लगानी सुरक्षित गर्न राज्यको स्पष्ट नीति आवश्यक छ : प्रबन्धक शर्मा

पछिल्लो समय जिल्लामा साना तथा ठुला होटेलहरुमा लगानी बढ्दै गएको छ । लगानी बढेपछि जिल्लामा सानादेखि ठुला होटेल खुल्ने जारी रहेको छ । यसरी होटेलहरु बढदै जाँदा होटेलमा विकृति पनि बढ्दै गएको गुनासो समेत बढदै गएको पाइएको छ । यसरी होटेलमा हुने विकृति अन्य गतिविधि रोक्नु पर्ने नागरिकले बताउँदै आएका छन् ।

पछिल्लो समय होटेल व्यवसायलाई हेर्न दुष्टिकोणमा समेत परिवर्तन हुँदै गएको छ । समयको परिवर्तन तथा होटेल क्षेत्रमा सुधारसँगै हेर्ने दृष्टिकोण परिवर्तन हुँदै गएको पाइएको छ । दाङको घोराही–१५ मा विगत करिब ४ वर्षदेखि होटेल पौवाको १०औँ शाखा सञ्चालनमा रहेको छ । ठुलो लगानीमा सञ्चालनमा रहेको होटेलका प्रबन्धक केडी शर्मासँग होटेल क्षेत्रका चुनौती, सम्भावनाका विषयमा गोरक्षकर्मी अमरराज आचार्यले गरेको कुराकानी सार सङ्क्षेपमा ।

— गोरक्ष सातावार्तामा यहालाई स्वागत छ ?

धन्यवाद तपाई अनि गोरक्ष दैनिक परिवारलाई । मेरो केही कुरा राख्न दिनुभएकोमा ।

— होटलको अवस्था कस्तो रहेको छ ?

अहिले कोभिड तथा आर्थिक सङ्कटको कारण हरेक क्षेत्रमा असर परेको छ । त्यसको प्रभाव होटेल क्षेत्रमा पनि देखिएको छ । यसबाट हामी पनि अछुतो छैनउ । अहिले होटेल जसोतसो चलेको छ । कर्मचारीको खर्च तथा व्यवस्थापन गर्न पुग्ने अवस्थामा रहेको छ । नाफा कमाउनेभन्दा पनि व्यवस्थापन गरेर अगाडि बढेका छौँ । अहिले २५ जना कर्मचारीहरूबाट हामीले सेवा प्रदान गर्दै आएका छौँ ।

— किन होटेल क्षेत्रमा सामुहिक रूपमा लगानी गर्नुभयो ?

एउटैले मात्र धेरै लगानी गर्न समस्या हुन्छ । धेरै मिलेर लगानी गर्दा थोरै–थोरै लगानी गर्दा पनि लगानी धेरै हुन्छ । त्यसैले सामुहिकमा जोडिएका हौँ । सामुहिक रूपमा लगानी गर्दा व्यवसायको प्रचारप्रसारसँगै सञ्चालनमा समेत सहजता हुन्छ । सामुहिक रूपमा लगानीबाट काम गर्दा सहज र दीर्घकालीन समेत हुने गर्दछ । जिल्लामा पर्यटन क्षेत्रको राम्रो सम्भावना रहेको छ ।

पर्यटन क्षेत्रको राम्रो सम्भावना भएको स्थानमा पर्यटकलाई सेवा दिनका लागि होटेलको समेत आवश्यक पर्दछ यसैलाई मध्ये नजर गरेर होटेल पौवाको १०औँ शाखाको रूपमा घोराहीमा सञ्चालनमा ल्याएका हौँ । पछिल्लो समय जिल्लामा बढ्दै गएको जनसङ्ख्याको चापले गर्दा पनि होटेलको आवश्यकता थपिँदै गएको थियो । यसैलाई मध्ये नजर गरेर होटेल सञ्चालनमा ल्याइएको हो ।

— होटेल क्षेत्रलार्ई हेर्ने दृष्टिकोण कस्तो पाउनु भएकोे छ ?

होटेल भनेको मानिसको आफ्नो घर पछिको दोस्रो घर हो । यसलाई पाहुना घरको रूपमा समेत लिइने गरिन्छ । पहिल्लो समय होटेललाई हेर्ने दृष्टिकोणमा समेत फरक आएको छ । नागरिकमा सचेतना तथा लगानी बढेसँगै हेर्ने दृष्टिकोणमा समेत सकारात्मक बन्दै गएको हो । केही समय अघिसम्म होटेल व्यवसायलार्ई हेर्ने दृष्टिकोण भने फरक रहेको थियो । यसका लागि व्यवसायीहरूले समेत आफ्नो व्यवसायलार्ई सुधार लगेर लग्न जरुरी रहेको छ । आफनो क्षेत्रको सुधार गर्न आफै नै लाग्नु पर्दछ । आफू लागेमा मात्र होटेल क्षेत्रमा हुने विकृति रोक्न सकिन्छ । केही होटेल व्यवसायीहरूको कारणले सिङ्गो होटेल व्यवसाय नै बदनाम हुने गरेका छन् । यो राम्रो पक्ष होइन् । पारिवारीक वातावरण बस्ने वातावरण हुनु पर्दछ ।

— होटेल व्यवसाय सञ्चालन गर्दा के कस्ता चुनौती भोग्नु परेको ?

हरेक काम गर्दा चुनौती भोगेर अगाडि बढनु पर्ने हुन्छ । चुनौ नभएको क्षेत्र कतै छैन् । होटेले सञ्चालन गर्दा पनि विभिन्न समस्या भोग्दै अगाडि बढिएको छ । हरेक समस्या आउछन् समस्यालाई समाधान गर्दै अगाडि बढ्न सक्नुपर्दछ । पछिल्लो समयमा कोभिडले गर्दा होटेल व्यवसायीहरूलार्ई सडकमा आउने बनाएको छ तर राज्यकोतर्फबाट केही सहयोग व्यवसायीले पाउन सकेनन् । राज्यले अभिभावकीय जिम्मेवारी निर्वाह पूरा गर्न सकेको छैन । काम गर्ने दक्षजनशक्ति समेत पाउन समस्या रहेको छ । आफैले जनशक्ति उत्पादन गर्ने समेत गरेका छाँै ।
यसले केही मात्रामा भए पनि सहज भए पनि समस्याको समाधान भने हुन सकेको छैन । उत्पादन भएका दक्षजनशक्ति बाहिर जाने क्रम बढ्दै गएको छ । त्यसैगर्दा जिल्लामा जनशक्तिको समयस्या हुने गरेको हो । देश बाहिर गएर काम गर्दा धेरै पैसा कमाइने तर जिल्लामा बाहिरभन्दा कम हुने भएकाले बाहिर जानेको सङ्ख्या बढेको हो । होटेल तथा व्यवसायीलाई राज्यले हेर्ने दृष्टिकोणमा परिवर्तन हुन सकेको छैन । राज्यले खाली राजस्व सङ्कलन गर्ने मात्र गरेको छ । व्यवसायीले गरेको लगानी समेत सुरक्षित गर्ने वातावरण निर्माण हुन सकेको छैन । राज्यले सुरक्षा दिएर होटेल सञ्चालन गर्ने वातावरण बनाउनु पर्ने भए पनि त्यस प्रकारको वातावरण हुन सकेको छैन । व्यवसायमा समयको सीमा लगाउने गरिएको छ । यसो गर्न नसक्दा होटेल व्यवासायीले समस्या भोग्दै आएका छन् ।

— जनशक्ति लामो समयसम्म टिकाउने केही योजना बनाउनु भएको छ कि ?

हामी हाम्रो होटेलमा काम गर्ने जनशक्ति टिकाउन कर्मचारीलाई पनि सेयर दिने गरेका छाँै । यसले उनीहरूलाई पनि अपनत्व हुने गर्दछ । होटेलमा काम गर्ने जनशक्ति लामो समय सम्म टिकाउनका लागि म र मेरो पौवा अभियान सञ्चालन गर्ने तयारीमा रहेका छाँै । अभियानले कसरी लामो समयसम्म कर्मचारी टिकाइ राख्न सकिने छ भनेर जानकारी लिएर योजना निर्माण गरिने छ ।

— राज्यकोतर्फबाट होटेल व्यवसायीलार्ई के गरिदिन आवश्यक छ ?

होटेल पनि एक उद्योग हो । राज्यले उद्योग सरह मान्यता दिएर सहुलियतामा ऋणको व्यवस्था, कर छुट दिने व्यवस्था गराउनु पर्दछ । राज्यले व्यवसाय गर्न वातावरणको सिर्जना गरिदिने, तालिमको व्यवस्था गरिदिनु पर्दछ । अहिले व्यवसाय गर्ने वातावरण निर्माण हुन सकेको छैन । जसले गर्दा लगानी गरेकाको लगानी जोखिम रहेको छ भने नयाँ लगानी गर्न चाहने समेत पाउन छाडेका छन् । यस प्रकारको कार्य राम्रो होइन ।

होटेलको पनि वर्गीकरण गर्न जरुरी रहेको छ । निश्चित मापदण्ड बनाएर वर्गीकरण गरिनु पर्दछ । कस्तो प्रकारको होटेल हो भनेर निगरानी समेत गर्न आवश्यक छ । राज्यले उचित निगरानी गर्न सकेमा विकृति रोक्न समेत सहयोग पुग्ने छ । पर्यटक आउने वातावरण सिर्जना गर्नुपर्दछ । यसका लागि पर्यटन क्षेत्रमा पूर्वाधारको विकास गर्न जरुरी रहेको छ ।

पर्यटक भित्र्याउन सकेमा होटेल व्यवसाय चलाउन सकिने छ । पर्यटकहरू आउनका लागि पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाइ सेवाको सुविधा हुनुपर्दछ तर दाङमा अहिले त्यस प्रकाको अवस्था देखिँदैन । नियमित हवाइ सेवा छैन । सडकको अवस्था समेत सहज छैन । यसले बाहिरबाट आउने नागरिक समेत मन गर्दैनन् ।

— अन्यतमा केही भन्नु छ ?

तपाई तथा गोरक्ष परिवारलाई धन्यवाद दिन चाहन्छु । मेरो विचार राख्ने अवसर दिनुभएकोमा । होटेल क्षेत्रमा आउनेलार्ई मेरो सुझाव व्यवसायमा आउनभन्दा पहिले योजना बनाएर आउन अनुरोध छ । व्यवसायमा आए पछि के गर्ने, कसरी अगाडि बढ्ने भन्ने बारेमा योजना बनाउन जरुरी छ । योजना र भिजन हुन नसकेमा कुनै पनि स्थानमा सफलता हासिल गर्न सकिँदैन । नयाँ आउनेलाई मेरोतर्फबाट गर्नु पर्ने सहयोग गर्न तयार रहेको छु । पैसा कमाउनका लागि मात्र व्यवसाय गर्ने होइन ।

समाजिक सेवाको दृष्टिले अगाडि बढ्नु पर्दछ । होटेलमा पारिवारीक वातावरण बनाउनु पर्दछ । राज्यले व्यवासायलाई सहजरूपमा शुलभ रूपमा ऋण पाउने व्यवस्था मिलाइदिनु पर्दछ । लगानी गर्ने वातावरणको सिर्जना गर्नुपर्दछ । जससम्म लगानी गर्ने वातावरणको निर्माण हुँदैन तबसम्म कसैले पनि लगानी गदैनन् । लगानी गर्नेको लागि राज्यले निजी क्षेत्रलाई आकर्षक गर्ने योजना ल्याउनु जरुरी रहेको छ । पर्यटक भित्र्याउन सकेमा होटेल व्यवासाय चलाउन सकिने छ ।

पर्यटक आउनका लागि पर्यटकीय क्षेत्रको विकास, सहज यातायात सुविधा तथा हवाइ सेवाको सुविधा हुनुपर्दछ तर दाङमा अहिले त्यस प्रकाको अवस्था देखिँदैन । नियमित हवाइ सेवा छैन । सडकको अवस्था समेत सहज छैन । यसले बाहिरबाट आउने नागरिक समेत मन गर्दैनन् ।
यसतर्फ राज्यले ध्यान दिनु पर्दछ । राज्यले निजी क्षेत्रवाट राजस्व सङ्कलन गर्ने मात्र नभई उनीहरूलाई पनि सेवा सुविधा दिन सक्नुपर्दछ । व्यवसाय चलेमा मात्र देशमा रोजगारीको सिर्जना हुने तथा आर्थिक रूपमा देशलाई अगाडि बढाउन सकिन्छ । हामी राज्यसँग सहकार्य गरेर अगाडि बढ्नका लागि सधै तयार रहेका छाँै ।