लमहीमा राजस्व सङ्कलन : लक्ष्य १४ करोड, सङ्कलन साढे पाँच करोड

प्रिया स्मृती गजमेर
देउखुरी, ९ जेठ । लमही नगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा करिब साढे पाँच करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । आर्थिक वर्ष २०८१÷०८२ को जेठ ६ गतेसम्म पाँच करोड ३१ लाख रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको हो ।

आर्थिक वर्ष ०८१÷०८२ मा लमही नगरपालिकाले १४ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको छ । लमहीले आर्थिक वर्ष ०८०÷०८१ मा २३ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकोमा पाँच करोड ९२ लाख ४८ हजार आठ सय ५४ रुपैयाँ नौ पैसा मात्र राजस्व सङ्कलन गरेको राजस्व शाखा प्रमुख रेशमलाल शर्माले जानकारी दिएका छन् ।

लमहीमा सबैभन्दा धेरै नदीजन्य पदार्थबाट एक करोड ७५ लाख ५१ हजार पाँच सय ६९ रुपैयाँ राजस्व सङ्कलन भएको छ । यसैगरी साउनदेखि जेठ महिनाको ६ गतेसम्म सम्पति करबाट २३ लाख ४८ हजार दुई सय तीन रुपैयाँ, भूमिकर तथा मालपोतबाट २५ लाख २७ हजार सात सय ३५ रुपैयाँ, बहाल करबाट २९ लाख ९७ हजार चार सय ९९ रुपैयाँ ४४ पैसा, अन्य करबाट पाँच हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।

सरकारी सम्पत्तिको बहालबाट प्राप्त करबाट नौ लाख ६२ हजार रुपैयाँ, कृषि उत्पादनको बिक्री करबाट पाँच सय, सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त रकम ७६ लाख आठ सय रुपैयाँ, अन्य बिक्रीबाट प्राप्त रकम ७० हजार सात सय ७२ रुपैयाँ, अन्य सेवा शुल्क तथा बिक्रीबाट १७ लाख ३२ हजार ७९ रुपैयाँ राजस्व सङ्कलन भएको शाखा प्रमुख शर्माले जानकारी दिएका छन् ।

न्यायिक दस्तुरबाट नौ सय रुपैयाँ, शिक्षा क्षेत्रको आम्दानीबाट ८५ हजार दुई सय ५० रुपैयाँ, परीक्षा शुल्कबाट एक लाख ९२ हजार पाँच सय ५० रुपैयाँ, अन्य प्रशासनिक सेवा शुल्कबाट ६८ हजार रुपैयाँ, नक्सापासबाट ३३ लाख ५५ हजार पाँच सय ४० रुपैयाँ, सिफारिसबाट ४६ लाख ८९ हजार एक सय ६३ रुपैयाँ, व्यक्तिगत घटना दर्ताबाट १३ लाख एक हजार चार सय रुपैयाँ, नाता प्रमाणितबाट दुई लाख १२ हजार दुई सय ७० रुपैयाँ र अन्यबाट नौ लाख ७३ हजार छ सय ४३ रुपैयाँ राजस्व जम्मा भएको नगरपालिकाले जनाएको छ ।

व्यवसाय रजिस्ट्रेसनबाट २७ लाख ८४ हजार एक सय ३० रुपैयाँ, न्यायिक दण्ड, जरिवाना र जफतबाट एक सय ५० रुपैयाँ, प्रशासनिक दण्ड, जरिवाना र जफतबाट पाँच लाख ४३ हजार दुई सय ९९ रुपैयाँ, अन्य राजस्वबाट ९९ लाख ३६ हजार तीन सय ३३ रुपैयाँ, व्यवसाय करबाट ११ हजार दुई सय ५० रुपैयाँ, मनोरञ्जन करबाट २७ हजार रुपैयाँ र विज्ञापन करबाट सात लाख सात हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

शाखा प्रमुख शर्माका अनुसार लमहीको मुख्य आयस्रोत नदीजन्य पदार्थ भएको र समयममा ठेक्का टेन्डर गर्न नसक्दा राजस्व सङ्कलनमा कमी आएको बताए । त्यससँगै लमही क्षेत्र चुरे वन क्षेत्रमा पर्ने र चुरेले समयमा उत्खनन् गर्ने अनुमति नदिँदा ठेक्कामा ढिलाइ हुने र त्यसको असर राजस्व सङ्कलनमा पर्ने गरेको प्रमुख शर्मा बताउँछन् । नदीजन्य पदार्थ उत्खनन् गर्नका लागि केही स्थानमा टेन्डर गरिए पनि प्राविधिक समस्याका टेन्डर रद्द गर्नुपर्दा त्यसको असर राजस्वमा पर्न गएको बताए । उनका अनुसार लमहीले चालु आर्थिक वर्षमा हालसम्म सात स्थानमा टेन्डरमार्फत् नदीजन्य पदार्थ उत्खनन्को काम गरिरहेको छ ।

लमही नगरपालिका नगर प्रमुख जोगराज चौधरीले लक्ष्य भेटाउन नसके पनि आर्थिक वर्षको अन्तिमसम्म सात करोड रुपैयाँसम्म राजस्व सङ्कलन हुने बताउँछन् । चालु आर्थिक वर्षको अझै दुई महिना बाँकी रहेको र यो समयमा बढी राजस्व सङ्कलन हुने भएकाले सात करोड बढी नै राजस्व सङ्कलन हुने नगर प्रमुख चौधरीले बताए ।