वैदेशिक रोजगारसम्वन्धी ठगीका साढे १० महिनामा अढाई सय बढी मुद्दा

अमरराज आचार्य
दाङ, २० जेठ । जिल्लामा साढे १० महिनाको अवधिमा दुई सय ५६ वटा वैदेशिक रोजगारीसम्बन्धी मुद्दा परेका छन् । जसमा तीन सय ६८ जना पीडित भएका छन् । जिल्ला प्रशासन कार्यालय दाङमा २०८१ साउन १ देखि २०८२ जेठ १८ गतेसम्म यो सङ्ख्यामा मुद्दा परेका हुन् ।

प्रशासनमा परेका मुद्दामा १५ करोड ५३ लाख ७७ हजार तीन सय रुपैयाँ बराबरको ठगी रकम रहेको जिल्ला प्रशासन कार्यालय दाङका मुद्दा शाखाका कम्प्युटर अपरेटर पवित्रा केसीले जानकारी दिइन् । उनका अनुसार यसरी परेका मुद्दामध्ये २८ जनाको रकम फिर्ता गराइएको छ । जसबाट दुई करोड २० लाख ४२ हजार रुपैयाँ पीडितलाई फिर्ता गराइएको उनले जानकारी दिइन् । प्रशासनमा परेका मुद्दामध्ये २५ वटा वैदेशिक रोजगार विभागमा पठाइएको छ । ४३ वटा सहमति गराइएको छ भने तीनवटा मुद्दा सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा पठाइएको केसीले बताइन् ।

६९ निवेदनमा प्रहरी र कार्यालयको फोनमार्फत् सहमति गरिएको छ भने एक सय ५७ वटा मुद्दा प्रहरीमा पत्राचार गरिएको छ । प्रशासनमा पर्ने मुद्दाहरूमा प्रमाणविहीन उजुरी आउने गरेको उनले बताइन् । एजेन्टमार्फत् कारोबार गर्दा एजेन्टहरू सम्पर्कमा नआउने समस्या रहेको छ । कतिपय मुद्दाहरू प्रमाण नपुगेकाले विभागमा पठाउन नसकिएको उनको भनाइ छ । भिजिट भिसामा वैदेशिक रोजगारीमा
जान खोज्दा बढी ठगिने, वास्तविक एजेन्ट र मध्यस्थकर्ता फरक हुने हुँदा कारबाही गर्न समस्या भएको, विदेशमा रहेका आफन्तबाट चिनजान भएको तेस्रो व्यक्तिबाट भिसा प्राप्त हुने वहानामा ठगिने, अन्य जिल्लाका एजेन्टबाट ठगीमा परेका जिल्लाका पीडितले न्याय पाउन समस्या भइरहेको केसीले बताइन् ।

विभागमा पठाइएका निवेदनहरूको प्रगति जानकारी पाउन नसक्दा फस्र्योट भएका मुद्दाका एकिन सङ्ख्या थाहा हुन गाह्रो, एजेन्टको बास्तविक नाम, ठेगाना, सम्पर्क नम्बर समेत खुल्न नसक्दा कारबाही गर्न समस्या हुने गरेको उनको भनाइ छ । गत साउनदेखि वैशाखसम्म १२ हजार पाँच सय २८ जना श्रम तथा पुनः श्रम स्वीकृति लिएर बिदेसिएको घोराही उपमहानगरपालिकाका सामी परियोजनाका फोकल पर्सन बासुदेव आचार्यले जानकारी दिए । यसरी बिदेशिनेमध्ये पुरुष ११ हजार एक सय २५ जना र महिला एक हजार चार सय तीन जना रहेका छन् ।

हजार चार सय ९३ जना, असोजमा ५३ हजार पाँच सय २५ जना, कात्तिक महिनामा ७० हजार नौ सय ९० जना, मङ्सिरमा ८४ हजार दुई सय २६ जना, पुसमा ६७ हजार दुई सय ५८ जना श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृति लिएर विदेश गएका छन् । यसैगरी माघ महिनामा ७२ हजार चार सय ४१ जना, फागुन महिनामा ६८ हजार नौ सय ६३ जना, चैत महिनामा ७३ हजार चार सय तीन जना र वैशाख महिनामा ७८ हजार ५० जना विदेश गएका छन् ।

पत्रकारसँग अन्तरक्रिया घोराही उपमहानगरपालिका सुरक्षित आप्रवासन (सामी) कार्यले पत्रकारसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा बोल्दै घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले युवालाई स्वदेशमै रहने वातावरण बनाउनु पर्ने बताइन् । यदि विदेश जानै परेमा सुरक्षित भएर जानुपर्ने उनले बताएकी थिइन् । यसका लागि कार्यक्रमले सहयोग गदै आएको उनले बताइन् ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसीले अवैध रूपमा बिदेसिने बढ्दै गएको बताए । जसका कारण ठगिने क्रम पनि बढेको उनको भन्ले बताए । वैदेशिक रोजगारमा जाँदै गर्दा ठगिनबाट बच्न वैधानिक रूपमा जानुपर्ने उनले बताए । कार्यक्रमले गरेका कामबारे फोकल पर्सन बासुदेव आचार्यले कार्यक्रममा जानकारी गराएका थिए । कार्यक्रमको सहजीकरण वसन्ता पुनले गरेकी थिइन् ।