घोराही, १९ वैशाख । स्वास्थ्य सेवा प्रवाहका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान दाङ र रोल्पाको त्रिवेणी गाउँपालिकाबीच सम्झौता भएको छ । स्वास्थ्य सेवा र जनशक्ति व्यवस्थापनका लागि शुक्रवार प्रतिष्ठान दुई पक्षीय सहमतिसहित सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्र आगामी जेठको १५ गतेदेखि लागु हुने उल्लेख गरिएको छ ।
सम्झौताअनुसार प्रतिष्ठानले दुर्गम जिल्लामा आफ्नो सेवा विस्तार गर्ने गरि त्रिवेणी प्राथमिक स्वास्थ्य केन्द्र, नेर्पामा एमबिबिएस चिकित्सकलगायतको जनशक्ति खटाउने र उक्त चिकित्सकले एक बर्ष काम गर्नुपर्ने प्रतिष्ठानका रजिष्ट्रार प्रा श्याम लम्सालले जानकारी दिनुभएको छ ।
उहाँका अनुसार प्रतिष्ठानले खटाउने चिकित्सकलाई गाउँपालिकाले मासिक ८० हजार रुपैयाँ तलबका दरले तलब भत्ता उपलब्ध गराउनेछ । अन्य जनशक्तिको हकमा भने नेपाल सरकारले तलव स्केल अनुसार तलव भत्ता उपलव्ध गराइने सम्झौतापत्रमा उल्लेख गरिएको छ । खटिएको जनशक्तिले स्वास्थ्य केन्द्रको स्वासथ्य व्यवस्थापन समितिको नियम÷निर्देशिका पालना गरि कार्य गर्ने र उक्त जनशक्तिलाई आवासको व्यवस्था गाउँपालिकाले गरिदिने भएको छ ।
सम्झौताअनुसार त्रिवेणी प्राथमिक स्वास्थ्य केन्द्र प्रतिष्ठानको सामुदायिक आउटरिच सेन्टरका रुपमा सञ्चालन हुनेछ । यसअन्तर्गत प्रतिष्ठानले एमबिबिएस, नर्सिङलगायतका शैक्षिक कार्यक्रमहरुको पठनपाठन सञ्चालनगर्न प्रयोग गर्न सक्ने र प्रथम पक्षले बर्षमा कम्तिमा दुई पटक विशेषज्ञ सहितको स्वास्थ्य सेवा शिविर समेत सञ्चालन गर्ने भएको छ ।
गाउँपालिकाको सिपारिस भई उपचारार्थ प्रतिष्ठानमा आएका त्रिवेणी गाउँपालिकाका विपन्न नागरिकलाई प्रतिष्ठानले नियमाअनुसार उपचारमा सहुलियत दिने सहमतिमा उल्लेख गरिएका छ । गाउँपालिकाले त्रिवेणीका नागरिकलाई नियमित सेवा प्रदान गर्न प्रतिष्ठानलाई आवश्यक सहयोग गर्नेछ ।
सम्झौतापत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकातर्फबाट रजिष्ट्रार प्रा श्याम लम्साल र निर्देशक डा. जनर्दन पन्थी र त्रिवेणी गाउँपालिका अध्यक्ष कर्णबहादुर बाठा मगर र उपाध्यक्ष लेखमणी डाँगीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।