नेपाललाई सडक मानव मुक्त बनाइने

खेमराज रिजाल
तुलसीपुर, १९ जेठ । तुलसीपुरमा सञ्चानमा रहेको मानव सेवा आश्रम अब आफ्नै भवनमा सञ्चालन हुने भएको छ । हाल तुलसीपुर उपमहानगरपालिका–६ हात्तिखौवामा भाडाको भवनमा सञ्चालन हँुदै आएको मानव सेवा आश्रम सञ्चालन हुँदै आएको थियो ।
तुलसीपुरमा डेढ वर्ष अघि आयोजना भएको धार्मिक महायज्ञमा सङ्कलन भएको करिब ५ करोड रुपैयाँले तुलसीपुर उपमहानगरपालिका–४ हलवारमा मानव सेवा आश्रम निर्माणको आइतवार धार्मिक विधिअनुसार शुभारम्भ गरिएको छ ।

भवन निर्माणका लागि गठित समितिका संयोजक डिल्लीबहादुर बस्नेतको अध्यक्षतामा भवन निर्माण स्थलमा आयोजित संक्षिप्त सभामा प्रमुख अतिथि तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्काले उपमहानगरपालिकाले सडक मानव मुक्त अभियान उपमहानगरपालिकाको पनि रहेको भन्दै नयाँ भवन निर्माणका लागि उपमहानगरपालिकाले १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आज काम सुरु भएको छ, अबको १८ महिनामा भवन निर्माण सम्पन्न हुने छ, यसमा हामीले बजेट अभाव हुन दिने छैनौँ’, प्रमुख अतिथि खड्काले भने ।

जसका कोही हुँदैनन्, जसको कोही छैन, उसैका लागि हो मानव सेवा आश्रम । मकवानपुरको हेटौडाबाट सुरु भएको मानव सेवा आश्रम पछिल्ला केही वर्षदेखि तुलसीपुरमा एउटा भाडाको घरमा सञ्चालन हँुदै आएको छ । मासिक ८५ हजार रुपैयाँ भाडा तिरेर करिब डेढ दर्जन सहयोगापेक्षी सडक मानवलार्ई उक्त भवनमा छाना, नाना र खाना उपलब्ध गराइँदै आएको छ ।

मानव सेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारी हुन् । मानव सेवा आश्रमले आगामी २०८२ जेठ महिनाको रामनवमीका दिन नेपाललार्ई सडक मानव मुक्त गराउने प्रण गरेको छ । लुम्बिनी प्रदेश अबको केही महिनाभित्रै सडक मानव मुक्त घोषणा हुने अन्तिम तयारीमा रहेको छ ।

भवन निर्माण शुभारम्भ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले सडक मानव मुक्त अभियान सरकारकै रहेको भए पनि यसमा नागरिक तहबाट पनि साथ र सहयोग हुनु आफैमा असल थालनी भएको बताए । अहिलेको युगको गर्भनेन्सको रहेको औल्याउँदै उनले यस्तो पवित्र कार्यमा अहोरात्र खट्ने मानव सेवा आश्रम परिवारलार्ई धन्यवाद दिए । प्राकृतिक हिसाबले मनोरम एवम् सफा र स्वच्छ वातावरण भएको हरियाली बिचको जग्गामा भवन निर्माण हुनु सहयोगापेक्षी सडक मानवका लागि पनि आत्म गौरवको विषय हुने उनले बताए ।

तुलसीपुर उपमहानगरपालिका–४ का वडाध्यक्ष तुलसीराम थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेत, दंगीशरण गाउँपालिकाका अध्यक्ष शम्भु गिरीलगायतले भवन निर्माणका लागि आफूहरूले यसअघि नै आर्थिक सहयोग उद्घोष गरेकाले सोही बमोजिम कबोल रकम सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा धन्यवाद ज्ञापन तुलसीपुर उपमहानगरपालिका–७ का वडाध्यक्ष रामबहादुर जिसीले गरेका थिए । कार्यक्रमको सहजीकरण मानव सेवा आश्रम लुम्बिनी प्रदेश इन्चार्ज सरु अधिकारीले गरेकी थिइन् ।

उक्त अवसरमा तुलसीपुर उपमहानगरपालिका–५ निवासी जनार्दन शर्माले मानव सेवा आश्रमको भवन निर्माणका लागि एक लाख ५१ हजार सहयोग गरेका थिए । हाल निर्माणाधिन भवन पूरा हुन कम्तिमा साढे चार करोड रुपैयाँ लाग्ने अनुमान गरी ठेक्का आह्वान भएको छ । यद्धपि सबै मास्टर प्लानअनुसार काम सम्पन्न हुन करिब १५ करोड रुपैयाँ लाग्ने मानव सेवा आश्रमले जनाएको छ । नयाँ बन्ने भवनले कम्तिमा दुई सयजना सडक आश्रित मानवलार्ई आवाशिय सेवा उपलब्ध गराउने छ ।

मानव सेवा आश्रमले नेपालका १९ जिल्लामा ३३ सेवा केन्द्र सञ्चालन गरेको छ । ती आश्रममा कम्तिमा एक हजार ६ सयभन्दा बढी सहयोगापेक्षी सडक मानव रहेको जानकारी संस्थाका परिकल्पनाकार एवम् मानव सेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिए ।

संस्थाले आश्रममा परिचय खुलेका तथा परिवार भएका सडक मानवलार्ई परिवारसँग पुर्नमिलन समेत गराउँदै आएको छ । मानव सेवा आश्रमका परिकल्पनाकार रामजी अधिकारीका अनुसार नेपाललार्ई सडक मानव मुक्त बनाउनका लागि यो अभियान २०६९ साल भदौ १३ गते हेटौडाबाट सुरु भएको हो । हेटौडामा पाँचजना सडक मानवको उद्धार गरी यो अभियानको सुरुवात गरिएको थियो ।