मेरो खुशी : मलेसियाको पेनाङ एयरपोर्ट …

सायद २०६२ सालको असार मसान्ततिर होला । म मलेसियाको वैदेशिक रोजगार छोडेर तीन वर्षपछि नेपाल फर्कने क्रममा मलेशियाको पेनाङ एयरपोर्टमा आएको थिएँ । एयरपोर्टमै फोनको रिङ बज्यो । घरबाट श्रीमती मायाको फोन रहेछ । ‘सुन्नुभो ! छोरा बाबुराम एसएलसी पास भयो नि ।’

त्यसपछि मैले श्रीमतीमार्फत् घरपरिवार सबैलाई धन्यवाद दिएँ । काठमाडौं ओर्लेपछि पार्टी गर्ने तयारी थियो तर काठमाडौं ओर्लँदा दाजु बमबहादुर बस्नेतको निधनको खबर आयो । त्यही कारण छोरा एसएलसी पास भएको पार्टी पनि रोकियो । पछि घर आएर चोखिएपछि मात्र छोरा एसएलसी पास भएको खुसियाली मनाएका थियौँ ।

लेखिदिनु होला, मेरो खुसी मलेसियाको पेनाङ एयरपोर्ट । जहाँ मैले छोरा एसएलसी पास भएको खबर सुनेँ । किनकि त्यो बेला पनि एसएलसी परीक्षा फलामको साङ्लो जस्तै मानिन्थ्यो । त्यो बेला मैले छोरालाई उच्च शिक्षा पढाउने चाहना बोकेर नेपाल फर्कँदै थिएँ । पछि व्याचलरसम्म पढाएँ । त्यसपछि छोरा बाबुराम व्यापारमा झुन्डियो । केही वर्षपछि उ पनि वैदेशिक रोजगारीको सिलसिलामा अमेरिका छिरेको छ तर अब के हुने भन्ने चिन्ता छ ।

माथि उल्लिखित खुसीको अविष्मरणीय क्षण हो, तुलसीपुर उपमहानगरपालिका–१८ दुधरास निवासी समाजसेवी एवम् राजनीतिकर्मी धनबहादुर बस्नेतका । त्यसो त धनबहादुरका खुसीका अविष्मरणिय क्षणहरू एक–दुई पानामा अटाउँदैनन् । भन्दै गए खुसीको क्षण नाति जन्मेको दिन अर्थात् २०७० साल मङ्सिर २३ गते छोरा बाबुरामलाई पुत्रलाभ भएको थियो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बुहारीलाई म आफैँले लगेर भर्ना गरेको थिएँ ।

म त्यो बच्चाको पहिलो सुसारे बनेको थिएँ । पछि मात्र अरूलाई खबर गरेपछि महिलाहरू जुटेका हुन् । आफ्नै हातमा हुर्काएको त्यो नाति अहिले पनि मलाई औधि माया गर्दछ । दुई वर्षदेखि नै उसलाई मैले सँगै सुताएर हुर्काको हुँ । नाति निसान मेरो खुसी हो । किनकि उ मेरो परिवारको सबैभन्दा बढी स्नेही र इमानदार एवम् वफादार सदस्य हो ।

त्यसो त राजनीतिमा पनि उनका खुसीका अविष्मरणीय क्षणहरू छन् । तत्कालीन जिल्ला नेता श्रीमणि आचार्यसँग एमालेको सदस्यता लिएका धनबहादुरले २०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट टिकट पाए अनि मतगणना परिणाम पनि उनकै पक्षमा आयो । ‘आहा ! अब म जनप्रतिनिधि बनेँ, मेरो दिलैदेखिको सपना थियो जनप्रतिनिधि बन्ने’, धनवहादुरले आफ्नो अर्को खुसी व्यक्त गरे ।

अहिले उनी पार्टीका भन्दा जनताका भन्न रुचाउँछन् । जब म चुनाव जितेँ तबदेखि म पार्टीभन्दा माथि उक्लेको अनुभूति हुन्छ’, धनवहादुर भन्छन् । त्यसैले त धनबहादुरले २०७९ सालको स्थानीय तहको निर्वाचनमा उही पदमा टिकट पाए र विजयी पनि बने । उनलाई त्यो विजयको उन्माद भने कहिलै जागेन । सानो पद र थोरै जिम्मेवारी भए पनि उनी आफ्नो पदीय जिम्मेवारीलाई कहिलै भुलेका छैनन् । जे छ त्यसैमा रमाउनु उनको खुसी हो । भन्छन्, ‘खुसी मिहिनेतको फल हो । खुसी समाजसेवाको भावना हो अनि खुसी आफैँभित्र लुकेको अव्यक्त क्षण हो ।

कतिपय खुसीहरूलाई त शब्दमा व्यक्त गर्न पनि सकिँदो रहेनछ, धनबहादुर बोले । त्यसो त धनबहादुर पछिल्लो समयमा मानव स्वास्थ्यको अभियानमा पनि जोडिएका छन् । घरमै प्रशस्तै श्रम गर्ने बानी भए पनि उनी पछिल्लो समयमा बिहान नित्य दुई घण्टा योगाभ्यासमा हुन्छन् । गाउँभरिका दाजुभाइ, दिदीबहिनीले उनको साथ दिन्छन् ।

योगाभ्यास गर्न सुविधायुक्त स्थल नभएकाले उनले चालु आर्थिक वर्षको स्थानीय सरकारको बजेटबाट योगाहल समेत निर्माण गरे । स्वास्थ्यका लागि योगा, समृद्धिका लागि योगा भन्ने अभियानमा उनी पछिल्लो समयमा हौसिएका छन् । भन्छन्, ‘नियमित योगअभ्यास मेरो खुसी हो । बिहान दुई घण्टाको योगाले दिनभर मनमस्तिष्क र शरीरलाई चङ्ग बनाइदिने रहेछ ।’

जन्मथलो तुलसीपुर उपमहानगरपालिका—१८ दुधरास । कर्मथलो पनि त्यहीँ । २०२६ साल पुस ७ गते जन्मिएका धनवहादुरले प्राथमिक शिक्षाको कक्षा १ देखि ३ सम्म दुधरासस्थित जनकल्याण स्कुलमा पढे । त्यो बेला दुधरास मावि भइसकेको थिएन । त्यसपछि कक्षा ४ र ५ कक्षा पढ्न उनी नारायणपुरस्थित शिद्धरत्ननाथ माविमा पूरा गरे तर कक्षा ५ मा उनी फेल भएपछि फेरि दुधरासमै फर्के कक्षा ५ पढ्न ।

त्यो बेला दुधरास हाइस्कुल बनिसकेको थियो । दुधरासमा टेस्टसम्म पढेका धनवहादुर एसएलसी पास गर्न भने रोल्पाको झेनाम पुगे । किनकि त्यहाँ एसएलसी परीक्षा केही लुज हुन्थ्यो । २०४६ सालमा एसएलसी पास गरेपछि उनको पढाइमा ब्रेक लाग्यो । त्यसपछि उनले जागिरको खोजी थाले ।

त्यसपछि २०४७ सालमा तुलसीपुर–१८ कै शिवकुटी प्रावि मनिकापुरमा पाँच महिनाजति निजी स्रोतबाट तलव खाने गरी पढाए । त्यसपछि जागिरको सिलसिलामा जागरकोटको दम्दाला भन्ने ठाउमा करिब एक महिना पढाए । पढाउनेमा पनि उनको ध्यान जमेन । त्यसपछि कसैको भनसुनमा उनले उतैतिर खिमबहादुर शाहले जाजरकोटमा खोलेको रक्सी डिलरमा करिब डेढ वर्ष काम गरे । त्यसपछि घरमै फर्केर खेती किसानी ।

त्यसपछि कामकै सिलसिलामा भारतको हिमाचलतिर मज्दुरी गर्न गएं । त्यत्तिले मात्रै सन्तोष भएनन् । २०५९ मा मलेसिया वैदेशिक रोजगारीमा गए । त्यहाँ तीन वर्ष बिताए । त्यसपछि नेपाल फर्केर आफ्नै घरगृहस्तीमा अनि समाजसेवामा जोडिँदैै राजनीतिमा पनि जोडिए । राजनीति सुरुआत गरेको त विद्यार्थीकालदेखि नै हो तर पार्टीमै आबद्ध भएको भने २०५२ मा नेकपा एमालेको पार्टी सदस्यता प्राप्त गरे ।

त्यही क्रममै उनी स्थानीय कात्तिके रानीवन सामुदायिक वन उपभोक्ता समूहमा अध्यक्ष भएर ६ वर्षे कार्यकाल बिताए । त्यसपछि जुरपनिया मैनातारा खानेपानीमा सदस्य भए । त्यसपछि २०७४ सालको स्थानीय तहको निर्वाचनमा तुलसीपुर उपमहानगरपालिका–१८ को वडा सदस्यमा निर्वाचित एमालेको तर्फबाट उम्मेदवार बने । फेरि ०७९ को स्थानीय निर्वाचनमा पनि वडा सदस्यमै निर्वाचित भए । भन्छन्, खुसी समाजसेवा हो अर्थात् आफूले समाजमा गरेका कामबाट पाउने प्रतिफल नै खुसी हो । त्यसैले म हरपल खुसी छु ।

प्रस्तुति : खेमराज रिजाल