तुलसीपुरमा शृङ्गारिक महाआरती सप्ताह सुरु


लक्ष्मण बस्नेत
तुलसीपुर,२३बैशाख । दाङको तुलसीपुरमा मंगलबारदेखि श्री सिद्ध रत्ननाथ मन्दिर प्राङ्गणमा “तुलसिपुर शृङ्गारिक महा-आरती धर्म जागरण सप्ताह महा-महोत्सव–२०८२” सुरु भएको छ।

मन्दिर प्राङ्गणमै बहुउद्देश्यीय सभाहल निर्माणका लागि आयोजना गरिएको उक्त महोत्सवको उद्घाटन तुलसिपुर उपमहानगरपालिका–५ का वडाध्यक्ष बिरेन्द्र कुमार शाहले दीप प्रज्वलन गर्दै गरेका थिए ।

समारोहलाई सम्बोधन गर्दै अध्यक्ष शाहले धार्मिक उद्देश्यले आयोजना गरिएका यस्ता कार्यक्रमहरूलाई उद्देश्य र लक्ष्य अनुसार सार्थक तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिए । उनले धर्मको रक्षार्थ यस्ता अनुष्ठानहरूको महत्वपूर्ण भूमिका रहने बताउँदै सबै श्रद्धालुजनलाई आ–आफ्नो क्षमताअनुसार दानमार्फत सहभागी भई पुण्य प्राप्त गर्न आग्रह गरे।

महोत्सवका मुख्य आकर्षण पण्डित जीवन न्यौपाने शास्त्रीले मुखारबिन्दुबाट शुभ आशीर्वादसहित दिव्य वाणी प्रस्तुत गर्दै धर्म कथा प्रारम्भ गरेका थिए। सप्ताह महा-महोत्सवका सल्लाहकार तथा तुलसिपुर खानेपानी तथा सरसफाइ संस्थाका उपाध्यक्ष नारायणप्रसाद शर्मा, सह–अध्यक्ष यमुना शाह, जेष्ठ नागरिक संघ लुम्बिनी प्रदेश अध्यक्ष खुमानन्द अधिकारीलगायतले शुभकामना व्यक्त गरेका थिए।

मुल समारोह संयोजक पूर्णप्रसाद धितालको अध्यक्षता तथा सहअध्यक्ष गोकर्ण गिरिको स्वागत रहेको कार्यक्रममा दुर्गाप्रसाद भुसालले स्वागत गीत प्रस्तुत गरेका थिए । वरिष्ठ सल्लाहकार मानबहादुर डागीले धन्यवाद ज्ञापन गरेको कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मण बस्नेतले गरेका थिए। महोत्सवको उद्घाटनअघि शोभायात्राले तुलसिपुर बजारका विभिन्न क्षेत्रको परिक्रमा गरी महायज्ञ स्थल पुगेको थियो।