घोराही–तुलसीपुर चारलेन : ठेक्का सम्झौता अझै अनिश्चित

खेमराज रिजाल
दाङ ११ जेठ । घोराही–तुलसीपुर सडकखण्डको स्तरोन्नति अझै पनि टुङ्गो लागेको छैन । जिल्लाबाट सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सांसदहरूले संसदमै कुरा उठाएपछि मदन भण्डारी राजमार्गको पैसाले चालु आर्थिक वर्षमै घोराही–तुलसीपुर चारलेन सडक बनाउन सुरु गरिने अभिव्यक्ति सार्वजनिक भए पनि यो परियोजना अझै पनि अनिश्चित छ । यो विषयमा जनप्रतिनिधि भने बोलेका छैनन् ।

तत्कालीन अवस्थामा भारतीय एक्जिम बैंकको ससर्त ऋण सहयोगमा भारतको मुवईको तथ्य इन्जिनियरिङ एण्ड इन्फा प्रोजेक्टले कामको ठेक्का लिए पनि यहाँका पेटि ठेकेदारहरूले काम सम्पन्न गर्न विभिन्न समस्या देखाएपछि तत्कालीन अवस्थामा तथ्य इन्जिनियरिङसँगको ठेक्का नेपाल सरकारले तोडेको थियो ।

त्यसपछि स्थानीय तहबाट सङ्घीय संसदमा प्रतिनिधित्व गने सांसदहरूको निरन्तर पहलमा उक्त सडक स्तरोन्नतिका लागि पुनः ठेक्का आह्वान भएको थियो । फागुन पहिलो साता प्रकाशित सूचनाअनुसार उक्त सडकखण्डको स्तरोन्नतिको आह्वान गरिएको थियो । नेपाल सरकार यातायात मन्त्रालय माताहतको यातायात विभागले मदन भण्डारी सडक परियोजनाको बजेटबाट काम हुने गरी ठेक्का आह्वान समेत भएको थियो ।

तर कार्य सम्पादन प्रमाणित प्रतिलिपीको विवादका कारण भदन भण्डारी राजमार्ग परियोजनाले यो र त्यो बाहना ठेक्का सम्झौता गर्न चाहेको छैन । यसमा यही कै जिल्लाका व्यवसायीहरूले समेत लविङ गरिरहेको अवस्था पनि देखिएको छ । यही कारण ठेक्का सम्झौता हुन नसकेको मदन भण्डारी सडक परियोजनाले भनेको छ तर यसअघि नै मदन भण्डारी सडक परियोजनाको बजेट व्यवस्थापन गरेर चालु आर्थिक वर्षमै काम सुरु हुने बताइएको थियो । नेकपा एमालेका महासचिवसँगै नेपाली कांग्रेसका केन्द्रीय सदस्य दिपक गिरीले समेत यो सडक चालु आर्थिक वर्षमै सम्झौता हुने अपेक्षा गरेका थिए ।

यो वर्षकै बजेटबाट घोराही–तुलसीपुर सडक स्तरोन्नति हुने स्वयम् प्रधानमन्त्री केपी शर्मा ओलीले दाङ जिल्ला समन्वय समितिको सभा मैदानमा बताएका थिए । त्यो बेला प्रधानमन्त्री ओलीले भनेका थिए, यो वर्ष घोराही–तुलसीपुर चारलेन, अर्को बजेटमा एयरपोर्ट । तर, प्रधानमन्त्री ओलीले दिएको त्यो अभिव्यक्ति अहिले झुठ सावित भएको छ । सरकारले घोराही– तुलसीपुर सडक स्तरोन्नतिका लागि कुनै पनि परियोजनाबाट बजेट सुनिश्चित गरेको थिएन । नागरिकलार्ई झुक्याउन कै लागि यहाँका जनप्रतिनिधिले गलत प्रचार गरेको पनि अहिले छर्लङ भएको छ ।

सडक विभागले घोराही–तुलसीपुर सडक स्तरोन्नतिका लागि टेण्डर समेत आह्वान गरेको थियो । फागुनको पहिलो सातामै ठेक्का आह्वान भएको थियो । सबै प्रक्रिया पु¥याउँदा पनि अहिले निर्माण कम्पनीलार्ई काम गर्नका लागि सहज हुने समय प्रयाप्त थियो तर राज्यका निकायले यसलाई डिसमिस बनाउन खोजेको दाङका स्थानीयबासीले बताएका छन् । घोराही–तुलसीपुर सडक स्तरोन्नतिका सन्दर्भमा सरकार र स्थानीय जनप्रतिनिधि पनि गम्भीर नभएको पनि स्थानीयको आरोप छ ।

स्थानीय जनप्रतिनिधिको प्रधानमन्त्रीसम्म दबाब पुगेपछि घोराही– तुलसीपुर सडकखण्डलाई विस्तार गर्न प्रधानमन्त्री केपी ओली समेत सहमति भएका थिए । उनी लगायत नेकपा एमालेका महासचिव र जिल्लाका जनप्रतिनिधिको दबाबमा चालु आर्थिक वर्षमै चारलेनको ठेक्का प्रक्रिया सुरु हुने नेता तथा सरकारकै प्रतिनिधिले बताएका थिए । त्यसका लागि मदन भण्डारी सडक मार्गको पैसा लिएर घोराही–तुलसीपुर सडक स्तरोन्नति गर्न र चालु आर्थिक वर्षमै काम गर्नका लागि ठेक्का आह्वान समेत गरिएको थियो । त्यसमा कम्तिमा पौने चार अर्ब बजेट समेत मदन भण्डारी सडक परियोजनाको बचत रहेको बताइएको थियो । जुन जनतालाई झुक्याउने खेल भएको स्थानीयबासीले बुझिसकेका छन् ।

अर्को आर्थिक वर्षमा मात्रै बजेट कार्यान्वयनः आयोजना प्रमुख

यसैबिच मदन भण्डारी सडक आयोजनाले चालु आर्थिक वर्षमा घोराही–तुलसीपुर सडक स्तरोन्नतिलाई कुनै पनि बजेट विनियोजन नभएको बताएको छ ।
परियोजनाका प्रमुख दिप बाराहीले आगामी आर्थिक वर्षमा मात्र उक्त सडकका स्तरोन्नतिका लागि सरकारले आवश्यक बजेट विनियोजन गर्ने बताए । ‘यो वर्ष नै गर्ने भन्या हो, तर मूल्याङ्कन नै टुंगिएको छैन, त्यसैले यो काम अर्को वर्षपछि अर्को बजेट अनुसार नै हुने छ’, परियोजना प्रमुख बाराहीले भने । चालु आर्थिक वर्षमै काम गर्ने भनिएपछि त्यसको प्राविधिक मूल्याङ्कन र निर्माण व्यवसायीलाई छनौट गर्दा यो प्रक्रिया लम्बिएको पनि उनले बताए ।

राष्ट्रिय गौरवका आयोजनामा निर्माण व्यावसायीहरूको पनि चलखेल हुने गरेको छ । यसमा राजनीतिक नेताको पनि प्रत्यक्ष एवम् परोक्ष स्वार्थ जोडिँदा यी आयोजना ओझेलमा पर्ने गरेका पनि छन् । तर, प्रधानमन्त्री स्वयमले बोलेको यो परियोजनामा यस्तै चलखेलले ढिलासुस्ती हुने होकि भन्नेमा आम नागरिकले गुनासो गरेका छन् । अब सङ्घीय सरकाले प्रस्तुत गर्ने बजेटमा यो सडकलाई सम्बोधन गरेमा मात्र यहाँका नागरिक ढुक्क हुने छन् ।

बजेट सुनिश्चित भएको थियो : सांसद

यसैबीच चारलेन सडकमा चालु आर्थिक वर्षमै बजेट सुनिश्चित भएको बताएका छन् । सङ्घीय सांसद दिपक गिरीले अर्थमन्त्रालयले चालु आर्थिक वर्षमै घोराही तुलसीपुर चारलेनको काम सुरु हुने अपेक्षा गरेका थिए । त्यसैगरी सङ्घीय सांसद रेखा शर्माले पनि चालु आर्थिक वर्षमै स्रोत सुनिश्चित भएकाले कामको प्रक्रिया अघि बढिसकेको दाबी गरिन् । तर, काम भने अझै पनि सुरुवात हुन सकेको छैन ।

यो विषयमा नेकपा एमालेका महासचिव तथा यही कै नेता शंकर पोख्रेल भने सम्पर्कमा आएनन् । एसियाली विकास बैंकको आर्थिक सहयोगमा चार वर्ष अघि दिइएको अनुदानको सडक परियोजना अन्तर्गतको करिब २० करोडको सडक आयोजना सिलान्यस गर्न आएका महासचिव शंकर पोख्रेलले घोराही–तुलसीपुर सडक ठेक्काका विषयमा भने केही बोलेनन् । उक्त सडक पनि अझै पनि कार्यारम्भ भएको छैन । सिलान्यासमा मात्रै सीमित धेरै सडक अहिले स्तरोन्नतिको पर्खाइमा रहेका छन् । यो अवस्थाले घोराही–तुलसीपुर सडकको स्तरोन्नति कम्तिमा पनि अर्को एक वर्ष धकेलिने निश्चित देखिएको छ । चारलेन नेताहरूको भजाउने अभिव्यक्ति मात्रै भएको नागरिकले बताएका छन् ।