घोराहीको तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ

गोरक्ष समाचारदाता
दाङ, ३१ वैशाख । घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१÷०८२ को तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको छ । घोराही उपमहानगरपालिकाको आयोजना तथा सामाजका लागि रूपान्तरण पैरवी नेपालको सहजीकरणमा मङ्गलवार घोराही उपमहानगरपालिका–१६ को वडा कार्यालयमा सार्वजनिक सुनुवाइ कार्यक्रम भएको हो ।

सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागीले विकास निर्माणका कार्यक्रममा भएका ढिलासुस्ती हटाउनुपर्नेसँगै खानेपानी, सडक निर्माण, भवन, सामुदायिक विद्यालयको गुणस्तरीय शिक्षा, महिला स्वास्थ्य स्वयम्विकाको सेवासुविधा वृद्धि गर्नुपर्ने, विपद्को पूर्वतयारी, बाल क्लबका लागि खेलकुद सामग्री उपलब्ध गराउनुपर्नेसँगै हरेक कार्यक्रममा सवै समुदायको समानुपातिक प्रतिनिधित्वको माग गरेका थिए ।
सार्वजनिक सुनुवाइ कार्यक्रममा सर्रा खानेपानी तथा सरसफाइ उपभोक्ता सस्थाका अध्यक्ष रमेश जिसीले अधुरो खानेपानी योजनालाई पुरा गर्नका लागि पहल गरिदिन आग्रह गरे ।

कपासीमा खानेपानीका लागि डिपोरिङ, ओभरहेड ट्याङकी निर्माणसँगै टयाङ्कीबाट आउने पानी सुद्धिकरण गरेर उपभोक्ताको घरसम्म पु¥याउनका लागि फिल्टर जडान गरे पनि उपभोक्ताको घरसम्म पु¥याउनका लागि विस्तार गरिएको पाइप सडक विस्तारका क्रममा फुट्दा पानी वितरणमा समस्या भएको भन्दै पाइपका लागि पहल गरिदिन आग्रह गरे । पानी विस्तारका लागि नयाँ पाइप विस्तार गर्नुपर्ने भए पनि कतैबाट सहयोग नपाउँदा समस्या भइरहेको अध्यक्ष जिसीले बताए । घोराही उपमहानगरपालिका–५ धर्नास्थीत हरियाली टोल विकास सस्थाको दुईकोठे भवन निर्माण सुरु भएको दुई वर्ष बढी भयो । जमिन ढलान गरेर टिनको छानो हालेपनि भवनको गाह्रो उठाउने पैसा नहुँदा भवन अलपत्र परेको छ ।

भवन निर्माणका लागि बजेटको व्यवस्था गरिदिए अलपत्र अवस्थामा पर्ने थिएन सार्वजनिक सुनुवाइ कार्यक्रममा सहभागी भएकी हरियाली टोल विकास संस्थाकी अध्यक्ष शोभा पौडेलले भनिन् । कार्यक्रममा सहभागी अन्य वक्ताहरूले विकास निर्माण, शिक्षा, स्वास्थ्यलगायतका बारेमा कुरा उठाएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा स्थानीयका गुनासो सुन्दै नगर प्रमुख नरुलाल चौधरीले स्थानीय जनतालाई सहज रूपमा सेवा प्रवाहसँगै विकास निर्माणका कार्यलाई समयमै गुणस्तरीय रुपमा सम्पन्न गर्नका लागि आपूm प्रतिवद्ध रहेको बताए ।

स्थानीय सरकारको क्षेत्राअधिकारभित्र पर्ने योजनाहरूलाई सम्पन्न गर्नका लागि बजेटको व्यवस्था हुने भन्दै क्षेत्रअधिकारभन्दा बाहिर जान नमिल्ने कानुनी व्यवस्थाका कारण सर्रा खानेपानीका लागि बजेट छुट्याउन नसकेको बताए । तर जतिसक्यो चाडै सर्रा खानेपानीलाई सञ्चालन गर्दै जनतालाई सहज रुपमा खानेपानी पु¥याउनका लागि आफ्नोतर्फबाट पहल गर्ने बताए । कार्यक्रममा उपप्रमुख हुमा डिसीले घोराही बालमैत्री घोषणा भएको नगर भएको भन्दै बालमैत्री शासन व्यवस्थाअन्तर्गत बाल क्लब गठनदेखि खेलकुदका सामग्री उपलब्ध गराउनेलगायतका काम भइरहेको बताइन ।

प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, घोराही उपमहानगरपालिका वडा नं. ५ का अध्यक्ष विवेक बुढाथोकी, वडा नं. ७ का अध्यक्ष खोपीराम चौधरी, वडा नं. १६ का अध्यक्ष तारा डाँगीलगायतले सहभागीले उठाएका प्रश्नको जवाफ दिएका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रममा वडा नं. ५, ६, ७ र १६ नम्वर वडाका सचिवले चालु आर्थिक बर्षको हालसम्म भएको प्रगति विवरण पेस गरेका थिए । सार्वजनिक सुनुवाइ कार्यक्रमको सहजीकरण पत्रकार छवि पुरीले गरेका थिए ।