसरमा घोराही उपमहानगरपालिका वडाध्यक्ष विष्णुमणि दाहाललगायतले राहत सामग्री विपन्न परिवारलाई हस्तान्तरण गरेका थिए । सहयोग कार्यक्रममा वडा नं. ५ अध्यक्ष दाहाल, वडा नं. ३ का अध्यक्ष माधव चौधरी, वडा नं. १५ का वडाध्यक्ष रमेश पाण्डेय, नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष लालमणि भण्डारी, त्रिभुवन नगर जेसीजका महासचिव मिनराज भाटलगायतको सहभागिता रहेको थियो । वडाले वडाका दुई सय ८३ घरपरिवारलाई चामल, दाल, नून, तेल, साबुनलगायतका सामग्र्री सहयोग गरेको वडाध्यक्ष दाहालले जानकारी दिएका छन् ।