एआई र साइबर कानुनको विषयमा छलफल

गोरक्ष समाचारदाता
तुलसीपुर, १३ जेठ । एआईको प्रयोग तथा साइबर कानुनका विषयमा तुलसीपुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । तुलसीपुर मेट्रो कलेज तुलसीपुर–१२ हरिपौरीको आयोजनमा कलेजमा बिएएलएलबी, बिबिए एआई बिएचटिएममा अध्ययन गर्ने विद्यार्थीलाई एआईको प्रयोग तथा साइबर कानुनका विषयमा अन्तरक्रियासँगै प्रशिक्षण दिएको हो ।

शैक्षिक क्षेत्रमा सबै उपकरणहरूको प्रयोग कसरी गर्न सकिन्छ, सिकाइ र शिक्षणलाई निजीकृत र वृद्धि, एआईले अनुसन्धानमा क्रान्तिकारी परिवर्तन, नैतिक र व्यावहारिक चुनौतीहरू, एआईले शैक्षिक क्षेत्रको भविष्यलाई रूपान्तरण कसरी गर्दछ भन्ने विषयमा अन्तरक्रिया भएको थियो । कार्यक्रममा एआईको प्रयोगका विषयमा क्यानडाको युनिभर्सिटी अफ अटवामा जर्नलिजम, मिडिया इथिक्स, कम्युनिकेसन र जेनेरेटिभ एआई इन जर्नलिजमलगायत विषय पढाउने डा. भानुभक्त आचार्यले प्रशिक्षण दिएका थिए भने साइबर कानुनको विषयमा पत्रकार दुर्गालाल केसीले प्रशिक्षण दिएको थिए ।

अन्तरक्रिया कार्यक्रममा डा. आचार्यले एआई आयो सबै सकियो भन्नु गलत भएको बताउँदै उनले एआईका फाइदाबारे विद्यार्थीलाई जानकारी गराएका थिए । ‘पहिले पहिले इन्टरनेट आयो सबै कियो भन्ने थियो, त्यसपछि अन्य प्रविधिहरू पनि आए, अहिले आएको एआई पनि त्यस्तै हो, यसको प्रयोग गर्न जान्नुपर्छ’, आचार्यले भने । आचार्यले कुनै बेला फेसबुकमा कुनै ठुला व्यक्तिले आफना महत्वपूर्ण कुराहरू राख्दा त्यसको महत्व धेरै भएको भन्दै अब सबैको पहँचमा पुगेको स्मर्ण गरे ।

उनले यो एउटा सामान्य प्रविधि भएको बताए । ‘इन्टरनेट अहिले जुनसुकै पेसा र व्यवसायका लागि अपरिहार्य छ, एआई पनि त्यस्तै हो तर यो भर्खरै आएको छ, यो आयो भनेर सबै सकियो भन्ने होइन्’, आचार्यले भने । प्रविधि प्रयोग गरेर त्योभन्दा अगाडि जानु पर्ने भन्दै त्योसँग डराएर बस्न नहुने बताउँदै उनले भने, ‘प्रविधिले अप्ठ्याराहरू चिर्दै काम सजिलो बनाउन मद्दत गर्छ, डराउनुको साटो प्रविधि हातमा लिन सक्नुपर्छ ।’ कार्यक्रममा पत्रकार केसीले साइबर अपराधसम्बन्धी प्रचलित कानुन विद्युतीय कारोबार ऐन, तथा साइबर अपराधका विषयमा विद्यार्थीलाई जानकारी गराएका थिए ।

मेट्रो कलजका अध्यक्ष नगर प्रमुख टीकाराम खड्काको अध्यक्षतमा भएको कार्यक्रमको सहजीकरण मेट्रो कलेज तुलसीपुरका प्रमुख वसन्त अचाार्यले गरेका थिए । एआईको प्रभाव तमाम क्षेत्रमा तीव्र रूपमा बढिरहेको छ । यसको माध्यमबाट केवल सफ्टवेयर तथा एपको कोडिङ मात्र होइन लेखन, फोटोग्राफी, फोटो तथा ग्राफिक्स डिजाइनिङ, सम्पादन, चिकित्सा, शिक्षा आदिजस्ता काम सजिलैसँग ठुलो परिमाणमा गर्न सम्भव हुन्छ । साथै सडक, रेल तथा हवाई यातायातमा ट्राफिक नियन्त्रण, स्मार्ट कार, सेल्फ ड्राइभिङ कार, भ्याकुम क्लिनर, पर्सनल असिस्टेन्ट रोबोर्ट आदिको रूपमा पनि विश्वमा एआईको प्रयोग बढिरहेको छ । पछिल्लो केही वर्षमा एआईको प्रयोग विश्वभर तीव्र रूपमा बढिरहेको छ र पछिल्ला केही महिनामा त एआईले क्रान्तिकारी ढङ्गले आफ्नो स्थान सुरक्षित पारेको छ ।