अमरराज आचार्य
दाङ, ९ जेठ । ‘प्रकृति र दिगो विकास समृद्धिको मुल आधार’ भन्ने नाराका साथ अन्तर्राष्ट्रिय जैविक विविधता दिवस मनाइएको छ । डिभिजन वन कार्यालय दाङले बिहिबार घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा एक कार्यक्रमको आयोजना गरी दिवस मनाएको हो ।
कार्यक्रममा बोल्दै डिभिजन वन कार्यालय दाङका प्रमुख सिनियर डिभिजनल वन अधिकृत वेसीन्द्रराज सुवेदीले नेपाल जैविक विविधतामा धनी रहेको बताए । जैविक विविधको सदुपयोग गरेर समृद्धिको बाटो खोज्नतर्फ सबै लाग्नुपर्ने उनले बताए । वातावरण सन्तुलनमा जैविक विविधताको महत्वपूर्ण भूमिका रहने बताउँदै सुवेदीले वातावरणीय सन्तुलन, पानीको प्राकृतिक शुद्धीकरण, प्रदूषण नियमन, रासायनिक पदार्थको शोषण, जलचक्रको सन्तुलन, प्राणवायु उत्पादन, कार्बन सञ्चिती, बाढी तथा पहिरो नियन्त्रण जस्ता वातावरणीय प्रणालीलाई कायम राख्न जैविक विविधताको अहम् भूमिका रहने बताए ।‘कृषि उत्पादन, खाद्य सुरक्षा, स्वास्थ्य र पोषण, स्थानीय ज्ञान, सिप तथा संस्कृति, जलस्रोत तथा प्राकृतिक सौन्दर्यजस्ता विषय जैविक विविधतासँगै जोडिएका हुन्छन्’, उनले भने ।
नेपाली समाजका विभिन्न समुदायको वनस्पति र जीवजन्तुसँग सांस्कृतिक सम्बन्ध रहेको र धर्मशास्त्र अनुसार विभिन्न जीवजन्तु र वनस्पतिलाई पवित्र मानेर सम्मान तथा पूजा समेत गरिने भएकाले जैविक विविधतालाई जीवनशैलीकै पाटोको रूपमा समेत लिन सकिने उनको भनाइ थियो । जीव विज्ञान तथा आनुवांशिक अध्ययनबाट रोग निदान गर्ने औषधिको आविष्कार हुने भएकाले यसले मानिसको स्वास्थ्यमा सुधार तथा औषत आयुमा वृद्धि भइरहेको सुवेदीले बताए ।
उनले आनुवांशिक विविधताले रोगसँग लड्ने क्षमताको विकास गर्नुका साथै वातावरणीय परिवर्तनसँग अनुकूलित हुन सहयोग पुग्ने बताए ।‘नेपाललाई विश्वकै जीवन्त जैविक विविधताको सङ्ग्रहालय भनिन्छ’, उनले भने । विश्वमानचित्रमा भौगोलिक हिसाबले सानो मुलुक रहेको विश्वको कुल भूभागको केवल ०.१ प्रतिशत हिस्सा ओगट्ने भए पनि जैविक विविधताको हिसाबले नेपालले विश्वको करिब चार प्रतिशत हिस्सा ओगट्छ ।
जैविक विविधताको हिसाबले नेपाल विश्वमा २५औँ र एसियामा ११औँ स्थानमा पर्दछ । यहाँ एक सय १८ किसिमका पारिस्थितिक पद्धति पाइन्छन् । सामान्य हिसाबमा जैविक विविधता भनेर विभिन्न प्रकारका वनस्पति, जनावर र सूक्ष्म जीवहरूको विविधतालाई बुझिन्छ । जैविक विविधताले प्राणी, वनस्पति तथा सुक्ष्म जीवात्माहरूको जातीय–प्रजातीय विविधता, आनुवंशिक विविधता तथा पारिस्थितिक प्रणालीको विविधतालाई जनाउँदछ ।
जैविक विविधताकै कारण पृथ्वी सजिव ग्रह तथा बस्नयोग्य बनेको बताउँदै उनले जैविक विविधता मानव जीवन र अस्तित्वको आधार रहेको बताएका थिए ।पाण्डवेश्र धार्मिक वनका अध्यक्ष गणेशकुमार अधिकारीले धार्मिक वन संरक्षण गरेर हरियाली बनाउने काम भएको बताए । ३३ दशमलभ पाँच हेक्टरमा धार्मिक वन बनाएर अगाडि बढिएको उनको भनाइ छ । यसले वातावरण संरक्षण गर्न भूमिका खेलेको बताए । हरियाली बढेसँगै अहिले विविधि प्रजातिका चराचुरुङ्गी, वन्यजन्तुको सङ्ख्यामा बृद्धि भएको उनले बताए ।
धार्मिक वनमा डढेलो लाग्न नपाएका कारण जङ्गली चराचुरुङ्गीलाई सहज भएको उनले बताए । डढेलो लागेको क्षेत्रबाट यहाँसम्म आएर बसोवास गर्ने गरेको अध्यक्ष अधिकारीले बताए । सबैको सहयोगबाटै वन संरक्षणमा सहयोग पुगेको उनले बताए । खड्गदेवी सामुदायिक वनका अध्यक्ष कमलराज अधिकारीले संरक्षणमा उपभोक्ताले भूमिका खेलेको बताए । पाण्डवेश्वर सामुदायिक वनका अध्यक्ष श्रीधर शर्मा पौडेलले सबैको बाँच्न पाउने अधिकार सुनिश्चितता गरिनु पर्ने बताए । व्यक्तिगत स्वार्थका लागि काम गर्न नहुने उनको भनाइ छ । जैविक विविधताको संरक्षण गर्नु सबैको दायित्व भएको उनले बताए । जैविक विविधताको संरक्षण गर्न सके मात्र मानवको अस्तित्व जोगिने उनले बताए । कार्यक्रमको सहजीकरण डिभिजन वन कार्यालय दाङक बरिष्ठ वन अधिकृत टेकनप्रसाद आचार्यले गरेका थिए ।