‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियान शुभारम्भ

गोरक्ष समाचारदाता
तुलसीपुर, १९ जेठ । ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ अभियानको भव्य समारोहबिच शुभारम्भ गरिएको छ । तुलसीपुर उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको अभियान विरेन्द्र चोकबाट सुरु भएको हो ।

उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिका नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा अभियान सुरु भएको हो । अभियान शुभारम्भ गर्दै नगरप्रमुख खड्काले सबै समुदाय सचेत भएमात्र ‘सुन्दर तुलसीपुर, सुरक्षित तुलसीपुर’ को अभियानले सार्थकता पाउने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले तुलसीपुरमा ‘तुलसीपुर सुरक्षित छ, सुन्दर छ भन्ने रचनात्मक क्रियाकलाप अगाडि बढाएको भन्दै यो आफैमा राम्रो कार्य भएको बताए । ‘यो अभियानले तुलसीपुरलाई ऐतिहासिक सहर राष्ट्रिय अन्तराष्ट्रियस्तरमा तुलसीपुर, सामाजिक आर्थिक, वातावरण तथा सबै किसिमले राम्रो छ भन्ने सन्देश प्रवाह दिनेछ’ लम्सालले भने ।

पहिलो चरणमा नविल बैंक र ईप्रका तुलसीपुरको सहकार्यमा २० हजार स्टीकर अभियानअन्तर्गत टाँसिने अध्यक्ष विनिल केसीले जानकारी दिए । उनले भवितव्य दुर्घटना, केही अपराधिक घटना हुँदा सहजै सूचना प्रवाहका लागि स्टीकरमा रहेका नम्बरमा सहजै जानकारी दिन सक्ने बताए । नविल बैंकको सहयोगमा तयार पारिएको स्टीकरमा आकस्मिक सेवा सम्पर्क नम्बर रहेका छन् ।

तुलसीपुरको मुख्य बजारलाई थप सुरक्षित बनाउन प्रविधिको प्रयोग उत्तिकै आवश्यक रहेको अवस्थामा तुलसीपुर बजारलाई सुरक्षित गराउन सिसि क्यामेरा जडानको कार्यलाई अगाडि बढाएको छ । त्यस्तै तुलसीपुरमा बिजुली बत्ती जडान पनि भएका छन् । अभियानका संयोजक विमल गौतमको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण महासचिव केशवराज केसीले गरेका थिए ।