भिक्टोरीया जर्नल बिमोचन

घोराही, २ जेठ । घोराहीस्थित भिक्टोरीया इन्टरनेशनल कलेजले प्रकाशन गरेको अनुसन्धानमुलक जर्नल भिक्टोरीय जर्नल अफ म्यानेजमेन्ट शुक्रबार बिमोचन गरिएको छ ।

गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत नोवल जिएमको अध्यक्षता र पोखरा विश्वविद्यालयका सह प्राध्यापक भरतराम ढुंगानाको प्रमुख आतिथ्यतामा कलेजमा सम्पन्न कार्यक्रममा जर्नल बिमोचन गरिएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी ढुंगानाले अनुसन्धानमुलक लेखनले शैक्षिक उन्नती मापन गर्ने भएकाले कलेजले अनुसन्धानमुलक लेखनमा जोड दिनुपर्ने सुझाव दिए । जर्नलका प्रधान सम्पादक समेत रहेका ढुंगानाले जर्नलको गुणस्तर कायम गर्न अधिकतम प्रयास गरिएको बताए ।

गोरखा ग्रुपका प्रमुख कार्यकारी अधिकृत जिएमले भिक्टोरीय कलेजलाई अध्ययन र अनुसन्धानको केन्द्रका रुपमा विकास गर्न बिद्यार्थी र प्राध्यापकहरुमा सिर्जनशिलता जरुरी रहेको बताए । गोरखा ग्रुपका अध्यक्ष बिष्णु घर्ती मगरले लाहुरेहरुले शुरु गरेको शैक्षिक समूह अहिले एक उदाहरणीय अगुवा संस्थाका रुपमा स्थापित भएको बताए ।

बिद्यार्थी र प्राध्यापकहरुलाई अध्ययन र अनुसन्धानमा प्रोत्साहन गर्न जर्नल प्रकाशन शुरु गरेको कलेजका कार्यक्रम निर्देशक केवी चौधरीले बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसीले अनुसन्धानमुलक जर्नल शैक्षिक संस्थाको प्रगतिको मापन भएकाले यसको निरन्तरता हुनुपर्ने धारणा व्यक्त गरे । कलेजका प्राध्यापक तारा बहादुर केसीले व्यवस्थापन क्षेत्रमा अनुसन्धान गर्नुपर्ने क्षेत्र व्यापक भएकाले त्यसतर्फ लेखन बढाउनुपर्ने सुझाव दिए ।

कार्यक्रमको सञ्चालन बिबिए आठौं सेमेष्टरकी छात्रा प्रसना बस्नेतले गरेकी थिइन् । कार्यक्रममा बिद्यार्थीहरुले बिभिन्न गित, नृत्य र साहित्यिक सिर्जनाहरु प्रस्तुत गरेका थिए ।