गोरक्ष समाचारदाता
दाङ,२८ बैशाख । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव मोहन बैद्य ‘किरण’ले कम्युनिस्ट पार्टीहरु एक ठाउँमा आएमात्रै समाज रुपान्तरणको अभियानले सार्थकता पाउने बताएका छन् । क्रान्तिकारी कम्युनिष्ट पार्टीको ४ नम्बर व्यूरो (राप्ती) ले घोराही उपमहानगरपालिका–१५ रतनपुरमा बैद्यकी आमा स्वर्गीय जानकादेवि उपाध्याय वैद्यको सम्झनामा आयोजना गरेको श्रद्धाञ्जली सभा कार्यक्रमलाई सम्वोधन गर्दै महासचिव ‘किरण’ले क्रान्तिकारी शक्तिहरु एक भएमात्रै समाज रुपान्तरणको अभियान सुदृढ हुने बताएका हुन् ।
स्वर्गीय जानकाका जेठा छोरा समेत रहेका वैद्यले भने, ‘क्रान्ति अझै अँधुरो छ । कम्युनिस्ट आन्दोलनमा विभाजन छ । संघीय जनगणतन्त्रको स्थापना गर्दै वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा जाने महान अभियान पुरा गर्न सबै कम्युनिस्ट शक्तिहरु एकतावद्ध हुनुपर्छ । ’ वैद्यले आमाले आफूहरुलाई रुपान्तरणको लागि प्रेरणा दिएको बताए । बैद्यले पञ्चायती दमन, जनयुद्धकालीन समयमा आमाबाट धेरै सहयोग र समर्थन प्राप्त भएको बताए । आमाले परिवारलाई रुपान्तरणको लागि अभिप्रेरित गरेको बताए ।
कार्यक्रममा प्रमुख अतिथि क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका स्थायी समिति सदस्य हरीभक्त कँडेल प्रतिकले केहि कम्युनिस्ट पार्टीहरु सत्ता स्वार्थमा लिप्त भएको बताए । किरणकी आमा जानकादेवी वैद्य उपाध्यायको जन्म विसं १९८३ पुस १५ गते अर्घाखाँची जिल्लाको अर्जुन अमलाचौरमा भएको थियो । उनको मृत्यु २०८२ बैशाख २४ गते भएको हो । कार्यक्रममा जानकादेवीका कान्छा छोरा मधुसुदन वैद्य र कान्छी छोरी रमा पोख्रेलले आमाको जीवनीका बारेमा जानकारी गराएका थिए ।
कान्छा छोरा मधुसुदनले भने, ‘आमाले हामीलाई जन्म दिनुको साथै अत्यन्त कठोर परिश्रम र निकै दुःख कष्ठका साथ हाम्रो लालनपालन, अध्ययन व्यवस्थापन, संरक्षण, अभिभावकत्व तथा मातृवात्सल्य प्रेमले अभिसिंचीत गर्दै सामाजिक रुपान्तरणको मार्ग तथा साम्यवादको उदत्त आदर्श प्राप्तीको दिशामा सक्दो साथ सहयोग गरेको बताए । मृदुभाषी, विनम्र, दयालु, सहनशिल तथा हक्की स्वभावकी आमा आफ्नो संघर्षमय जीवनको करिव सय वर्षको उमेरमा यहि वैशाख २४ गते बेलुकी ५ः३० बजे मृत्युवरण गरेको जानकारी गराएका थिए ।
कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका पोलीटव्यूरो सदस्यहरु चन्द्रहरी सुबेदी ‘अटल’, क्रान्तिकारी महिला संघका अध्यक्ष अम्विका मुडवरी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य निर्मल आचार्य, क्रान्तिकारी कम्युनिस्ट पार्टीका केन्द्रिय सल्लाहकार पिताम्बर आचार्य, नेकपाका पोलिटव्यूरो सदस्य सञ्जीवकुमार झाँक्री, नेकपा बहुमतका स्थायी समिति सदस्य अनन्त केसी, नेकपा एमालेका नेता शम्भु गौतम, नेकपा मसालका प्रवक्ता भरत भण्डारी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव सविन प्रियासन, वरिष्ठ साहित्यकार नारायणप्रसाद शर्मा, सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमलगायतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गरेका थिए ।
पार्टीका पोलीटव्यूरो सदस्य तथा चार नम्बर व्यूरो इन्चार्ज श्यामबहादुर वोहरा ‘अटल’को अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन क्रान्तिकारी कम्युनिस्ट पार्टीका ४ नम्बर व्यूरो सचिव समिर केसीले गरेका थिए ।