गढवामा कपडा बैंक सञ्चालन
टेकबहादुर पुन
दाङ, २४ वैशाख । गढवा गाउँपालिकामा बुधवार एक कार्यक्रम गरी ‘कपडा बैंक’ को औपचारिक रूपमा शुभारम्भ गरिएको छ । कपडा बैंक नेपाल र गढवा गाउँपालिकाको संयुक्त पहलमा गरिब, विपन्न र असहायवर्गलाई लुगा उपलब्ध गराउने उद्देश्यले कपडा बैंक सञ्चालन गरिएको हो ।
कपडा बैंक नेपालका अध्यक्ष कमल जिसीले कार्यक्रमको उद्देश्य प्रस्तुत गर्दै स्रोतसाधन अभावमा रहेका समुदायलाई निःशुल्क कपडा वितरण गर्ने उद्देश्य रहेको बताए । देशभरका एक सय ५३ पालिकामा यो अभियान सञ्चालन रहेको बताउँदै अध्यक्ष जिसीले कपडा बैंकलाई कपडा सहयोग गर्न सबैमा अनुरोध गरे ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोखरेलले सामाजिक सेवामा पालिकाको प्रतिबद्धता दोहो¥याउँदै कपडा बैंक जस्ता कार्यक्रमले सामाजिक उत्तरदायित्व र सहकार्यको भावना जगाउने बताए । यसैगरी उपाध्यक्ष शारदाकुमारी चौधरीले यस्ता अभियानमा पालिकाको निरन्तर साथ र सहयोग रहने प्रतिबद्धता जनाइन् ।
कार्यक्रममा अन्य वक्ताले विशेष गरी जाडो मौसममा कपडाको अभाव झेल्ने वर्गलाई कपडा बैंकले राहत दिने धारणा राखेका थिए । पालिकाले ‘कपडा सङ्कलन बक्स’ स्थापना गरी नागरिकलाई घरमा प्रयोग नभएका तर प्रयोगयोग्य कपडा कपडा बैंकलाई दान गर्न आह्वान गरेको छ । सङ्कलित कपडा छानबिनपछि गरिब, अपाङ्ग, वृद्धवृद्धा र एकल महिलालाई प्राथमिकताका साथ वितरण गरिने बताइएको छ ।
