भरत विश्वकर्मा
रोल्पा, २२ जेठ । सामान्यतया नदी वारपार गर्न पुल निर्माण गरिन्छ तर रोल्पाको माडी गाउँपालिकामा भने पैदल यात्राको दुरी छोट्याउन झोलुङ्े पुल निर्माण गरिएको छ । माडी गाउँपालिकाको दुई गाउँलाई जोड्न झोलुङ्गे पुल निर्माण गरिएको हो ।
गाउँपालिकाको वडा नम्बर–२ घर्तीगाउँ र वडा–५ भाबाङलाई जोड्न बनाइएको झोलुङ्गे पुलले घण्टौँ हिड्नुपर्ने समस्यामा रहेका यहाँका नागरिकलाई यात्रामा सहज बनाएको छ । झोलुङ्गे पुलको निर्माणसँगै पैदल हिँड्दा घण्टौँ लाग्ने यात्रा अब केही मिनेटमै तय गर्न सकिने भएको छ । कष्टकर यात्रा गर्न बाध्य भएका सो क्षेत्रका नागरिकलाई अहिले यात्रामा सहज भएको छ । घर्तीगाउँ बजार आउजाउ गर्न जोखिम मोलेर घण्टौँ हिड्नुपर्ने अवस्था अन्त्य भएपछि स्थानीय खुसी भएका छन् ।
गाउँलाई बजार तथा पालिकाको केन्द्रसँग जोड्न बनाइएको सो पुल जिल्लाको सबैभन्दा लामो पुल भएको बताइएको छ । पुलको लम्बाई तीन सय ४० मिटर रहेको छ । माडी गाउँपालिका–५ भाबाङका नागरिकलाई घर्तीगाउँ बजार आउजाउ गर्न र गाउँपालिकाको कार्यालयमा सेवा लिन जान सहज भएको माडी गाउँपालिका–५ भाबाङका स्थानीय गोपाल खत्रीले बताए ।
‘पहिले शहीद मार्ग हुँदै पैदल यात्रा गर्दै घर्तीगाउँ बजार पुग्न झन्डै एक घण्टा लाग्थ्यो तर झोलुङ्गे पुलले अब उक्त समयलाई छोटो बनाएको छ’, उनले भने । झोलुङ्गे पुलमार्फत् छोटो समयमै आवतजावत गर्न र पैदल यात्रा गरेर भाबाङ–घर्तीगाउँ आउजाउ गर्न सहज हुने उनले बताए ।
सङ्घीय सरकारको करिब एक करोड ५२ लाख रुपैयाँमा अधिकारी अपर तामाकोसी जेभी प्रालिले पुल निर्माणको ठेक्का लिएको थियो ।
झोलुङ्गे पुल महाशाखा काठमाडौंको समन्वयमा पुल निर्माण भएको हो । पुल निर्माणको काम २०८१ फागुनदेखि सुरु भएको र अहिले निर्माणको काम अन्तिम चरणमा पुगेको निर्माण कम्पनीका सहायक इन्जिनियर राम खतिवडाले बताए । अबको केही दिनमै काम सम्पन्न गरेर सम्बन्धित निकायलाई हस्तान्तरण गरिने उनले बताए । अहिले टेक्निकल र जाली फिटिङ भइरहेको उनले बताए ।
भाबाङका नागरिकलाई बजार आउजाउमा पुल निर्माणले धेरै राहत मिलेको माडी गाउँपालिकाका अध्यक्ष अमरसिंह घर्ती मगरले बताए । पालिकाले आगामी आर्थिक वर्षका लागि सात वटा झोलुङ्गे पुल निर्माणको लागि माग गरेको उनले बताए । पहाडमा दुरी छोट्याउन पुलको आवश्यकता र महत्व भएको उनको भनाइ छ ।
‘पुल निर्माणले घण्टौँको यात्रा गर्दै विद्यालय जाने विद्यार्थीको समस्या अब समाधान भएको छ’, उनले भने, ‘पहाडमा विद्यालय टाढा–टाढा हुने भएकाले चुनौती छ र अग्ला डाडाँकाँडा भएको ठाउँमा पुल उपयुक्त हुन्छ ।’ झोलुङ्गे पुल निर्माणले गर्दा परिवर्तन गाउँपालिका–२ राङ्सी, माडी गाउँपालिका–२ घर्तीगाउँ, वडा–३ तालाबाङ, वडा–५ भाबाङ, गंगादेव गाउँपालिका–१ र वडा–५ जिनाबाङलगायतका करिब पाँच हजार नागरिक लाभान्वित हुने बताइएको छ ।