गोरक्ष समाचारदाता
लमही, २ जेठ । धार्मिक जागरण र अक्षकोष स्थापनाको उद्देश्यसहित लमही नगरपालिका–९ स्थित अमिलिया श्री गौरीशंकर शिवालय प्राङ्गणमा सम्पन्न महायज्ञमा कुल १६ लाख ११ हजार ६६६ रुपैयाँ नगद सङ्कलन भएको छ ।
गएको वैशाख १४ देखि २० गतेसम्म सञ्चालन भएको ‘श्रृङ्गारिक महा–आरती धर्म जागरण सप्ताह महा–महोत्सव २०८२’ को क्रममा उक्त रकम सङ्कलन भएको हो । सङ्कलित रकममध्ये ६ लाख ६२ हजार ५७६ रुपैयाँ अक्षकोषको रूपमा भविष्यमा हुने धार्मिक कार्य तथा मन्दिर सञ्चालनका लागि सुरक्षित गरिएको जानकारी आयोजक समितिले दिएको छ ।
महायज्ञका सङ्कल्पकर्ता देवेन्द्र सन्जेल रहेका थिए भने वाचकको रूपमा श्री ऋषिकेश उपाध्याय थिए । १०८ महाआरतीको सङ्कल्प अनुसार ५५औँ आरती चाँदनीचोक, अमिलियामा सम्पन्न भएको थियो । आर्थिक पारदर्शिताको प्रतिबद्धता जनाउँदै आयोजकले सार्वजनिक सुनुवाई कार्यक्रम समेत आयोजना गरेको थियो ।
जसमा लमही ९ का वडा अध्यक्ष भेषबहादुर केसी प्रमुख अतिथि रहेका थिए । १० हजार रुपैयाँ वा सोभन्दा बढी सहयोग गर्ने दाताहरूको नाम समावेश हुनेगरी विशेष शिलालेख स्तम्भ निर्माण गरिने घोषणा गरिएको छ । कार्यक्रममा सबैभन्दा ठूलो रकम एक लाख २१ हजार रुपैयाँ दान गर्ने वडा अध्यक्ष केसीलाई ‘महानायक’ को रूपमा सम्मान गरिएको थियो ।
कार्यक्रममा मन्दिर व्यवस्थापन समिति, स्थानीय सहकारी संस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी र अन्य समाजसेवीको उल्लेखनीय उपस्थिति रहेको थियो