दाङका ६ गाउँपालिकामा प्रेरणा परियोजना

खेमराज रिजाल
दाङ, २४ वैशाख । उपेक्षित उष्ण प्रदेशीय रोगहरू, मातृ तथा नवजात शिशुहरूको स्वास्थ्य तथा शारीरिक अशक्तता भएका व्यक्तिलाई कार्यक्षेत्र बनाएर जिल्लाका छ वटा गाउँपालिकामा प्रेरणा परियोजना सञ्चालनमा आउँदै छ । अन्तर्राष्ट्रिय गैरसरकारी संस्था फेयरमेडको आर्थिक तथा प्राविधिक सहयोगमा दाङमा २०५० सालदेखि क्रियाशील गैरसरकारी संस्था नेपाल महिला सामुदायिक सेवा केन्द्रले यो प्रेरणा परियोजना सञ्चालन गर्न थालेको हो ।

मङ्गलवार घोराहीमा आयोजना गरिएको परियोजना कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रममा सहयोगी निकाय फेयरमेड फाउन्डेसन र नेपाल महिला सामुदायिक सेवा केन्द्रले संयुक्त रूपमा सो जानकारी दिएको हो । जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्र प्रेरणा परियोजनाका जिल्ला कार्यक्रम संयोजक विवेक केसीले परियोजना सञ्चालनका सन्दर्भमा समष्टिगत प्रस्तुति गरेका थिए ।

अन्तरक्रियामा जानकारी गराइए अनुसार यो परियोजना दाङ जिल्लाका बबई गाउँपालिका, दंगीशरण गाउँपालिका, शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिका, गढवा गाउँपालिका र राजपुर गाउँपालिकामा सञ्चालनमा आउने छ । परियोजनाले लुम्बिनी प्रदेशका चुनिएका जिल्लामा उपेक्षित उष्ण प्रदेशीय रोगबाट प्रभावित वा जोखिममा रहेका र पछाडि परेका समुदायको स्वास्थ्य अवस्था सदृढ गर्ने लक्ष्य परियोजनाको रहेको छ ।

परियोजना लागु भएपछि उपेक्षित उष्ण प्रदेशीय रोगलाई सम्बोधन गर्न स्वास्थ्य प्रणालीका विभिन्न स्तम्भहरूको क्षमता र जवाफदेही बढ्ने, जनताका आधारभूत स्वास्थ्य सेवा र उनीहरूका सामाजिक सुरक्षामा पहुँच पु¥याउन समुदायले परिवर्तनको सम्बाहकको काम सक्रियताका साथ गर्ने, तथ्यमा आधारित योजना तथा स्वास्थ्य सेवा प्रवाहलाई संस्थागत गरिने रणनीति रहेको बताइएको छ ।
यो परियोजना कार्यान्वयनमा आएपछि जोखिममा रहेका जनसङ्ख्या तथा मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाको आवश्यकता रहेका महिला, शारीरिक अपाङ्गता भएका मानिस, गर्भवती महिला, महिला सामुदायिक स्वास्थ्य स्वयम्सेविका, स्वास्थ्यकर्मी स्वास्थ्य संस्था व्यवस्थापन समितिका सदस्य, स्थानीय निकाय, आमा समूहका सदस्य, विद्यार्थी, बाल तथा युवा समूह र टोल विकास संस्थाहरूसमेत लाभान्वित हुने बताइएको छ ।

यसका लागि परियोजनाले स्थानीय तहको प्राथमिकतामा रहेका स्वास्थ्य कार्यक्रममा प्राविधिक सहयोग, पछि परेका समुदायको पहिचान गर्ने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिका लागि तालिम सञ्चालन गर्ने, व्यवस्थापन समितिहरूको तालिम तथा न्यूनतम सेवा जस्ता मापदण्डको गुणस्तर अभिवृद्धि हुने कार्यक्रमहरू सन्चालन गर्ने, व्यवस्थापन समितिका सदस्यलाई तालिम तथा न्यूनतम सेवा मापदण्डजस्ता सेवाका गुणस्तर अभिवृद्धि हुने कार्यक्रम सञ्चालन गरिने, उष्ण प्रदेशीय रोगहरूको पहिचान र रोकथामका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने तथा गुणस्तरीय स्वास्थ्य सेवा सञ्चालन गर्न आवश्यक उपकरण पहिचान गरी सहयोग गर्नेजस्ता क्रियाकलाप हुने सो अवसरमा बताइएको थियो ।

अन्तरक्रिया कार्यक्रममा सहयोगी निकाय फेयरमेड फाउन्डेसनका कार्यक्रम संयोजक शोभाराम भण्डारीले यो कार्यक्रम विभिन्न परियोजनाका नाममा लुम्बिनी प्रदेशका चारवटा जिल्लामा सञ्चालन भइरहेको जानकारी दिए । यो प्रदेशमा दाङलगायत कपिलवस्तु, रुपन्देही, रुकुम पूर्व र नवलपरासी पश्चिममा सञ्चालन भइरहेको उनले बताए । यो कार्यक्रमबाट कम्तिमा ६५ हजार नागरिक प्रत्यक्ष लाभान्वित हुने फेयरमेड फाउन्डेसनले अपेक्षा गरेको छ ।

नेपाल सरकारको स्वास्थ्य नीतिमै केन्द्रित रहेर स्थानीय सरकारलाई समेत अपनत्व हुने गरी कार्यक्रम सञ्चालन गरिने भण्डारीले जानकारी दिए । उपेक्षित उष्ण प्रदेशीय रोगमा कुष्ठरोग, हात्तीपाइले, डेङ्गुलगायत कम्तिमा ११ प्रकारका रोगमा यो कार्यक्रम केन्द्रित हुनेछ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले यो समय भनेको ‘को गर्भनेन्स’को रहेको स्मरण गराउँदै गैरसरकारी संघसंस्थाले नेपाल सरकारकै नीतिमा रहेर काम गर्ने भएकाले यसको दिगोपनाका लागि स्थानीय सरकारलाई परियोजनामा सँगसँगै जोडेर लैजान सुझाव दिए । संस्थाले विपत्को समयमा पनि सहयोग गर्न सक्ने भन्दै त्यसका लागि सक्दो सहयोगको तयारी गर्न आग्रह गरेका थिए ।

कार्यक्रममा जिल्ला गैरसरकारी संस्था महासंघका अध्यक्ष भागीराम चौधरीले कार्यक्रमको बजेट र लक्षित समुदायका विषयमा स्पष्ट भएर परियोजना सञ्चालन गर्न सुझाव दिएका थिए । सो अवसरमा स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर आचार्यले स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको यो परियोजनामा स्वास्थ्य कार्यालय दाङ पनि साथमा रहेको बताए ।
पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले परियोजनालाई सञ्चार क्षेत्रले पनि साथ र सहयोग गर्ने बताए । कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्रका अध्यक्ष कल्पना न्यौपानेले खास गरी संस्थाले पहिलो पटक स्वास्थ्य सेवाका कार्यक्रमलाई समेटेर प्रेरणा परियोजना सञ्चालनमा ल्याएकाले यसलाई सफलतापूर्वक कार्यान्वयनमा ल्याउन स्थानीय प्रशासन, स्वास्थ्य कार्यालय तथा स्थानीय सरकारको साथ र सहयोगको अपेक्षा गरिन ।

अन्तरक्रिया कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्माले परियोजनाले नेपाल सरकारकै स्वास्थ्य नीतिलाई व्याक सपोर्ट गर्ने भन्दै यो कार्यक्रमलाई प्रभावकारी ढङ्गले पारदर्शी रूपमा सञ्चालन गर्न आग्रह गरे । महिला तथा नवजात शिशुहरूको स्वास्थ्यमा अझै पनि धेरै समस्या देखिएले लुम्विनी प्रदेशकै मातृशिशु मृत्युदर बढिरहेको उल्लेख गर्दै यसलाई घटाउन सबैको अर्थपूर्ण भूमिकाको उनले अपेक्षा गरे ।

‘हामी शिक्षित भएर पनि सचेत छैनौँ, त्यसैले मातृशिशु मृत्युदरलाई घटाएर हामीले सचेत प्रदेशको रूपमा स्थापित हुन साझा प्रयत्न गर्न आवश्यक छ’, शर्माले भने । यसमा जिल्ला समन्वय समितिले स्थानीय सरकार, स्थानीय प्रशासन, स्वास्थ्य कार्यालय तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील गैरसरकारी संस्थाहरूसँग आवश्यक समन्वय र सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए । नेपाल महिला सामुदायिक सेवा केन्द्रका बरिष्ठ प्रबन्धक पवनकुमार योगीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण नेपाल महिला सामुदायिक सेवा केन्द्रका सूचना अधिकारी आरके शीतलले गरेका थिए ।