दाङमा सवारी ठक्करबाट हुँडारको मृत्यु

दीपक वली
दाङ, १९ जेठ। दाङको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत फन भ्याली नजिकै दुर्लभ वन्यजन्तु भाले हुँडारको सवारीको ठक्करबाट मृत्यु भएको छ। वन्यजन्तु संरक्षणको दृष्टिले महत्वपूर्ण मानिने उक्त प्राणीको मृत्युले स्थानीयवासी, सुरक्षा निकाय तथा सरोकारवालालाई चिन्तित बनाएको छ।

डिभिजन वन कार्यालय घोराहीका रेन्जर चक्रपाणि शर्माका अनुसार मृत भाले हुँडारको लम्बाइ करिब पाँच फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ। उसको अनुमानित उमेर आठदेखि दश वर्षको बीचमा रहेको बताइएको छ। विगतमा त्यति सक्रिय रूपमा नदेखिएको यो प्रजाति सडक क्षेत्रमा देखिनु र दुर्घटनामा पर्नु वन्यजन्तुको सुरक्षित बसोबासमा चुनौती खडा भएको संकेत हो।

मृत हुँडारको शव व्यवस्थापन डिभिजन वन कार्यालय घोराहीले गरेको हो। उक्त कार्य इलाका प्रहरी कार्यालय नारायणपुर, अस्थायी ट्राफिक प्रहरी नारायणपुर, स्थानीय जनप्रतिनिधि तथा स्थानीयवासीको रोहवरमा आवश्यक प्रक्रिया पूरा गरी गरिएको जनाइएको छ।

वर्तमान अवस्थामा सडक क्षेत्रमा वन्यजन्तुको चहलपहल बढ्दै गएकाले यस्ता घटना पुनः नदोहरियोस् भन्नेसहित सम्बन्धित निकायलाई सचेतना र सतर्कता आवश्यक रहेको सरोकारवालाहरूले बताएका छन्। यस घटनाले वन्यजन्तु संरक्षण र सडक सुरक्षाबीचको सन्तुलनमा गम्भीर सोच र दीर्घकालीन योजना आवश्यक रहेको देखाएको छ।

वन अधिकारीहरूका अनुसार यस्ता घटनाहरू दोहोरिरहे दाङ जस्तो जैविक विविधताले भरिएको क्षेत्रमा जैविक संकट उत्पन्न हुने सम्भावना रहन्छ।