पश्चिम दाङको विकासका लागि मेरो उम्मेदवारी : आचार्य
दाङ, २२ कार्तिक । आगामी मंसिर १४ गते हुने क्षेत्र नं. ३ (ख) प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका नेपाली कांग्रेसका उम्मेदवार केशवकुमार आचार्यले पश्चिम दाङको विकासका लागि आफूले उम्मेदवारी दर्ता गराएको बताएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराइसकेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता आचार्यले यस्तो बताएका हुन् । ‘पश्चिम दाङमा विकासको जग कांग्रेसले बसालेको थियो, त्यो पूरा हुन सकेको छैन’, नेता आचार्यले भने– ‘त्यो पूरा गर्ने अहिले अवसर आएको छ, त्यसैले मैले उम्मेदवारी दिएको छु ।’ २०४८ सालमा पश्चिम दाङबाट कांग्रेसका स्वर्गीय नेता खुमबहादुर खड्का सांसदमा निर्वाचित भएपछि विकासले गति लिएको स्मरण गराउँदै आचार्यले भने– ‘त्यसपछि पछिल्लो समय कांग्रेसका केन्द्रीय सदस्य एव पूर्वराज्यमन्त्री दीपक गिरीले मन्त्री हँुदा गर्नुभयो तर पछिल्लो समय हुन सकेन ।’
आफू संसदमा निर्वाचित भए दाङको विकासका लागि तत्कालीन राज्यमन्त्री दीपक गिरीले शुरु गरेको बृहत दाङ सिचाई आयोजनासँगै दाङलाई प्रादेशिक राजधानी बनाउनका लागि समेत पहल गर्ने आचार्यले बताएका थिए ।