दाङ,२९ बैशाख । पत्रकार भेषराज पौडेलको निधन भएको छ । बर्दियाको गुलरिया नगरपालिकामा बस्दै आएका ७५ बर्षीय पुराना पत्रकार पौडेलको सोमवार निधन भएको हो । पौडेल केही समयदेखि अस्वस्थ रहेका थिए ।
२००७ सालमा दाङको घोराही उपमहानगरपालिका–१८ महदेवामा जन्मिभएका पौडेल २०४८ सालमा बसाईसराई गरेर बर्दियाको गुलरिया नगरपालिका गएका थिए । स्वर्गीय पौडेलका एक श्रीमति, दुई छोरा र तीन छोरीहरु रहेका छन् । पौडेलले पञ्चायती व्यवस्थाको समयमा २०४२ सालमा दाङको घोराहीबाट ‘जय नेपाल’ नामक साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए ।
पञ्चायती व्यवस्थाले रजत जयन्ती मनाइरहेको समयमा राजनीतिज्ञ एवं समाजसेवी बलदेव शर्मा मजगैयाँ र पत्रकार एवं शिक्षासेवी बिनोद पोख्रेलको सल्लाहमा स्वर्गीय पौडेलले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रशासनले २०४२ साल अजोज २२ गते पत्रिका प्रकाशनका लागि अनुमति दिएको थियो । नागरिकमा प्रजातान्त्रिक चेतना अभिवृद्धिका लागि साप्ताहिक पत्रिका प्रकाशन गरेका थिए । जय नेपाल साप्ताहिक तत्कालिन समयमा प्रत्येक बुधवार ८ पृष्ठमा प्रकाशित हुने गरेको थियो । पत्रिकाको प्रकाशक तथा सम्पादक पौडेल रहेका थिए ।
प्रजातन्त्रप्रति विशेष झुकाव राख्ने पौडेलले पत्रिकामार्फत निरङ्कुश पञ्चायती व्यवस्थालाई व्यंग्यात्मक र तर्कसंगत ढंगले प्रश्न उठाउँदै आएका थिए । त्यसबाफत पौडेलले प्रशासनबाट बारम्बार निगरानी र दबाबको सामना गर्नुपरेको थियो । २०४५ भदौ २९ गते प्रकाशित ‘जय नेपाल’ को बर्ष ३ अंक ३१ मा ‘नेपालले पाठ सिक्नुपर्छ’ शिर्षकको सम्पादकीयमा बर्मामा २६ वर्षपछि समाप्त भएको तानाशाही व्यवस्थाको चर्चा गर्दै नेपालले पनि समयमै सचेत हुनुपर्ने सन्देश दिइएको थियो । उक्त सम्पादकीय लेखेको आधारमा पत्रकार पौडेललाई पक्राउ गरिएको थियो ।
प्रशासनले उनलाई ‘सम्पादकीय लेख्ने वलदेव मजगैयाँले हो भनेर स्वीकार गर्न गरेको प्रस्ताव पौडेलले अस्वीकार गर्दै सम्पादकीय आफूले नै लेखेको भन्दै अडान लिएका थिए । त्यसपछि उनलाई ‘राजकाज अपराध र सजाय ऐन २०१९’ अन्तर्गत दफा ६(२) अनुसार अभियोग लगाउँदै २०४५ असोज १२ गते थुनुवा पुर्जी दिइयो । प्रजातान्त्रिक मूल्य र स्वतन्त्र पत्रकारिताका पक्षमा निडर उभिएका पत्रकार पौडेलको योगदान नेपाली पत्रकारिता इतिहासमा अविस्मरणीय रहनेछ । पत्रकारितासँगै पौडेल तत्कालिन समयमा विभिन्न संघसस्थाहरु स्थापना गरेर प्रजातान्त्रिक चेतना अभिवृद्धिका लागि योगदान गरेका थिए ।