प्रिया स्मृति गजमेर
देउखुरी, १० जेठ । विजय लघुवित्त वित्तिय संस्था लिमिटेडले गढवामा एक दिने वित्तीय साक्षरता सम्बन्धि प्रशिक्षण दिएको छ । स्थानीय समुदायमा वित्तीय अनुशासन, बचत, कर्जा व्यवस्थापन, बीमा, विप्रेषण र डिजिटल वित्तीय सेवाहरूको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा सहभागी भएकालाई लघुवित्तभित्र रहेर गर्नुपर्ने काम कर्तव्य र अधिकार, बचत कसरी गर्ने, आम्दानीका स्रोत के के हुन्, ऋण कसरी सदुपयोग गर्ने, बैंक तथा वित्तिय संस्थाले कस्ता ऋणीलाई कालोसूचीमा राख्ने गर्दछ भन्ने विषयमा प्रशिक्षण प्रदान गरेको थियो ।
विजय लघुवित्त वित्तिय संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत तथा कलस्टर नं. १५ का प्रमुख कुमबहादुर थापाले सहभागीहरूलाई कर्जाको सदुपयोग, समयमै किस्ता भुक्तानी, कालोसूचीमा पर्ने जोखिम, र व्यवसायिक योजना निर्माणका विषयमा जानकारी दिएका थिए । साथै उनले वित्तीय अनुशासन कायम राख्न र अनावश्यक खर्च कटौती गर्न सुझाव दिए ।
कार्यक्रमका प्रमुख अतिथि तथा गढवा गाउँपालिका–६ का वडा अध्यक्ष वीरबहादुर आलेले यस्ता तालिमहरूले स्थानीयलाई वित्तीय निर्णयमा सचेत बनाउने र आर्थिक रूपमा सशक्त बनाउन सहयोग पु¥याउने बताए । उनले कर्जा लिएपछि त्यसको सदुपयोग गरी समयमै भुक्तानी गर्नुपर्नेमा जोड दिए । सहभागीहरूले तालिमबाट प्राप्त ज्ञानलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाएका छन् ।
विजय लघुवित्त वित्तिय संस्थाका केन्द्रीय कार्यालयका अनुगमन अधिकृत तथा कलस्टर नं. १५ का प्रमुख कुमबहादुर थापाको अध्यक्षता एवं गढवा गाउँपालिका– ६ का वडा अध्यक्ष वीरबहादुर आलेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । गढवा शाखा प्रमुख निमबहादुर थापाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संहजीकरण विजय लघुवित्त वित्तिय संस्थाका कर्मचारी अर्जुनकुमार सुवेदीले गरेका थिए ।
विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरका ४५ जिल्लामा १३५ शाखा कार्यालयमार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आएको छ। संस्थाले विपन्न समुदायलाई लक्षित गरी वित्तीय ज्ञान, सीप, र बैंकिङ्ग आदत विकास गर्न यस्ता तालिमहरूलाई निरन्तरता दिँदै आएको छ।