मेरो खुशी : जनतालाई छिटोछरितो र गुणस्तरीय सेवा प्रवाह गर्न पाउँदा…

उनी सधै मुस्कानसहित सेवामा तलिन हुन्छन् । उनले स्थानीय तहमा सेवा प्रवेश गरेको करिब ३ दर्शक हुन लागेको छ । उनलाई नरुचाउने सहायद कमै मान्छे होलान् । सधै कर्ममा विश्वास गर्ने आफूले प्रवाह गर्ने सेवाप्रति इमान्दार र सधै जनताको पक्षमा काम गर्ने तुलसीपुर–५ निवासी सञ्जय गुप्ता आफू सधै खुसीका साथ कर्म गर्ने गरेको बताउँछन् ।

उनी जीवनमा सधै खुसीका साथ आफ्नो पेसामा लाग्ने गरेका छन् । विभिन्नसँग सङ्गठनदेखि वडामा उनले सधै जनताप्रति उदरदायी भएर काम गर्ने गरेको बताउँछन् । २०५३ साल चैतमा तुलसीपुर नगरपालिकामा खरिदार पदबाट जागिरे सेवा शुभारम्भ गरेका गुप्ताले लामो समयसम्म वडामा सचिव भएर काम गरिरहेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को वडा सचिवमा कार्यरत गुप्ताले तुलसीपुरका साविक वडा नं. २, ८, १० हुँदै २०६७ सालदेखि वडा नंं ५ मा सचिव पदमा रहेर काम गरेको बताउँछन् ।

उनले आफ्नो खुसी भनेकै जनतालाई छिटो छरितो र गुणस्तरीय सेवा भएको बताउँछन् । उनले त्यससँगै आफ्नो जीवनको पहिलो खुसी तत्कालीन तुलसीपुर नगरपालिकामा सेवा प्रवेश गर्दाको बताए । ‘२०५३ सालमा तुलसीपुर नगरपालिकामा ११ जनाको विज्ञापन खुलेको थियो त्यसमा मैले पनि दरखास्त दिएको थिए’ गुप्ताले भने ।’ परीक्षामा लेखित मौखिकमा पास भएको दिन निकै खुसी भएको उनले सुनाए । ‘मेरो पहिलो खुसी तुलसीपुर नगरपालिकामा खरिदार पद जागिर खान्दाको हो । जीवनमा अन्य खुसीहरू छन तर मैले यसलाई जीवनमा सबैभन्दा खुसीको पलको रूपमा लिएको छुु, यही लेखिदिनुहोला मेरो पहिलो खुसी’ मुस्कुराउँदै गुप्ताले भने ।

उनले सेवा प्रवेशसँगै साविक तुलसीपुर–१ गोठिखोलामा चुंगीकर उठाउने ठाउँमा आफू गएको सम्झिए । त्यससँगै उनले अर्को खुसी आफूले गुणस्तरी र छिटो छरितो सेवा दिने गरेकोमा गर्भ लाग्ने गरेको बताए । ‘हामी नागरिकलाई सेवा दिने पदमा बसेको मान्छे हो, नागरिकले जति सहज, शुलभ र प्रभावकारी ढंगबाट सेवा पाउन सक्छन् त्यति नै कार्यालयप्रति विश्वास बढछ’ उनले भने । गुप्ताले कर्मचारीको कार्यशैली र बहन गर्ने जवाफदेहिताले सार्वजनिक सेवा प्रवाहको गुणस्तरीयतामा अहम् भूमिका खेल्ने भन्दै आफू सधै जनताप्रति उदरदायी भएर सेवा दिने गरेको बताए । उनले कार्यालयमा आउने ९५ प्रतिशत नागरिकले सहज सेवा दिन आफू सफल भएको दाबी गर्दै सेवाग्राहीको सन्तुष्टी नै आफ्नो खुसी भएको सुनाए ।

‘मैले वडाबाट दिने सेवा प्रवाहमा प्रक्रिया लामो भयो, सेवा पाउने सुनिश्चितता भएन समय लाग्यो भन्ने भन्ने गुनासो कहीँ कतैबाट आउन दिएको छैन म यसैमा खुसी छु’ उनले भने ।’ गुप्ताले नागरिकका सेवा प्रवाहमा आ–आफ्नै अपेक्षा रहेका भए पनि छिटो छरितो तथा गुणस्तरीय र कम खर्चिलो सार्वजनिक सेवा प्रवाह आम नागरिकको अपेक्षा अनुसार दिएको भन्दै गर्भ गर्ने गरेको बताए । उनले १६ वर्ष जनप्रतिनिधिविहीन पालिका हुँदा पनि आफूले सेवा ग्राहीलाई छिटो छरितो सेवा दिएको भन्दै कानुनी व्यवहारिकता सबै हेरेर जनताको मन जित्ने गरी सेवा प्रवाह गरेकोमा खुसी व्यक्त गरे ।

त्यस्तै गुप्ताले आफू खरिदार नासु हँुदै अधिकृत छैटौँ हुन पाउँदा पनि निकै खुसी भएको बताए । । ‘चाहे त्यो उच्च शिक्षाका लागि विदेशमा जानेको सहजता होस् वा अन्य सेवा लिनेलाई मैले निवेदन बिना नै काजगात हेरेर सेवा दिने गरेको छु, मैले कहिले पनि जनतालाई दिने सेवा भोलि आउनु र यो पुगेन त्यो पुगेन भनेर झण्जट गराएर सेवा नदिएर फकाएको छैन, म यसैमा खुसी छु’ गुप्ताले भने ।
उनले आफू पनि जागिर सकेपछि सर्वसाधारण र सेवाग्राही हुने हो भन्ने हेतुले सेवा प्रवाह गरेको सुनाए ।

त्यस्तै तुलसीपुर उपमहानगरपालिका कर्मचारी एसोसियसनको दुई कार्यकाल अध्यक्षको जिम्मेवारी पूरा गरेका गुप्ताले एशोसियसनमा रहेर कर्मचारीको हकहितका पक्षमा काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । ‘ मैले सबै कर्मचारीका माग पूरा गर्न र गराउन सकिन होला तर मैले नेतृत्व गर्दा म सधै कर्मचारीको हक हितमा आवाज उठाउने गरेको थिए, कर्मचारीले मलाई अध्यक्ष जस्तो जिम्मेवारी दुई पटकसम्म दिएकोमा पनि खुसी छु’ गुप्ताले भने ।

२०७४ सालदेखि वडा नं. ५ को सचिवमा रहेर वडाध्यक्ष विरेन्द्र शाहसँग काम गर्न पाएकोमा पनि उनले खुसी व्यक्त गरे । उनले जनप्रतिनिधि जनताबाट निर्वाचित भएर आएको भए पनि उहाँहरूले कहीँ कतै लोपलालज र कर्मचारीलाई समस्या हुने गरी कुनै काम र दबाब नदिएको र सहकार्य गरी काम गरेको भन्दै सहजरूपमा सेवा दिन पाएकोमा निकै खुसी लाग्ने गरेको सुनाए । त्यस्तै गुप्ताले तुलसीपुर मधेसी समाज सेवा संघको संस्थापक सचिव भएर मधेसीको हकहितका लागि काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

त्यस्तै विभिन्न धार्मिक सामाजिक कार्यमा आफुले सक्दो सहयोग र योगदान दिएमा पनि खुसी व्यत्त mगरे । खेलकुद क्षेत्रमा पनि दखल राख्ने गुप्ताले स्पोर्ट स्कुल फुटवल एकाडेमीको संस्थापक सचिव भएर फुटवल खेलको विकासका लागि काम गर्न पाएकोमा पनि खुसी व्यक्त गरे । त्यस्तै कवडी खेलको खेलाडी समेत रहेका गुप्ताले राष्ट्रिय स्तरको खेलमा सहभागी भएर वेष्टपिलेरको उपाधि प्राप्त गर्न पाएकोमा पनि खुसी व्यक्त गरे ।

गुप्ताले आफू यहाँसम्म आउनमा परिवारको पनि साथ सहयोग रहेको भन्दै पारिवारीक सहयोग पाएकोमा पनि खुसी व्यक्त गरे । उनले श्रीमतिले हरेक कुरामा साथ सपोट गर्ने र छोरीलाई माष्टर डिग्री गर्ने अमेरिका पठाउन पाउँदा झनै खुसी मिलेको सुनाए । ‘मेरो आर्थिक अवस्था कमजोरै हो तर यही जागिरबाट मैले छोरीहरूलाई पढाउन देश विदेश पठाएको छु यो पनि मेरो लागि अर्को खुसी हो’ गुप्ताले भने । गुप्ताले सबैको साथ र सहयोगले आफूलाई सबै कुरामा राम्रो भएको भन्दै आफूसँग जे छ त्यसैमा सन्तुष्टि भयो भने मानिसलाई खुसी मिल्ने बताए । ‘खुसी खोज्न अनेत्र जानु पर्छैन आफैमा जे छ त्यसैमा रमाउनु पर्छ त्यतिकै खुसी मिल्छ’ गुप्ताले भने । उनले सत्य र सत्कर्ममा साथ सेवा भावमा लागेमा खुसी प्राप्ती हुने सुनाए ।

प्रस्तुति : बालाराम खड्का