गोरक्ष समाचारदाता
दाङ, १२ जेठ । घोराही उपमहानगरपालिका– १८ मसिना स्थित नागेश्वर महादेव पार्वती मन्दिरमा मन्दिर क्षेत्रको चौतर्फी विकासका लागि ज्ञानमहायज्ञमा आइतवारसम्म नौ लाख रुपैयाँ बढी दान सङ्कलन भएको छ ।
हालसम्म सबैभन्दा बढी घोराही–१८ मसिना निवासी ६० वर्षीय टीकाराम कुँवरले महायज्ञमा एक लाख दुई हजार नगद सहयोग गरेका छन् । मन्दिरको विकासमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरेको उनको भनाइ छ । दाताले दान दिने क्रम जारी रहेको छ । मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि श्रीमद्भागवत् महापुराण सप्ताह ज्ञानविज्ञान महायज्ञ तथा शृङ्गारिक महाआरती आयोजना गरिएको हो ।
महायज्ञ जेठ ६ देखि १३ गतेसम्म चल्ने मन्दिर व्यवस्थापन समितिका अध्यक्ष तथा महायज्ञ मुल आयोजक समितिका संयोजक झगलाल कवरले जानकारी दिए । मन्दिरकोे समग्र भौतिक पूर्वाधार निर्माण तथा अक्षयकोष स्थापनाका लागि बजेट नभएकाले महायज्ञ सञ्चालन गर्न थालेको उनले बताए । महायज्ञको कथा वाचकमा परशुराम पाण्डेय रहेका छन् ।
दलित पुजारी भएको एक मात्र मन्दिरमा भौतिक संरचना अपुग भएकाले महायज्ञ आयोजना गरिएको बताइएको छ । महायज्ञबाट सङ्कलन भएको रकमले मन्दिरलाई पूर्णता दिने व्यवस्थापन समितिले जनाएको छ । महामयज्ञमा कथा वाचन, भजनकीर्तन, देवीलीला भाँक्री तथा चेतनामूलक नाटक प्रस्तुत गरिँदै आएको प्रचारप्रसार समितिका संयोजक लालमणि कुवरले जानकारी दिए ।