गोरक्ष समाचारदाता
दाङ, ३० वैशाख । घोराही उपमहानगरपालिका १५ तारापुञ्ज टोलस्थित नमुना बहुभाषिक शिक्षालयले शिक्षक तथा अभिभावकहरूको प्रथम भेला सम्पन्न गरेको छ । यसै वर्षदेखि सञ्चालनमा आएको शिक्षालयले भेलासहित प्रशिक्षणको कार्यक्रम समेत गरेको छ ।
शिक्षालयका अध्यक्ष गणेश घर्ती मगरको अध्यक्षता एवम् प्याब्सन घोराहीका अध्यक्ष बालकृष्ण ओलीको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको थियो । भेलालाई सम्बोधन गर्दै प्रमुख अतिथि ओलीले बालबालिकालाई मोबाइलको लतबाट टाढा राख्न अभिभावकलाई सुझाव दिएका थिए । उनले बालबालिकालाई प्रकृतिमा रमाउन अभिभावकले भूमिका खेल्नुपर्ने बताए । बिदाका दिनहरूमा बालबालिकालाई मोबाइल दिएर घरमा थुन्ने होइन, प्राकृतिक सौन्दर्य स्थलहरूमा घुमाउन ओलीले अभिभावकलाई आग्रह गरेका थिए ।
भेलाकी विशिष्ट अतिथि एवम् प्रशिक्षक कञ्चन गुरुङले विद्यार्थीहरूको सर्वाङ्गिन विकासका लागि विद्यालयको मात्र नभइ अभिभावकको पनि महत्त्वपूर्ण भूमिका रहने बताए । असल अभिभावकत्व र मल्टिपल इन्टेलिजेन्सका विषयमा शिक्षक र अभिभावकलाई प्रशिक्षण दिएका थिए । भेलाका अर्का वक्ता प्रेस चौतारी नेपाल घोराही नगर कमिटीका अध्यक्ष महेश बस्नेतले बालबालिकाहरूको भविष्यप्रति विद्यालय प्रशासन, शिक्षक र अभिभावकहरू संवेदनशील हुनुपर्ने बताए । उनले विद्यालयको नाम अनुरुपको प्रतिफल निकाल्न विद्यालय परिवार कटिबद्ध भएर लाग्नेमा विश्वास व्यक्त गरे । प्याब्सन घोराही नगर कमिटीका सदस्य समेत रहेका बस्नेतले अभिभावकको सपना, विद्यार्थीको भविष्य र विद्यालयको लक्ष्य पूरा गर्न सबै पक्ष एकताबद्ध भएर अगाडि बढ्न आग्रह गरेका थिए ।
विद्यालयका प्रिन्सिपल बिष्णु हमालले शैक्षिक विकासका लागि तालिम अपरिहार्य रहेको बताउँदै शिक्षक र अभिभावकका लागि विद्यालयले तीन प्रतिशत लगानी तालिम तथा प्रशिक्षणमा खर्च गर्ने जानकारी गराएका थिए । उनले तालिम र प्रशिक्षणबाट शिक्षक र अभिभावकका क्षमता विकास गर्न सकिने भएकाले विद्यालयको लक्ष्य पूरा गर्न आफू यसतर्फ केन्द्रित रहेको उल्लेख गरे उक्त अवसरमा प्रिन्सिपल हमालले अभिभावकबाट उठेका जिज्ञासालाई समेत स्पस्ट पारेका थिए ।
शिक्षालयकी शिक्षक सरिता घर्तीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा विद्यार्थीहरू कक्षा यूकेजीकी सुहाना क्षेत्री, कक्षा १ कि प्रतीक्षा कंवर र कक्षा २ की श्रीषा भट्टराईले पनि स्वागत प्रस्तुति दिएका थिए । सो अवसरमा अभिभावकहरू तिलकराम अधिकारी र रिमा कंवरले आफ्ना धारणा राखेका थिए । उक्त भेलाको सहजीकरण शिक्षक सामना थापा मगरले गरेका थिए ।