प्रमोद आचार्य
दंगीशरण, २ जेठ । दंगीशरण गाउँपालिकाले किसानलाई कृषि आधुनिकीकरणमा टेवा पु¥याउने उद्देश्यले ५० प्रतिशत अनुदानमा ६३ लाख रुपैयाँ बराबरको कृषि औजार सामग्री वितरण गरेको छ ।
गाउँपालिकाको आर्थिक वर्ष २०८१÷०८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत नेपाल महिला सेवा केन्द्रको आयोजना, दंगीशरण गाउँपालिकाको आर्थिक सहयोग तथा हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोगमा किसानलाई खेत जोत्ने मिनीट्रिलर, पावरट्रिलर, धान काट्ने रिपर, सिँचाइका लागि मोटरलगायतका सामग्री सहयोग गरेको हो ।
पालिकाले विभिन्न वडामा रहेका कृषि समूह र सहकारीमार्फत् किसानलाई मिनीट्रिेलर ४२ वटा, पावरट्रिलर चारवटा, रिपर चारवटा, चापकटर १४ वटा, पम्पसेट छ वटा, ब्याट्रीवाला स्प्रे एक सय १९ वटा, एचपी पानीभित्र डुबाउने मोटर ५३ वटा, एचपी पानीभित्र डुबाउने मोटर छ वटा, एचपी पानी बाहिर राख्ने मोटर पाँचवटा, एचपी पानी बाहिर राख्ने मोटर ११ वटा किसानलाई सहयोग गरिएको कृषि शाखा प्रमुख सरु भुसालले जानकारी दिइन् ।
गाउँपालिकाले बिहिबार एक कार्यक्रमको आयोजना गरी गाउँपालिका अध्यक्ष शम्भु गिरीले किसानलाई कृषि औजार हस्तान्तरण गरेका थिए । हस्तान्तरणपछि बोल्दै गाउँपालिका अध्यक्ष गिरीले किसानको पनि सहभागिता गराउन ५० प्रतिशत अनुदानको व्यवस्था गरेको बताए । कुनै पनि सामग्रीमा सरकारसँगै किसानको पनि अपनत्व हुन आवश्यक रहेको भन्दै अध्यक्ष गिरीले भने, ‘कुनै पनि वस्तु निःशुल्क वितरण गर्दा किसानको अपनत्व नहुने हुँदा हामीले ५० प्रतिशत अनुदानमा सामग्री उपलब्ध गराएका छौँ ।
यसले किसानमा जिम्मेवारीबोध गराउने विश्वास छ ।’ गाउँपालिका अध्यक्ष गिरीले प्राप्त औजारको सही सदुपयोग नगर्ने फर्म वा समूहलाई कालोसूचीमा राखिने बताएका थिए । अध्यक्ष गिरीले दंगीशरण गाउँपालिका कृषिमा निर्भर रहेकाले रासायनिक मलको विकल्पमा जैविक मल उद्योग स्थापनाको योजनाका साथ अघि बढेको बताएका थिए ।
गाउँपालिका उपाध्यक्ष पिमा वली खड्काले वास्तविक किसानलाई औजारको सही सदुपयोग गर्न आग्रह गरिन् । उनले भनिन्, ‘औजार वितरणका लागि विनियोजित बजेटभन्दा धेरै माग भएकाले अहिले प्राप्त नगरेका किसानलाई आउँदो आर्थिक वर्षमा प्राथमिकता दिइनेछ ।’ उपाध्यक्ष खड्काले अनुदानमा प्राप्त सामग्रीको सामूहिक प्रयोगको संस्कृति विकास गर्नसमेत जोड दिइन् ।
देवकोटा बहुउद्देश्यीय कृषि फर्मका सञ्चालक सुशील देवकोटाले गाउँपालिकाले कृषकलाई लाभ मिल्ने गरी कृषि औजार वितरण गरेकोमा खुसी व्यक्त गरे । उनले कृषिको आधुनिकीकरण गर्न कृषि औजारले सहयोग गर्ने बताए । कार्यक्रममा कृषि औजार वितरण कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत कर्णबहादुर नेपाली, कृषि शाखा प्रमुख सरु भुसाल, कृषि अधिकृत मानबहादुर डाँगी, श्रीयासा आचार्य, हेफर प्रोजेक्टकी गोमा भट्टराईलगायतको सहभागिता रहेको थियो ।